काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार पारेको छ । समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन स्वीकृति समेत दिइसकेको छ ।

समितिले तयार पारेको पात्रो अनुसार २०७९ सालको दशैंको टीका असोज १९ गते परेको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार भदौ २६ गतेबाट असोज ९ गतेसम्म सोह्रश्राद्ध, असोज १० गते घटस्थापना, १६ गते फूलपाती, १७ गते महाष्टमी, १८ गते महानवमी र असोज १९ गते विजयादशमी परेको छ ।

त्यस्तै, कात्तिक १० गते भाइटीका परेको छ । कात्तिक ६ गते काग तिहार, ७ गते कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक ८ गते गाईपूजा छ भने सोही दिन सूर्य ग्रहण पनि लाग्नेछ । कात्तिक ९ गते गोबर्द्धन, म्ह पूजा र १० गते भाइटीकाको साइत जुरेको छ ।

विवाह र ब्रतबन्धको लगनैलगन

आगामी वर्षमा विवाह र ब्रतबन्धको लगनैलगन जुरेको छ । पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी वर्ष विवाहका ५६ वटा लगन जुरेको छ । जबकि २०७८ सालमा जम्मा ३१ वटा मात्रै लगन जुरेको थियो । वैशाख र जेठ महीनामा त एकदिन बिराएर विवाहको लगन जुरेको छ । वैशाखमा मात्रै विवाहको १७ वटा लगन जुरेको छ । त्यस्तै, जेठमा ११ दिन, असारमा ५ दिन, मंसीरमा ८ दिन, माघमा ६ दिन, फागुनमा ९ दिन विवाहको लगन छ ।

त्यस्तै, व्रतबन्धको लगन पनि कुनै महीना खाली छैन । वैशाखमा व्रतबन्धको दुईवटा लगन छ । त्यस्तै, जेठमा २, असारमा २, मंसीरमा २, माघमा २, फागुनमा २ र चैतमा एक दिन ब्रतबन्धको लागि लगन रहेको समितिले जनाएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार