काठमाडौं । बुधवार तामाङ समुदाय तथा ह्योल्मो समुदायको सोनाम ल्होछार मनाइँदैछ। सोही अवसरमा आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ। यस अवसरमा राष्ट्रप्रमुख तथा पार्टी प्रमुखहरुले शुभकामनासमेत व्यक्त गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ सोनाम ल्होछारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी छिन्। राष्ट्रपति भण्डारीले यस प्रकारका चाडपर्वले हाम्रो मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै मौलिक पहिचान अभिवृद्धि गर्नसमेत सहयोग पुर्‍याइरहेको बताएकी छिन्।

उपराष्ट्रपति नन्दबहादुर पुनले तामाङ सेलो गीत तथा टुङ्ना र डम्फुको सङ्गीत नेपालका सम्पूर्ण जातजातिको लोक भाकाको अभिन्न अङ्ग बनेको बताएका छन्। ‘तामाङ समुदायको महान् सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार–२८५८ को अवसरमा शुभकामना दिँदै पुनले भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध रहेको बताएका छन्।

काठमाडौँ उपत्यका आसपासका तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेशभूषासहितको छुट्टै पहिचान रहेको स्मरण गर्दै उहाँले सोनाम ल्होसारले सम्पूर्ण नेपालीका बीच आपासी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री शेरबहादुर देउवाले परापूर्वकालदेखि मान्दै आएको ‘सोनाम ल्होछार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायका नागरिकमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन्।

देउवाले शुभकामना सन्देशमार्फत सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गरेका छन्। प्रधानमन्त्री देउवाले सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नो विशिष्ट पहिचान रहेको उल्लेख गर्दै यी पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताए।

देउवाले कोभिड–१९ नियन्त्रणका लागि अवलम्बन गरिएका रणनीति प्रभावकारी देखिए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरे। प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

सभामुख अग्निप्रसाद सापकोटाले सामुदायिक एकत्व, आपसी हित, भ्रातृत्व र सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता बढाउन नेपालका चाड पर्वले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। तामाङ समुदायको नयाँ वर्ष २८५८ एवं सोनाम ल्होछारको अवसरमा एक शुभकामना सन्देश दिँदै सापकोटाले भिन्न–भिन्न जात जातिले मनाउने पहिचानसहितका हाम्रा मौलिक चाडपर्वको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सोनाम ल्होछारको शुभकामना व्यक्त गर्दै नेपालका बहुसांस्कृतिक विशेषताहरु देशको मौलिक पूँजी भएको बताएका छन्। ओलीले एकता र सहिष्णुताको विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने उल्लेख गर्दै यस पर्वले परम्परा र संस्कृतिको संरक्षण गर्न थप प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिएका छन्।

यसैगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना दिएका छन्। परम्परागत र सांस्कृतिक महत्वका साथ तामाङ समुदायले मनाउने यस पर्वले सबै नेपालीमा सुख, शान्ति र समृद्धि पथमा लम्किरहन प्रेरणा मिलोस् भन्ने अध्यक्ष प्रचण्डको कामना छ।

उनले कूल पूजा र प्रकृति पूजा गर्दै मनाइने यस पर्वलाई तामाङ समुदायले विशेष उत्सवका रुपमा मनाउने गरेको तथा सरल र मिलनसार यो समुदाय समूहगतरुपमा शुभकामना आदानप्रदान गर्दै मिठो मसिनो खाने र रमाइलो गर्ने गर्दछन् भन्ने स्मरण गराएका छन्। अध्यक्ष प्रचण्डले सन्देशमा भनेका छन्, विभिन्न समुदायका यसप्रकारका सांस्कृतिक पर्वहरुले नेपालीहरु बीच आपसी हार्दिकता र सामाजिक सहिष्णुताको विकास भई राष्ट्रिय अखण्डता र ऐक्यबद्धतामा सघाउ पुर्‍याउँदछ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार