नेपालबाट विभिन्न सिलसिलामा जापान आउने क्रम बाक्लिदै गएको सन् २००० पछि नै हो । अमेरिका र अस्ट्रेलियाजस्तै जापान पनि नेपालीको अधिक रोजाइमा पर्ने गन्तब्य बनेको छ अहिले । लोकसेवाको तयारी गर्दा सामान्य ज्ञानमा पढेको सूर्योदयको देश, भूकम्पको देश अथवा नेपाललाई सबैभन्दा धेरै आर्थिक सहायता गर्ने देश जापानमा डेढ दशकभन्दा बढी समय बिताइरहँदा आफ्नै विद्यार्थी जीवनको अनुभव र तत्कालिन परिवेशबारे केही लेख्ने जमर्को गर्न मन लाग्यो । राष्ट्रिय दैनिक तथा अनलाइन मिडियाहरूमा समसामयिक सन्दर्भ र खोजमूलक साहित्यिक लेखहरू लेखिरहँदा जापान केन्द्रित लेखनलाई अन्याय गरेको महसुस मलाई भइरहन्थ्यो । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मिडियाकर्मी साथीहरूबाट गुनासो पनि आइरहन्थ्यो । तर मसँग लेख्नका लागि त्यस्तो विषय के छ ? जापानी अनुभव सुनाउने सन्देशमूलक सामग्री के छ मसँग ? मैले आफैँसँग सोधेँ । केही बूँदाहरू टिपेँ र त्यसमा सोचमग्न भएँ ।
खासमा हामी धेरैजसोको जापान आइपुग्नुको कथा उस्तै–उस्तै हो । जापानप्रतिको आकर्षण, धेरै कमाइ हुने अपेक्षा र आफ्ना सन्तान जापान गएकोमा गौरव गर्ने आमाबुवाको उज्यालो अनुहार । तर हामीमध्ये धेरैलाई थाहा छ, हामीले जुन विषय पढ्यौँ, त्यसलाई बिरलै आफ्नो पेसा बनायौँ । केही प्राविधिक विषय पढ्नेबाहेक हामी जापानको बसाइँ अवधि बढाउन अनेक उपाय अपनाउँदै पैसा कमाउने बाटो समात्नुपर्ने बाध्यता थियो, र छ । हामीमाथि नेपाल छाड्दा लागेको ऋण छ । पारिवारिक अभाव र नजानिँदो दबाब छ । हामीप्रति समाजको पनि ठूलो अपेक्षा छ । देशको राजनैतिक, आर्थिक र भौतिक विकासको अवस्था अपेक्षाकृत अझै सुदृढ हुन नसक्दा यतै आफ्नो भविष्य खोज्नुपर्ने बाध्यात्मक अवस्था छ । खासमा हामी पढ्न कम, आफ्नो भविष्य खोज्न बढी आएका हौँ भन्दा अत्युक्ति नहोला । पढाइभित्र नै भविष्य खोज्ने वा पढाइको बहाना पारेर जापानभित्र भविष्य खोज्ने भन्ने कुरा व्यक्तिअनुसार फरक छ । यो तीतो सत्यले नै हामीलाई सोच्न बाध्य बनाउँछ, हामी जापान किन आउँछौँ ? हाम्रो रोजाइमा किन पर्छ जापान ?!
जापानमा विदेशी विद्यार्थीहरूमध्ये नेपालीको सङ्ख्या तेस्रो ठूलो छ । चिनियाँ र भियतनामीपछि नेपाली विद्यार्थीहरू पढ्न जापान आइपुग्ने गरेको सन् २०२१ मा गरिएको एक तथ्याङ्कले देखाएको छ ।निहोङ्गो गाक्को, सेन्मोन गाक्को, दाइगाकु वा रिसर्च कोर्समा आउने हामीहरू जापानका निमित्त विद्यार्थी मात्रै होइनौ, अर्को पाटोबाट हेर्दा हामी जापानका लागि युवा कामदार पनि हौँ । कामको सम्मान गर्ने यस मुलुकमा ठूलो सङ्ख्यामा बुढ्यौली उमेरको जमात छ । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि धेरैभन्दा धेरै विद्यार्थी भिसारूपी कामदार भित्राउनु पर्ने बाध्यता छ यो देशलाई । यही कारण सन् २००५ यता लगातार नेपाली विद्यार्थीको सङ्ख्या बढिरहँदा पनि भिसाका अफ्ठ्यारा प्रावधान हटाउँदै गएको छ जापानले । पहिले र अहिलेको तुलना गर्दा जापान प्रवेशका सजिला पाटा मात्रै होइनन् व्यवस्थित रूपमा प्रक्रिया पूरा गर्नैपर्ने नयाँ–नयाँ कागजात थपिदै पनि गएका छन् । हामीमध्ये धेरैजना पढ्ने बहानामा आफ्नो भविष्य बनाउन आएका हौँ । त्यसमध्ये म पनि एक थिएँ । अहिले यो आलेख पढ्नेमध्ये धेरैको कथा सम्भवतः मेरो भन्दा फरक छैन पनि होला । मिल्दोजुल्दो हुनसक्छ । त्यसो त सरकारी वा विभिन्न सङ्घ–संस्थाको छात्रवृत्तिमा जापान आउने र जापानको अध्ययन सकेर मातृभूमिको सेवा गर्नेको लस्कर पनि बेग्लै छ ।
यस लेखमार्फत् नयाँ विद्यार्थी भाइ–बैनीहरूलाई अरूले भन्दा नयाँ के सन्देश दिन सक्छु ? म घोत्लिन्छु र पाउँछु हाइकु । … हो हाइकु । जापानीशैलीको कविता । यो अति शूक्ष्म कविताले मलाई कलेज पढ्न सुरु गर्दा नै तानेको थियो र यसको खोजी गर्न जापान पुग्नुपर्छ भन्ने सोचले मलाई जापान ल्याएको थियो । त्यो बेला आजको जस्तो जापान आइपुग्न सहज थिएन । एउटा गाविसमा जापान जानेको सङ्ख्या औँलामा गन्न सकिने थियो । कुन घरको सदस्य जापान छ भन्ने कुरा पल्लो गाउँका मानिसमा समेत जानकार रहन्थ्यो । जापानमा कस्तो भविष्य हुन्छ ? त्यो पनि थाहा थिएन । आजको जस्तो धेरै कन्सल्टेन्सीहरू पनि थिएनन् । तैपनि एउटा सोच थियो, जापानमा पढ्दै, केही कमाउँदै म जापानीशैलीका कविताहरूको खोजी गर्छु र त्यसमा केही काम गर्छु । मलाई लाग्दथ्यो, जापानमा हाइकु लेख्ने जापानीहरूले मलाई सजिलै हाइकु लेखेकै भरमा माया गर्छन् । यही हाइकु बलले म जापानमा स्थापित हुन्छु ।खासमा म जापानमा स्थापित हुने सजिलो कुरा ठान्थेँ । त्यसमाथि हाइकुको बलले त माथि नै पुग्छु भन्ने ठान्थेँ । सायद यो उमेरमा सबैलाई यस्तै भ्रम हुन्छ क्यारे ! यो पढिरहने तपाईंहरूलाई पनि थियो होला, अझ भनौँ छ होला । यद्यपि नेपाल बसेर कल्पिने जापान र प्रत्यक्ष भोगिने जापानमा निकै ठूलो अन्तर छ ।
सन् २००६ मा पहिलोपल्ट वाइडबडीमार्फत् जापान आइपुग्ने प्लेन नै मेरो पहिलो आकाशेयात्रा थियो । मैले यसरी जहाज चढ्नुलाई नै जापान पुग्ने पहिलो सफलता मानेको थिएँ । मेघौली विमानस्थलमा विश्व हात्तीपोलो हेर्न जाँदा सुरक्षापङ्क्तिको आँखा छलेर एकपटक जहाजलाई हातले छोएको अनुभव भने रातापुर स्कुल दिब्यनगरमा कक्षा ५ मा पढ्दाखेरी नै थियो ।वाइडबडीमार्फत् हामी २५ जनाको युवाटोली जब नारिता विमानस्थलमा ओर्लिएर गन्तव्य योकोहामातर्फ लम्कियौँ, एउटा नयाँ संसारमा प्रवेश गरेको अनुभव भयो । साँच्चै बेग्लै थियो जापानको दुनियाँ । नारायणघाटको तरकारी मण्डी र बसपार्कको गल्ली छिचोल्न हम्मेहम्मे पर्ने यो तन्नेरीलाई योकोहामा स्टेसन त महाप्रलय नै हुने भयो । म कक्षा एकमा भर्ना नहुँदैको जमानामा जापान आउनुभएको चनौलीका मनोज घले दाइलाई भेट्न सिन्जुकु खाबुकिच्यो पुग्दा त हायल–कायल नै भएको थिए थिएँ त्यतिबेला ।नेपालभन्दा साढे तीन गुना ठूलो देशमा पुगनपुग ८–१० हजार नेपाली थिए, त्यो समयमा ।हामी जापानमा यसरी बिलायौँ, जसरी समुद्रमा कुनै नदी मिसिएर हराउँछ । अहिले जापानमा १ लाख जति नेपाली छौँ । १२ करोडभन्दा बढी जनसङ्ख्या भएको जापानमा यो सङ्ख्या निकै कम हो । तैपनि हामीले आफ्नो केही विशेषता बोकेर आफूलाई पृथक् बनाउन सफल भएका छौँ । समुद्रभित्र नदीको महसुस गराउनु सायद यो हाम्रो सफलता हो ।
हामी किन जापान आयौँ ? यसको उत्तर फरक–फरक हुनसक्छ । तर जापानमा आएर हामीले के गर्नुपर्छ यो प्रश्नको उत्तरमा मलाई भन्न मन लाग्छ — हामीले आफ्नो पहिचान बचाएर राख्नुपर्छ । त्यसो भए हाम्रो पहिचान के त ? नेपालको जस्तो राजनीति ? नेपालकै जस्तो प्रवृत्ति ? नेपालको जस्तो कामलाई गर्ने अल्छिपना ? पक्कै होइन । हाम्रो पहिचान वीरताको हो, इमान्दारिताको हो । जिम्मेवारीप्रतिको वफादारिताको हो ! सबैसँग मिलेर बस्ने बानीको हो । आज हामी जति सङ्ख्यामा भए पनि हामीले यी कुरालाई अक्षुण राख्नुपर्छ । आज नेपालीलाई जापानीहरूले जति माया गर्छन्, यिनै राम्रा पक्षका कारण राख्छन् । यसलाई बिर्सनु हुन्न । हरेक नेपाली विद्यार्थीले जापान आउँदा भोग्नुपर्ने समान दुःख छन् । उहिल्यै, पहिलोपल्ट सन् १९०२ मा राणाकालमा यहाँ पढ्न आएका विद्यार्थीहरूले पनि आफूहरूलाई जापान आउँदा खानपानको समस्या परेको, भाषाको समस्या परेको र संस्कारसँग घुलमिल हुन गाह्रो भएको उल्लेख गरेका थिए । अहिले १ सय २० वर्षपछि पनि हामीलाई पर्ने साझा समस्या उही नै हुन् । तर यहाँको भाषा सिक्दासिक्दै, यहाँको संस्कारमा घुलमिल हुँदाहुँदै र यहाँका खानासँग बानी पर्दापर्दै हामीमा सङ्घर्ष गर्ने बानीको विकास हुँदोरहेछ । आफूभन्दा अघिल्लो पुस्ताको देखासिकी र अनुसरणले पनि धेरै ठूलो काम गर्दोरहेछ । कुनै पनि मानिसले जुन कुरामा बढी दुःख पाएको छ, त्यो कुरा त्यति नै राम्रोसँग सिक्छ । उदाहरणका लागि सुरु–सुरुमा हामी मार्केट छिर्दा नुन र चिनीमा झुक्किन्छौँ । सेन्जाइ र स्याम्पुमा झुक्किन्छौँ । यात्रा गर्दा एक्स्प्रेस र लोकल ट्रेनमा झुक्किन्छौँ । हिँड्डुल गर्दा धेरै ठाउँमा अल्मलिन्छौँ र हराउँछौँ । धेरैपटक जापानी संस्कारमा मिल्न नसकेर तर्किन खोज्छौँ । यसमा यति दुःख पाइन्छ कि जीवनभर त्यसले हामीलाई पाठ सिकाइरहेको हुन्छ ।
धन्य, जापानीहरूले हाम्रा समस्या बुझेका हुन्छन् र झर्को नमानी सहयोग गर्छन् । अफ्ठेरोमा परेका र पर्नसक्ने अवस्था हेरी धेरैजसो कलेजले नै आफ्ना विद्यार्थीहरूलाई काम खोजेर लगाइदिने गर्छन् । भलै कलेज तथा विभिन्न कारणले विद्यार्थीले दुख पाएको कुराहरू पनि समाचारमा सुनिन्छन्, देखिन्छन् । तर दुःख, समस्या वा व्यवधान झेल्दै आफ्नो खर्च चलाएर नेपालको ऋण तिरेकै हुन्छन् । केहीले त विद्यार्थीजीवनमै घर–घडेरी जोड्दै आफूलाई आर्थिक रूपमा सबल बनाएका छन् । अमेरिका, युरोप र अस्ट्रेलिया जाने विद्यार्थीका कथा र जापानका विद्यार्थीको कथा बिल्कुल फरक छ । अभिभावक र समाजको तर्फबाट भए गरेका बुझाई पनि केही फरक नै देखिन्छ ।
काम गर्दागर्दै हामीले धेरै कुरा अनुभव गरिसकेका हुन्छौँ । यदि कलेजले काम नखोजिदिने हो भने पनि हाम्रो विद्यार्थीजीवन यति सजिलो हुने थिएन । यस अर्थमा हामीलाई कलेज पढ्दापढ्दै जापानीहरूले धेरै कुरा सिकाइसकेको हुन्छ । मैले पनि जापान प्रवेश गरेको ३५ दिनमा एउटा रेस्टुरेन्टमा काम पाएँ । जसले भाषा सिक्न, नेपाल फोन गर्ने टेलिफोन कार्ड किन्न र म्याकडोनाल्ड अनि रामेन पसल छिर्न समस्या परेन । एक वर्षको कलेज फि र होस्टेल फि चाहिँ हामीले नेपालबाटै भुक्तान गरेर आएका थियौँ ।
जापानबाट हामीले सिकेको पहिलो तरिका हो, भाषा सिकाउने शैली । भाषा स्कुलमा कति सरल रूपमा भाषा सिकाइन्छ भन्ने कुरा सम्झेर अहिले पनि म पुलकित हुन्छु । अति सामान्य उदाहरण दिएर, सामान्यभन्दा सामान्य मान्छेले पनि बुझ्नसक्ने गरी यहाँका भाषा कलेजहरूले जापानी सिकाउँछन् । सम्झनूस् त, सानो छँदा स्कुलमा सरको डरले सुगारटाई गरेका क्षण । अझ हाम्रा पालामा त सरहरूले लठ्ठी बोकेर मात्रै कक्षाकोठा छिर्नुहुन्थ्यो । छडी र डस्टरको उल्टोपट्टिबाट कुटाइ खाएर धेरै कुरा सिक्नुपर्दथ्यो ।प्रारम्भिक दिनमा यहाँ भाषाका कारणले, प्रविधिमा अभ्यस्त नहुँदा परेका अप्ठ्याराका कारणले, टन्न अघाउन बिहान बेलुका दाल र भात खानुपर्ने गोर्खे बानीले मैले पनि धेरै अप्ठ्यारो भोग्नुपरेको थियो । त्यो बेला आजको जस्तो आइफोनको जमाना थिएन । नेपालको खबर सजिलै थाहा हुन्न थियो ।
कलेजको लबीमा ३ वटा कम्प्युटर राखिएको हुन्थ्यो । बङ्गाली
र श्रीलङ्कनसहितका सयौँ विद्यार्थीहरूले तिनै कम्प्युटरबाट इमेल लेख्ने, समाचार हेर्ने गर्नुपर्दथ्यो । सुरुका महिना दिनमा घर–परिवारको यति धेरै सम्झना आउन थाल्यो कि अरू काम छाडेर नेपालका समाचार हेर्थें । त्यही बेला जनआन्दोलन भाग दुई चल्दै थियो । सानैदेखि देशको राजनीतिक समाचारहरूबारे चासो लिने गर्दथेँ । आफूलाई अपडेट राख्न पनि देशको न्युज हेर्नुपर्छ भन्ने मेरो मान्यता स्कुल तहदेखिकै हो, जुन अहिलेसम्म पनि छ ।राम्रोसँग पढ्नुपर्छ भन्ने भावना थियो । त्योभन्दा ठूलो कुरा स्कुलको हाजिरी थियो । किनभने गाक्कोको हाजिरीले भिसा नवीकरणसँग पनि कुनै न कुनै रूपको सरोकार राख्दथ्यो । त्यसैले मैले सकेसम्म कुनै पनि कक्षा छुटाइँन । यता काम गर्नुपर्ने बाध्यता पनि थियो । कक्षाकोठामा पढाइभन्दा बढ्ता ध्यान अघिल्लो दिन तलब बुझेको बैङ्क पासबुकमा हुन्थ्यो । कसको धेरै भन्ने प्रतिस्पर्धा नै चल्थ्यो । उतिबेला २८ घण्टे प्रावधान त्यति कडिकडाउ थिएन । कक्षाकोठामै झोला र किताबहरू सिरानीमा परिणत हुन्थे । यस्तो कहानी धेरै विद्यार्थीसँग मेल खान्छ । सकेसम्म बढी काम गरेँ । कामबाट फर्कंदा रेलमै निदाउनु दैनिकी नै थियो । कतिसम्म भने रेल पार्किङ गरेपछि चालक दलका सदस्यहरूले डिब्बा चेक गर्दै आउँदा भेटेपछि घच्घच्याएर उठाएका घटनाहरू अझै ताजै छन् । हुन त यो तपाईंहरूका लागि पनि नौलो होइन ।घटनाहरू फरक हुन सक्छन् तर कथा र व्यथा एउटै हो । समग्रमा यी घटनाबाट हामीले के सिक्ने भन्ने मात्र हो । मैले कतिपय अवस्थामा लोकल र एक्सप्रेसको खान्जी चिन्न नसकेर पनि दुःख पाएको छु । लोकल ठानेर चढेको ट्रेन एक्स्प्रेस पर्दा कुनै अन्जान प्लेटफर्ममा ओर्लनुपरेको छ । यी सबैबाट मैले के थाहा पाएँ भने थोरै मात्र पनि होस गुमाउँदा परदेशमा ठूलो दुःख पाइन्छ । यही कारण हरेक क्षण, हरेक पल चनाखो हुनपर्ने बाध्यता छ ।
सुरु–सुरुमा कोही अग्रज नेपाली देख्दा धेरै नै खुसी लाग्दथ्यो । तर सामान्यबाहेक कसैले पनि सोचेजस्तो महत्त्व नदिएको जस्तो लाग्नथाल्यो । यसले मलाई ठूलो पीडा हुन्थ्यो । तर त्यो यहाँको बाध्यता रहेछ । आफूभन्दा ठूलाले बढीमा दिन सक्ने भनेको अनुभवअनुसारको ज्ञान हो । कामका लागि सिफारिस हो, जसलाई जापानी भाषामा स्योखाइ भनिन्छ । बाँकी त आफैँले गर्नुपर्ने रहेछ । यो कुरा नबुझ्दा मलाई ठूलो पीडा हुन्थ्यो । तर आज अनुभव गर्दैछु ! तपाईंहरूले पनि कसैसँग ठूलो अपेक्षा राख्दा कहिलेकाहीँ दुःखी भएको अनुभव गर्नुभएको होला । यो तपाईंको मात्र होइन, मेरो मात्र होइन, हामी सबैले अनुभव गरेको दुःख हो । अहिले केही वर्षयता सामूहिक भावनाको विकास भएको छ । जेहोस्, हरेकले यो अनुभवबाट गुज्रनु आफूलाई अझ परिपक्व बनाउनु हो ।
आफू सबल नहुँदै सामाजिक सङ्घसंस्थामा आवश्यकताभन्दा बढी सक्रिय हुँदा समस्याग्रस्त बनेका विद्यार्थी भाइबहिनीहरू हिजोआज प्रशस्तै भेटिन्छन् । मितव्ययिताको सन्दर्भमा पनि हिजोआजका विद्यार्थीहरू कमजोर देखिन्छन् । यद्यपि प्रविधिसँग भन अब्बल छन् ।फेरि पनि म पुरानै प्रश्नमा फर्कन्छु, हामी किन जापान आउँछौँ ? यसको उत्तरका लागि हामीले जापानबाट के सिक्यौँ ? भन्ने कुरामा निर्भर हुन्छ । जस्तो जापानबाट मैले समयको महत्त्व बुझेँ र यसको पालना गर्न सिकेँ । जापानीबाट मैले इमान्दारिताको पाठ राम्रोसँग
सिकेँ । मेरो रेस्टुराँमा आएको सामान्य जापानीहरूले पनि मलाई गज्जब–गज्जबका पाठ सिकाएका छन् । जापानीबाट मैले सिकेको कुरा कामप्रतिको जिम्मेवारी बोध र वफादारिता पनि हो । यिनीहरू कुनै पनि कामलाई यति कलात्मक रूपमा गर्छन् कि हामीलाई अचम्म लाग्छ । त्यसपछि सिकेको कुरा हो, अरूलाई सम्मान गरे मात्र आफूले सम्मान पाइन्छ ।हुन त यी कुरा तपाईंहरूले पनि अनुभव गरिरहनु भएको छ । तर लिने तरिका फरक पर्ने रहेछ । उदाहरणका लागि जापानीहरू आफ्ना गल्तीलाई सहजै स्वीकार गर्छन् तर नेपालीहरूमा त्यो गुण निकै कम पाइन्छ । जसले जति गल्ति स्वीकार गरेर अघि बढ्छ, त्यो व्यक्तिको त्यति नै धेरै प्रगति भएको देख्न पाइन्छ । त्यसबाहेक यहाँका ठूला–ठूला व्यक्तिदेखि सामान्य नागारिकहरूले पनि एकै किसिमका नियम त्यो पनि कडाइका साथ पालना गर्छन् । हामी नेपालीलाई पद वा प्रतिष्ठा बढ्दै जाँदा नियम मान्नु पर्दैन भनेजस्तो लाग्छ । यही कारण नेपालीहरूको सङ्घ–संस्थाहरू जापान बसे पनि त्यहीअनुसारको नियम मान्ने चलन उतिसारो देखिँदैन ।
यी सबै कुराबाट मलाई लाग्छ, हामी जापान आउनुको कारण केवल पैसा कमाउनु मात्र होइन, हामीले असल संस्कार पनि यहाँबाट हाम्रो देशमा पठाउनु छ । यसका लागि पहिले आफैँ उदाहरण बनेर देखाउनुपर्छ । हामीलाई देखेर नेपालका हाम्रा साथीभाइ, छरछिमेकी र आफन्तहरूले नै हाम्राबारेमा वर्णन गर्नेछन् ।भोलि हामी फर्केर जाने भनेको आफ्नै देश हो । केही अपवादबाहेक हामीमध्ये अधिकांश आफ्नो देश फर्कन्छौँ नै । त्यो बेला हामीलाई जापानमा सिकेका, अनुभव गरेका र भोगेका सबै कुरा काम लाग्छन् । यहाँ सिकेको कुरा आफ्नो देशमा लागू गर्नु भनेको हाम्रो कर्मभूमिको ऋण तिर्नु पनि हो । देश बनाउने सूत्र पनि हो ।
(हाल योकोहामामा व्यवसाय गर्दै आइरहेका लेखक जापानका पूर्व विद्यार्थी हुन्)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




