कोभिड महामारीका कारण २ वर्षसम्म रोकिएका नवप्रेवेशीहरु एकैपटक जापान आएकाले यस वर्ष साविक( कोभिड सुरु हुनु अघि)को तुलनामा,अलि धेरै समस्या तथा गुनासोहरु देखिएको छ । त्यो स्वभाविक पनि हो ।
यो अवस्थामा जापानमा रहेका अग्रज/जानकार तथा स्थापित नेपालीहरुले सकेसम्म नवप्रवेशीहरुलाई सहयोग गर्दै उनिहरुलाई जापानको नयाँ परिवेशमा जिवन यापनमा सहयोग गर्नु उत्तरदायित्व पनि हो ।किनकि,हामी देशको भूगोल काटेर आएपछि केबल एउटै परिचयमा बाँधिन्छौ त्यो हो -“ नेपाली”। यो समय जापानमा रहेका अग्रज नेपालीहरुले,नेपालीहरुको छवी सकारात्मक बनाउँदै हाम्रो एकता//सहकार्य र समन्वयत्मक भूमिकालाई खुला हृदयले देखाउन जरुरी छ । तर यो बिचमा जे हुनुपर्थ्यो त्यो हुन सकेको छैन भने, जे नहुनुपर्थो त्यो अधिक भईरहेको छ ।
केहि सिमित व्यक्ति र संस्थाहरु नव प्रवेशी नेपाली विद्यार्थीहरुको सहयोगार्थ साँच्चै मनदेखि लागिरहेका भएपनि झण्डै ६० प्रतिशत अग्रज( पहिलै जापान आएका)हरु उनिहरुलाई नै आर्थिक तथा सामाजिक लाभ प्राप्तीको दुहुनो गाई सम्झिएर सोहि अनुरुप गतिविधिहरुमा संलग्न भईरहेको कृयाकलापहरु सामाजिक संजालभरी छताछुल्ल भईरहेका छन् ।तपाई केहि अग्रज भनाउँदाहरुलाई आग्रह गर्दछु, कि सक्नुहुन्छ भने, निस्वार्थ सहयोग गर्नुहोस् होईन भने आफ्नो कुण्ठित स्वार्थ पुरा गर्नका लागि सहयोगको आश्वासन लिएर नजानुहोस् । किनकि,स्वार्थले लुप्त तपाईको व्यवहार भोगिसकेको नव प्रवेशीहरुले साँच्चै सहयोगी व्यक्तिलाई पनि उहि नजरले हेर्न बाध्य हुनेछ । अहिले त्यहि भईरहेको छ, जसले गर्दा असल नियत भएकाहरु सहयोग गर्न डराउँछन् र आफुसंग अवसर र ईच्छा भईरहँदा पनि अप्ठ्यारोमा परेका नव प्रवेशीहरुलाई उपलब्ध गराउन सक्दैनन् ।
जापानमा रहेका अग्रजहरुबाट भएका घृणित व्यवहारहरुः
हामीलाई हाम्रो अफिसियल पेजमा तथा व्यक्तिगत ईन्बक्समा हरेक दिन कम्तिमा ४/५ वटा गुनासाहरु आउने गर्दछन् त्यसैको आधारमा केहि बुँदाहरुः
१.महंगो पैसा लिएर,सुविधा शुन्य होटलहरुमा क्वारेन्टिन राखिदिने ।
२.अन्यत्रभन्दा दोब्बर पैसा लिएर नाम मात्रैको होस्टेलमा २ /३ जना पनि बस्न असहज हुने ठाउँमा ५/६ जनालाई एउटै कोठामा कोचिदिने ।
३.जापानमा आईसकेपछि,रेसिडेन्सी रजिस्ट्रेसन तथा बैंक एकाउन्ट बनाउन सहयोग नगरिदिने, गरिदिए पनि विभिन्न बहानामा चर्को शुल्क
।
४.निवासबाट विद्यालयसम्म जाने रेलको मासिक टिकट( तेकि)बनाउँदा पनि अतिरिक्त शुल्क लिईदिने ।
५.जापान आउनेबित्तिकै मोबाईल फोन सेवा तथा सेट लिँने समयमा जापानका कम्पनीहरुमा कायम भन्दा फरक शुल्कहरु तिराउने ।
६.सहयोग गर्छु भन्दै रेस्टुरेन्ट बोलाएर,घंटौ रेस्टुरेन्ट पर्खाउने र आफ्नो खाना बेच्ने ग्राहक मात्रै बनाउने
७.पार्टटाईम काम लगाईदिन पनि २०/३० हजार येनको माग गर्ने ।
८.सहयोगको नाममा बोलाएर महिला दिदीबहिनीहरु माथि यौन शोषणको प्रयास गर्ने ।
९.जागिर लगाईदिन्छु तर नग्न तस्बिर पठाउ भन्दै नक्कली आईडीहरुबाट सामाजिक संजालमा टचर दिने ।
१०.विद्यार्थीहरुले गुनासो गरे,नेपाल डिपोर्ट गराईदिन्छु भन्दै धम्काउने ।
११.आवश्यक व्यक्तिलाई सहयोग नगर्ने तर आवश्यकतै नपरेको ठाउँमा गएर,विद्यार्थीहरुको झुण्डसंग फोटो खिचाउँदै पैसा बाड्ने आदि
नवप्रवेशी विद्यार्थीहरुको कमजोरीहरु
हामी नेपालीहरु घरदेशदेखिनै परनिर्भर स्वभाव बोकेर आउने गर्दछौँ जसका कारण यहाँ विभिन्न समस्याहरु बढिरहेका छन् । यसलाई बुँदागत लेख्दाः
१.ठूला सपना तर कोमजोर मनस्थितिः जापानमा आफुले कुन स्कुलमा भर्ना गरेको हो ? त्यो स्कुल भएको ठाउँ कस्तो हो ? त्यहाँ पुगेपछि मलाई कसले मार्गनिर्देशन गर्नेछन् ? त्यहाँ पार्ट टाईम जब पाउन सकिन्छ या सकिदैन ? यस भन्दा अघि त्यहाँ कोहि विदेशी विद्यार्थी पुगेको छ छैन ? त्यो स्कुल साँच्चै बैधानिक छ छैन आदि केहि थाह नपाउने ।
२.जापानमा जापानी भाषा नजाने काम छैन भन्ने जान्दा जान्दै पनि भाषा पढ्न पटक्कै मेहनत नगर्ने ।( केहि सिमित विद्यार्थीहरु भने निकै राम्रा पनि छन् ।)
३.सबैकुरा अरुको भरपर्ने,आफै खोजौँ बुझौँ भन्दा पनि कसैलाई सोधौँ, कसैलाई गर्न लगाउँ भन्ने सोच हावी हुनु ।
४.सहि र गलत व्यक्ति पहिचान गर्न नसक्ने र पहिचान गरिहाले पनि तत्काल प्रतिकृया जनाउन नसक्ने आदि ।
समाधान कसरी गर्ने त ?
त्यसो त यो जापानमा मात्रै नभई हरेक मुलुकमा जाने नेपाली नवप्रवेशीहरुले सुरुवाती दिनमा भोग्ने आम समस्याहरु हुन् । यसका लागि नवप्रवेशी विद्यार्थी, कन्सल्टेंसी तथा जापानमा स्थापित अग्रजहरु सबैले सुध्रिनु पर्दछ ।
१.विद्यार्थीहरुले आउनु अघि आफुले प्रकृया अगाडी बढाएको कन्सल्टेन्सीबाटै आफु आउँदै गरेको विद्यालय,पढाई, बसाई तथा पुगेपछिको सुरुवाती समयमा कसको जिम्मेवारी हुने हो प्रष्ट भएर आउनुपर्दछ ।
२. महत्वपूर्ण कुरा भाषालाई मुख्य प्राथमिकतामा राखेर न्युनतम आधारभूत कुराकानीहरु बुझ्न तथा बोल्न सक्ने भएर आउनु पर्दछ ।
३.आफ्नै देशमा सबैकुरा सोचेजस्तो नभएर विदेश आउँदै छौँ भने, परिस्थिति प्रतिकुल पनि रहन सक्दछ,३/४ महिना पार्ट टाईम जबनै नपाउँदा पनि त्यो समयमा म होतोत्साहित हुँदिनँ बरु काम नहुँदा पढ्छु भन्ने मानसिकता बोकेर आउनुपर्दछ ।
४.हातमा स्मार्टफोन र मनमा बुझ्ने ईच्छाशक्ति भए जापानमा हरेक कुरा अनलाईनमा खोजेर बुझ्न सकिन्छ ।अंग्रेजीमै पनि भेटिन्छ । जस्तै पार्टटाईम जबको लागि के के गर्नुपर्छ ? कसरी काम खोज्ने ? काम खोज्दा कसरी फोन गर्ने ? कुन काम कस्तो हुन्छ ? कहाँ कसरी जाने आदि सबै कसैलाई सोध्नै पर्दैन ।
५.अरुको लहलहैमा नलागि आफु के को लागि आएको हो,प्रतिबद्ध रहने।कसैले केहि प्रलोभन देखायो भने कम्तिमा २ पटक सोच्ने र अरु १/२ जनासंग थप सोधपुछ गर्ने ।
६.जापानमा ४/५ वर्ष दुख गरेपछि अवश्य मेरो सहज दिन आउनेछ भन्ने नभुल्ने ।
जापानमा स्थापित अग्रजहरुले आफु सुरुवाती दिनमा आउँदाखेरी भोगेका कुरा एक पटक सम्झौ,नयाँ विद्यार्थीहरु भेट्नेवित्तिकै आफ्नो अभिष्ट पुरा गर्ने भन्दा पनि सक्नुहुन्छ भने उनिहरुलाई साहयता गर्नुस,सक्नुहुन्न, भने बरु वास्तै नगर्नुहोस् । किनकि, कोहि अग्रजहरुले सहयोग नगरेपनि जापानमा अन्य मुलुकका लाखौँ विद्यार्थीहरु आफैँमा सक्षम हुन सकेका छन् भने नेपालीहरु पनि अवश्य सक्षम हुनेछन् ।
कोहि विद्यार्थीहरुलाई सहयोग गरेँ भन्दै फोटो खिचाएर आफ्नो सामाजिक पद हत्याउने चुनाबी मसला नबनाउनुहोस् । सतकर्म गर्नेहरुले सस्तो लोकप्रियताको विज्ञापन गरिरहन पर्दैन ।
महिला दिदी/बहिनीहरुलाई सहयोग गरिदिए वापत उनिहरुलाई ब्लाकमेल गरिनहाल्नुस, त्यो घृणित कर्म त हुँदै हो, जापानमा ति महिलाले चाहेको खण्डमा तपाई कडा कानुनी सजायको भागीदार पनि बन्नुपर्नेछ ।
सामाजिक संघसंस्थाका पदाधिकारीहरुले,भर्खरै आएका विद्यार्थीहरुलाई सामाजिक सेवाको मोह देखाउनुभन्दा ४/५ वर्ष पढ्नलाई प्रेरित गर्नुहोस् । तपाईको पदको लागि उसको भविष्य बन्दक नबनाईदिनुस् ।
नेपालमा कन्सल्टेंसी संचालकहरुले ख्याल गर्नुहोस्, तपाईहरु कन्सल्ट्यान्ट हो मानव तस्कर होईन । एउटा विद्यार्थी र अभिभावकले तपाई प्रति शतप्रतिशत विश्वास गरेर आफ्नो जिन्दगीभरको कमाई र १२/१५ वर्ष लगाएर प्राप्त शैक्षिक प्रमाणपत्र मात्रै होईन सिंगो जिवननै तपाईको हातमा थमाएका हुन्छन् । उनिहरुको त्यो गहन जिम्मेवारी पुरा गर्नु तपाईको नैतिक मात्रै कानुनी दायित्व पनि हुनेछ ।
(झण्डै एक दशक अघि विद्यार्थी भिसामा जापान आएका लेखक, हाल जापानमा जागीरसंगै संचारकर्ममा सकृय छन्)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




