व्यस्त शहर महङ्गी उस्तै अनि सपना पनि उस्तै त्यसैले होला यी परिस्थितिहरुले नै जति सक्दो दुख र सङ्घर्ष गरेर अघि बढ भनेको होकि जस्तो महसुस हुन्छ यो वैदेशिक भुमि जापानमा। विशेषगरी जापानमा विद्यार्थी र डिपेन्डेन्ट भिसामा रहनुभएका केहि व्यक्तिहरुले लामो समयसम्म फरकफरक सिफ्टमा काम गरिरहने हुनाले असन्तुलित खाना , निद्रा र आरामको कमिले गर्दा पनि स्वास्थ्य सम्बन्धि विभिन्न समस्याहरु देखिन सक्ने जोखिम रहेको हुन्छ यसरी लेख्दै गर्दा अन्य भिसामा रहनुभएकाको लागि सजिलो छ भन्न खोजेको चाहिँ पटक्कै होइन र म स्वास्थ्य क्षेत्र सम्बन्धि कुनै विशेषज्ञ व्यक्ति पनि होइन तर आफुले भोगेको ,देखेको र केहि खोजबाट आज एउटा सानो लेख लेख्दै छु । धेरै कुराहरु अपुग होलान तर बुझिदिनु हुन्छ भन्ने पुर्ण विश्वास लिएको छु।

करिब ४ वर्ष सम्म विद्यार्थी भिसामा एउटा सङघर्षपुर्ण जीवन पार गरियो जहाँ आफ्नो सपना, परिवारको सपना , अध्ययन समाप्ति सङ्गै एउटा राम्रो कम्पनि प्रवेश गर्ने सपना र समाज परिवर्तनको अर्को सपना त्यति सहजै थिएन यी सबै सपनाहरु पुरा गर्न जहाँ बिहान कलेज अनि काम यसो रुम आयो रामेन अथवा पान के हुन्छ खायो फेरि नाइट सिफ्ट काम अनि फेरि कलेज यस्तै यस्तै गरेर पनि बित्यो केहि समय। यो मेरो मात्रै अनुभव नभएर धेरै को यस्तै हुनसक्छ सायद।

नेपालबाट साथि र कन्सटेन्सिले भनेको भरमा महिनाको २ लाख कमाउने सपना बोकेर आएको जापान र वास्तविक भोगाईको जापान धेरै नै फरक रहेको छ। विशेषगरी हामी नेपाली विदेश हिडेपछि भविष्य १०० प्रतिशतनै सुरक्षित हुने अभिलासा देखेका हुन्छौँ जहाँ स्तानक , स्नातकोत्तर अध्ययन गर्दै गर्दा अथवा राम्रै जब गरिरहेका पनि जापानको भिसा आएसि ती कामहरु वा अध्ययनलाई बिचमै बिट मारेर हिड्छौँ यो सोच्दैनौ कि कुनै कारणवश छिट्टै नेपाल फर्किनु पर्यो भने भविष्य के होला भनेर !

पछिल्लो समय जापानमा बढ्दो क्रममा रहेको नेपालिहरुको स्ंख्या सङ्गै स्वास्थ्य समस्या पनि एक जटिल अवस्था बन्दै गैरहेको छ। विशेषगरी असन्तुलित खाना र आरामको कमिले गर्दा स-साना रोग देखि दिर्घकालिन रोगहरुले केहि व्यक्तिहरुलाई सताउदै गएको देखिन्छ। लामो समयसम्म उभिएर काम गर्नुपर्ने, अत्याधिक चिसो तापक्रममा काम गर्नुपर्ने साथै यामातो तथा बेडमेकिङ्गमा काम गर्दा धेरैमा ढाडको समस्या, खुट्टाको समस्या र महिलाहरुमा पाठेघरको समस्या समेत देखिने गरेको पाईन्छ। पछिल्लो समय जापानमा आत्महत्या बाहेक अन्य कारणले मृत्यु भएका केहि व्यक्तिहरुमा श्वासप्रवास सबन्धि समस्याले भएको पछिल्लो तथ्याङ्कले प्रष्ट पारेको छ। कहिलेकाहीँ स्वास्थ्यमा केहि समस्याहरु आउदा पनि विदा नलिई सकि नसकि काम जाने बानीले पनि स्वास्थ्य सम्बन्धि झन समस्या सिर्जना गर्ने गर्दछ त्यसैले यस्ता कुराहरुमा विचार पुर्याउन जरुरी पर्दछ। विशेषगरी एकै दिनमा लामो सिफ्ट वा एक भन्दा बढि ठाउँमा काम गर्दा समय अभावले उचित किसिमको खानपान नहुने र आरामको पनि कमि हुने हुदाँ दिर्घकालिन रुपमा स्वास्थ्यमा विभिन्न समस्याहरु उत्पन्न हुने गर्दछ। केहि व्यक्तिहरुले अत्याधिक मात्रा मदिरा सेवन सङ्गै धुम्रपानको प्रयोगले गर्दा पनि विभिन्न स्वास्थ्य सम्बन्धि समस्या देखिएको होकि भन्ने बुझाई छ। प्रायजसो कम्बिनिको रामेन र ओनिगिरी खानुभन्दा पनि सकेसम्म दिनको एकपटक घरमै आफैले पकाएको खाना खाने बानि गरौँ पकाउन अल्छि लाग्न सक्छ तर आफ्नो स्वास्थ्यलाई पक्कै हित गर्नेछ साथै मौसम अनुसार तथा बार्है महिना पाइने फलफुलहरु दिनहुँ खाने बानी बसालौँ।

विशेषगरी लामोसमयसम्म यामातो , बेन्तो, बेडमेकिङ्ग र अत्याधिक चिसो तापक्रममा ( यासाई , साकाना)काम गर्ने केहि महिलाहरुमा पाठेघर सम्बन्धि समस्या देखिनुको साथै बच्चा रहेपनि २/३ महिनामै Misscarage ( बच्चा खेर जानु)हुने समस्या धेरैमा देखिएको सुनिन्छ ।लामोसमयसम्म सधैँभरी काम गरिरहँदा तुरुन्त समस्या नदेखिएपनि दीर्घकालिन रुपमा गम्भिर समस्या सिर्जना हुन सक्छ त्यसैले यसबारे महिला दिदिबहिनिहरु बेलैमा सजग हुन पनि जरुरी रहेको छ।

जापानमा वर्षेनी गर्मीयामको समयमा कहिले खोलानाला त कहिले समुन्द्रमा डुबेर मृत्यु भएका समाचारहरु आइरहेका हुन्छन यसबारे पनि हामी सबै सजग हुन जरुरी रहेको छ।जापानमा आफुलाई राम्रोसँङ्ग पौडी खेल्न नआउदा नआउदैँ पनि कहिलेकाहीँ मादक पदार्थको सेवन सङ्गै साथिहरुको लहलहैमा लागेर समुन्द्र तथा खोलामा पौडी खेल्न जाने गरेको पनि देखिन्छ। नेपालमा पौडी खेल्न एकदमै पोख्त भएपनि लामोसमय पछि खोला वा समुन्द्रमा पस्दा शरिर छिटै नै थाक्ने हुन्छ र फलस्वरुप पानी मुखमा जान्छ र आफुलाई पानी बाहिर ल्याउन निकै मुस्किल पर्ने गर्दछ।

ट्राफिक नियम पालना गरौँ

आफ्नो देशको ट्राफिक नियम ,संस्कृति र रीतिरिवाजको भिन्नताका कारण जापानमा बसोबास गर्ने केही विदेशीहरूलाई जापानको ट्राफिक नियम नजानेर अप्ठ्यारो लाग्न सक्छ तर यहाँको नियमानुसार टाफिक नियम पालना गर्नै पर्दछ।
सडक दुर्घटनाबाट बच्नको लागि स्वयम आफैँ सचेत हुनु नै सबैभन्दा राम्रो उपाय हो ।जापानमा कहिलेकाहीँ साइकलमा यात्रा गर्दा अन्य सवारी साधनहरु सङ्ग ठोकिएर वा हानेर दुर्घटना भई नेपालीहरुको मृत्यु हुने खबर पनि बेलाबेलामा सुनिरहेको हुन्छौँ।बाटो क्रस गर्दा कहिलेकहीँ हरियो बत्तिबाट रातो बत्ति परिवर्तन हुदाँ पनि ट्रेनको समयमा पुग्नको लागि साइकल कुदाउने वा दौडिने बानी पनि केहि व्यक्तिहरुमा रहेको हुन्छ यसरी हतारिएर हिड्नु भन्दा ५/१० मिनेट अघि घरबाट निस्कने बानी बसालियो भने यस्ता किसिमका घटनाहरुबाट बच्न सकिन्छ।

परदेशी भुमि हामीले सोचेभन्दा धेरै फरक छ त्यसैले छिट्टै कमाउँ, छिट्टै धेरै नै बचत गरौँ भनेर सपना नदेखौँ ।लामोसमय सम्म यहि ठाउँमा दुख गरि धेरै सपनाहरु पुरा गर्नु छ त्यसैले थोरै गरौँ तर आफ्नो स्वास्थ्य अवस्थाबारे सजग हुन अत्यन्तै जरुरी रहेको छ। आफु भन्दा अघि आउनुभएका साथिहरुको प्रगति देखेर आफु पनि त्यहि अनुपातमा हिड्न नखोजौँ छिमेकीले बुटवल ,काठमाण्डौ ,पोखरा लगायत अन्य शहरहरुमा ३/४ तले घर बनायो भन्दैमा आफु पछि नलागौँ आफ्नो स्वास्थ्य अवस्था बारे राम्रोसँङ्ग बुझौँ। जापानको परिवेश सङ्गै भाषा राम्रो बनाउँदै अघि बढ्न सकियो भने जापानमा आनन्ददायी जीवनयापन सङ्गै वचत गर्न पनि सकिन्छ।
हाम्रा सबै सपनाहरु अवश्य पुरा हुन्छन तर हामीमा आत्मविश्वास र धैर्यता हुन अत्यन्तै जरुरी रहेको छ।

सुजु जि.सि. कुवर धुर्कोट गाउँपलिका पिपलधारा -२, गुल्मी
हाल जापान ओसाका

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार