सुर्खेत । सुर्खेत जिल्ला अदालतले राउटे युवतीलाई यौन दुर्व्यवहार गर्नेलाई कैद र जरिवाना तोकेको छ। जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार गरेको फैसलामा राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात–सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको छ ।

यस्तै यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको छ । अदालतले युवतीमाथि यौन दुर्व्यवहार गर्ने चौमन घर्ती मगर र भूपेन्द्र बुढा मगरलाई समान सात वर्ष कैद र जनही २ लाख रुपैयाँ जरिवाना तोकेको हो। उनीहरूले पीडित राहत कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ।

यस्तै, होटल सञ्चालक मनबहादुर पुनलाई ३ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको छ ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए।

जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो। गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने चौमन बहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भूपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको थियो। उनीहरूलाई २०७८ जेठ २३ गते बिहान प्रहरीले पक्राउ गरेको थियो।

मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन हिंसा भएको थियो। दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडिओ सार्वजनिक भएको थियो। यो घटना हुँदा राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बसिरहेका थिए।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार