टोकियो/जापान । विशेषगरी नेपालमा सन्चालित कन्स्लटेन्सीहरुले केहि निश्चित रकम लिएर विद्यार्थी र कलेजको विचमा रहि मध्यस्थकर्ताको भुमिका निर्वाह गरेका हुन्छन् ।  यिनिहरुले विद्यार्थीहरुको कागजात तयारीको काम, भाषागत तयारी कक्षा लगायत विभिन्न किसिमका अवस्थाबारे पनि सहज तरिकाले जानकारी प्रदान गरेका हुन्छन् ।

तर पछिल्लो समय केहि कन्सलटेन्सीका लापरवाहीकारण धेरै भाईबहिनीहरुले निकै दु:ख पाएको समचारहरु पनि सुनिएका छन् । विद्यार्थीहरुलाई जापानको बारेमा यथार्थ जानकारी नबताई महिनाको २ लाख भन्दा बढि पैसा आर्जन गर्न सकिन्छ र काम सजिलै पाईन्छ साथै HandCash को काम पनि मिल्छ , कम्पनि पनि सजिलै प्रवेश गर्न सकिन्छ भन्ने जस्ता कुराहरुबारे झुटो सपना देखाएर जापान पठाउने गरेका छन् ।

तर जापानमा त्यति सजिलै यि कुराहरु प्राप्त गर्न सकिदैन जहाँ कामको लागि कानुनी नियमअनुसार हप्ताको २८ घण्टा मात्रै गर्नुपर्ने हुन्छ, एउटा विद्यार्थीको लागि कलेज शुल्क, होस्टेल शुल्क र अन्य विभिन्न किसिमका खर्च गरेर १ महिनामा कम्तिमा पनि १४ /१५मान (१मान = १०,००० एन ) भन्दा बढि खर्च हुने गर्दछ र यहाँको कानुनि नियमअनुसार काम गर्दा एक महिनामा प्राप्त हुने आम्दानी बढिमा १२/१३ मान येन हुने गर्दछ। भाषा राम्रो भएन भने सेनमोन तथा दाइगाकु प्रवेश गर्न पनि उस्तै चुनौतीपुर्ण रहेको हुन्छ ।

साथै अध्ययन सकेपछि कम्पनी प्रवेश गर्न पनि उत्तिकै चुनौती हुन्छ। जापान प्रवेश गरेसङ्गै विद्यार्थी जीवनमा गरिएको सङ्घर्ष र अनुभवबाट जीवन जिउने एउटा प्रेरणाको स्रोत पनि बन्दछ र जीवनमा सङ्घर्ष गर्न सक्नु नै एउटा सफल विन्दु रहेछ भनेर महसुस पनि गर्न सकिन्छ।

नेपालका केहि कन्सलटेन्सिहरुले जापानमा २ वर्षको लागि अङ्ग्रेजि माध्यममा IT तथा होटेल बिजिनेसको लागि अध्ययन गर्न पठाउने गरेका छन तर धेरै विद्यार्थीहरुले यहाँ आएर मात्र बुझेका हुन्छ्न कि यो भन्दा त भाषा पढाउने गाक्कोउ आउने पर्ने रहेछ किनभने २ वर्षको अध्ययन पुरा गरिसकेपछि भाषागत समस्याले गर्दा स्युस्योकु गर्न पनि निकै मुस्किल पर्ने देखिन्छ ।

केहि रकम कमाउने उद्देश्यले धेरै विद्यार्थी भाईबहिनीहरुको भविष्य नै अन्धाकार पारिदिने केहि कन्सलटेन्सिहरुले आफ्नो गल्ति महसुस गरि अबका दिनमा यस्ता कदमहरुलाई रोक्न जरुरी रहेको छ।कन्सलटेन्सिका मिठा गफका आधारमा देखेको सुन्दर भविष्य र जापान आएपछि आफुले भोग्नुपर्ने वास्तविकता निकै नै फरक रहेको छ। स्वयम व्यक्तिले नै सोच्नुपर्ने र बुझ्नुपर्ने कुराहरु आफ्नो भविष्यको सपना एकातिर हुन्छ तर विदेशमा गएका केहि व्यक्तिहरुको ठुला-ठुला महल तथा समुन्द्रको किनारामा खिचेका सुन्दर फोटोहरु देखेर साथीभाइको लहलहैमा लागेर आजभोलि जापान आउन मोहित हुने भाइबहिनीहरुको संख्या पनि बढ्दो छ।

आफैं अध्ययन गरेर यहाँको अवस्थाबारे बुझेर मात्र आउने कमै हुन्छन। विदेश अध्ययन गर्न जानु अघि सबैभन्दा पहिले आफुले आफैलाई चिन्न र बुझ्न जरुरी रहेको हुन्छ।आफ्नो स्वास्थ अवस्थाबारे पुर्ण जानकारी , आफुमा धैर्य गर्न सक्ने क्षमता र सङ्घर्ष गर्न सक्ने आत्मबल कत्तिको छ यसलाई पनि बुझ्नुपर्दछ। नेपालबाट आएको ऋणको दबाब, साथै जापान आएपछि कलेज शुल्क लगायत अन्य खर्चको बढ्दो जिम्मावारीले आफुमा थप दबाब सिर्जना गर्न सक्दछ त्यसैले यि कुराहरुबारे आफुमा पुर्ण जानकारी हुनुपर्दछ।

पछिल्लो समय जापानमा हप्तामा २८ घण्टा भन्दा बढि काम गरियो भने भिसा अपडेट गर्ने बेलामा भिसा नै रद्द हुने प्रवल सम्भावना रहेको देखिन्छ। त्यसैले आफुले अध्ययन गर्दा सम्म नेपाल पैसा पठाउन भन्दा पनि आफ्नो खर्च र अध्ययनलाई मात्र पुग्द्छ भन्ने मानसिकता पहिले देखिनै बनाउन सकियो भने जीवनयापनमा सहज हुन्छ।

विशेषगरी आजभोलिका भाईबहिनीहरु +२ पास गरेर जापान अध्ययन तय गर्नुभन्दा पनि स्नातक पास गरेर आउँदा अझ राम्रो हुन्छ। त्यतिबेलासम्म हामीले आफ्नो अध्ययन सङ्गै धेरै व्यवहारिक कुरा पनि सिकिन्छ साथै मानसिक रुपले जिम्मेवारी वहन गर्न सक्ने क्षमताको पनि विकाश भएको हुन्छ र उमेरमा पनि परिपक्वता आएको हुन्छ।पछिल्लो समय जापानमा आर्थिक दबाबको कारण केहि विद्यार्थीहरु आत्महत्याको शिकार भएको घटनाहरु पनि धेरै घटेका छन।

जापानमा आफ्नो अध्ययनको क्रममा कुनै व्यक्तिगत समस्या तथा कुनैकारण भिसा रद्द भयो भने पनि नेपाल गएर +२ को शैक्षिक प्रमाणपत्रले हामीले सोचेजति सहयोग नमिल्न सक्दछ र नेपाल फर्केर जादाँ नेपालमा फेरि सुरुबाट स्नातक तहको अध्ययन गर्नुपर्ने हुन्छ। आफ्नो छोराछोरीलाई जापान पठाउनु अघि अभिभावक तथा कन्सलटेन्सिले जापानमा वास्तविक रुपमा भोग्नुपर्ने समस्याको यथार्थता बुझेर वा बताएर मात्र प्रकृया अघि बढाउनु पर्दछ।

विशेषगरी पारिवारिक सुखसयलमा जीवन बिताइरहेका उनीहरुले विदेश आएसँगै ठूलो जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । आफैँ कमाएर खानुपर्ने, कलेजको शुल्क तथा कोठाभाडा पनि आफैँले तिर्नुपर्ने साथै आउँदा लागेको ऋण पनि तिर्नुपर्ने र परिवारबाट आर्थिक दबाद दिने र लिने जस्ता विभिन्न समस्याहरुले गर्दा अध्ययन भन्दा पनि कसरी पैसा कमाउन सकिन्छ भनेर सोच्नुपर्ने बाध्यत्मक परिस्थिति सिर्जना भएको हुन्छ।अझ भनौं, कलिलै उमेर वा कलिलो दिमागले चौतर्फी दबाव झेल्न नसक्दा केहि विद्यार्थीहरुले गलत बाटो पनि रोज्ने गर्दछन।

यी कुराहरु लेख्दै गर्दा ऋण खोजेर जापान आउन हुदैँ हुन्न भन्न खोजेको चाहिँ पक्कै पनि होइन र जापान आएर भविष्य असुरक्षित छ भन्न पनि खोजेको चाहिँ होइन है तर वास्तविक रुपमा भोग्नुपर्ने र गर्नुपर्ने कुराहरु यिनै हुन , आउनुस कठिन परिस्थितिको बाबजुद पनि सङ्घर्ष गर्न सिकौँ र धैर्य गर्न पनि सिकौँ यसैमा नै हरेक व्यक्तिको सफलताको आधार रहेको हुन्छ।

मोहन कुवर सत्यवती-२ , चेहेमी गुल्मी हाल जापान ओसाका

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार