काठमाडौं । यसअघिको सबै पाँच संस्करणको च्याम्पियन भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १–० ले पराजित गर्दै नेपालले फाइनलमा बंगलादेशसँगको भेट पक्का गरेको हो ।

नेपाललाई साफ इतिहासमा भारतमाथि पहिलो जित दिलाउने क्रममा रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् । नेपाल पाँचौ पटक फाइनलमा पुग्दा भारत पहिलो पटक फाइनल पुग्न असफल बन्यो ।

नेपालले पहिलो हाफको इन्ज्युरी समयमा रश्मीकुमारी घिसिङको गोलबाट अग्रता लिएको थियो । उनले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्र भित्र संयमित भएर नियन्त्रणमा लिँदै गोल गरिन् ।

त्यसअघि २३अ‍ौं मिनेटमा अन्जु तामाङको क्रसमा दाङमेइ ग्रेसको प्रहार सफल हुन सकेन । ५० अ‍ौं मिनेटमा अनिता केसीको कर्नरमा अमृता जैसीको हेडर गोलरक्षक अदितिले बचाइन् । लगत्तै अर्को कर्नरमा आएको रिबाउन्डका प्रितिको प्रहार पोस्टमा लागेर फर्कियो ।

५७ अ‍ौं मिनेटमा रश्मीको प्रहार फितलो रहँदा गोलरक्षक अदितिले सहजै बचाइन् । लगत्तै रश्मीको अर्को प्रहार अदितिले दोस्रो प्रयासमा बचाइन् । ८३ अ‍ौं मिनेटमा सौम्याको क्रसमा ६ यार्ड बक्सभित्र बल क्लियर नहुँदा भारतले गोल फर्काउने अवसर पाएको थियो । तर नेपाली डिफेन्सले दोस्रो प्रयासमा बल क्लियर गर्दै खतरा टार्यो ।

यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ । भुटानलाई ८० हराउँदै बंगलादेश दोस्रो पटक फाइनलमा पुगेको हो ।

 

 

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार