काठमाडौं । घरेलु समर्थकले सिमसिमे वर्षाको प्रवाह नगरी नेपाली टोलीलाई समर्थन गर्न दशरथ रंगशालामा उर्लिएपनि नेपाल झन्डै १५ हजार दर्शकसामु घरेलु मैदानमा बंगलादेशसँग ३–१ ले पराजित हुँदै ऐतिहासिक उपाधि जित्नबाट वञ्चित बनेको छ ।
साफको इतिहासमा नेपाल बंगलादेशसँगको चौथो भेटमा पहिलोपटक पराजित भएको हो । साफको १२ वर्षे इतिहासमा ६ संस्करण सम्पन्न हुँदा नेपाल र भारत सबैभन्दा बढी फाइनल खेल्ने टोली हो । भारत यसअघिको पाँच संस्करणसम्म फाइनल पुग्दै च्याम्पियन बन्दा नेपालले उति नै फाइनल खेलेपनि उपविजेताको छवि बनाएको छ ।
नेपालले पाँच संस्करण फाइनल खेल्दा पाँचैपटक उपविजेता बनेको छ । जसमा चार फाइनल भारतसँग गुमाउँदा यसपटक नेपालको उपाधि यात्रामा बंगलादेश तगारो बन्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार घरेलु टोलीलाई स्तब्ध पार्न बंगलादेशकी कृष्णारानी सरकारले दुई तथा साम्सुनाहारले एक गोल गरिन् । नेपालकी अनिता बस्नेतले एक गोल फर्काइन् । पहिलो हाफमा २–० ले अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा एक गोल गर्दा एक गोल बेहो¥यो ।
झन्डै १५ हजार दर्शकसामु खेलको पहिलो मिनेटमै कृष्णारानी सरकारको प्रहार गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले फुस्काइन् । रिबाउन्डमा आएको प्रहारलाई उनले कर्नर बनाएकी थिइन् । लगत्तै अर्कोतर्फ नेपालकी दीपा शाहीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक रुपना चक्माले बचाइन् । १०औं मिनेटमा मोसमत सोप्नाको स्थानमा साम्सुनाहार मैदान प्रवेश गरिन् । मैदान छिरेको तेस्रो मिनेटमै साम्सुनाहारले गोल गर्दै गरिन् । उनले मोनिका चक्माको क्रसलाई पहिलो टचमै पोस्टको दिशा दिइन् ।
गोलरक्षक तथा कप्तान एन्जिला तुम्बापो सुब्बाको टाउको माथिबाट बल गोल भएको थियो । २२औं मिनेटमा प्रिती राईको पासमा सरु लिम्बुले गरेको प्रहार डिफेन्डरले ब्लक गर्दै गोलरक्षकसम्म पुग्न दिइनन् । ३६औं मिनेटमा अनिता बस्नेतको फ्रिकिकलाई गोलरक्षक रुपनाले डाइभ दिँदै उत्कृष्ट बचाउ गरिन् । त्यसपछि प्राप्त कर्नरमा नेपालले खेल बराबरी गर्ने सुवर्ण अवसर गुमायो । गोलरक्षक बिट भइसकेको अवस्थामा गोललाइन अघि बंगलादेशका डिफेन्डरले तेस्रो प्रयासमा बल क्लियर गरिन् ।
४१औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पा¥यो । साम्सुनाहारले पेनाल्टी क्षेत्रअघि बल खोसेपछि कप्तान सविना खातुनले कृष्णारानीलाई थ्रु पास दिइन् । कृष्णाले अफसाइड ट्रयाप बिट गर्दै वान भर्सेस वानमा एन्जिलालाई बचाउने कुनै अवसर दिइनन् । दोस्रो हाफमा नेपालले विंगर अनिता केसीको स्थानमा सावित्रा भण्डारीलाई मैदान पठाएको थियो ।
४७औं मिनेटमा अमृता जैशीको हेडरलाई गोलरक्षक रुपनाले मुस्किलले बचाइन् । ५२औं मिनेटमा नेपालले खेलमा फर्कने सुवर्ण अवसर खेर फाल्यो । अनिता बस्नेतको क्रसमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेकी रश्मीकुमारी घिसिङले हेडरलाई पोस्टको दिशा दिन सकिनन् । ६८औं मिनेटमा सावित्राले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर र गोलरक्षकको बीचबाट गरेको प्रहारमा रुपनाले उत्कृष्ट बचाउ गरिन् ।
७० औं मिनेटमा नेपाल खेलमा फर्कियो । अनिता बस्नेतले अअमिशा कार्कीको पासमा गोल गर्दै स्कोर २–१ बनाइन् । ७४औं मिनेटमा अनिता बस्नेतको कर्नरमा सावित्राको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो । ७७ औं मिनेटमा कृष्णारानीले व्यक्तिगत दोस्रो गोल गरिन् । मिडफिल्डमा नेपालले बल गुमाएपछि अघि बढेको काउन्टर अट्याकमा कृष्णाले गोलरक्षकलाई कुनै अवसर नै दिइनन् ।
८०औं मिनेटमा नेपालले प्रिती राइको स्थानमा रेखा पौडेललाई मैदान प्रवेश गरायो । ८२औं मिनेटमा दीपा शाहीले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक रुपनाले सहजै बचाइन् । बंगलादेश साफको इतिहासमा दोस्रोपटक फाइनल प्रवेश गर्दा पहिलोपटक च्याम्पियन बन्न सफल भयो । नेपाल भने छैटौं संस्करणसम्म पाँच पटक फाइनल पुगेपनि लगातार उपविजेतामा सीमित बन्न पुग्यो ।
साफको इतिहासमा बंगलादेशले नेपाललाई पहिलोपटक पराजित गर्दै उपाधि जित्न सफल भयो । यसअघिको तीन भेटमा नेपालले बंगलादेशले लगातार जित निकालेको थियो । नेपालले सन् २०१० मा सेमिफाइनलमा बंगलादेशलाई ३–०, सन् २०१४ मा पनि नेपालले सेमिफाइनलमै १–० को जित निकालेको थियो । २०१९ मा विराटनगरमा भएको साफमा समूह चरणमा ३–० को जित निकालेको थियो ।
उपाधिसँगै बंगलादेशले ट्रफी हात पारेको छ । उपाधि दिलाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेकी बंगलादशकी कप्तान सविना खातुन प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिइन् । उनले प्रतियोगिता अवधिभर ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड पनि जितिन्। बंगलादेशकै गोलरक्षक रुपना चक्मा प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चुनिइन् । बंगलादेशले प्रतियोगिताको फेयर प्ले ट्रफी पनि हात पा¥यो ।
प्रशिक्षक थापाद्वारा पद त्यागको घोषणा
नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कुमार थापाले प्रशिक्षक पद त्याग्ने घोषणा गरेका छन् । प्रशिक्षक थापाले सोमबार सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलपछि पदमा नरहने बताएका हुन् ।
उनले आफूले उपाधि दिलाउन नसकेपछि पदमा बस्नु उचित नरहेको बताउँदै पद छाड्ने जानकारी दिए । थापाले यसै प्रतियोगिताको सुरुवातमा जिम्मेवारी पाएका थिए । सन् २०१६ मा प्रशिक्षकको जिम्मेवारी पाउँदा थापा सेमिफाइनलमा रोकिएका थिए ।
त्यसबेला सिलीगुडीमा भएको प्रतियोगितामा भारत बाधक बनेको थियो । यसपटक भारतलाई सेमिफाइनलमा पन्छाएपनि नेपाल फाइनलमा बंगलादेशसँग ३–१ ले पराजित हुँदै उपाधि विमुख बन्यो ।



















प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




