मोहन कुवर/जापान

जापान पूर्वी एसियामा पर्ने टापुहरूबाट बनेको देश हो। यो चीन कोरिया र रसियाको पूर्व प्रशान्त महासागरमा अवस्थित छ । यसलाई सुर्योदयको देश भनेर पनि चिनिन्छ । जापानका नागरिकहरूले आफ्नो देशलाई “निप्पोन” वा “निहोन्” भन्दछन्, जसको अर्थ सूर्यनिकास हो । जापानको राजधानी टोक्यो हो भने अन्य ठुला शहरहरु ओसाका, नागोया, फुकुओका,योकोहामा, क्योतो रहेका छन।दोस्रो विश्वयुद्ध (सन १९४५ )मा अमेरीकाले हिरोसिमा तथा नागासाकी मा परमाणु बम खसाएपछि जापानले आत्म समर्पण गर्यो।त्यसपछि जापानले आफुलाई एक आर्थिक शक्तिको रूपमा सुदृढ गर्यो र अझै प्राविधिक क्षेत्रहरूमा अविश्वसनीय प्रगती गर्यो ।जसले विश्व माझ जापानको छुट्टै र विशिष्ट पहिचान बनाउन मद्दत गर्यो ।

विश्वका विकशित राष्ट्रहरुमध्ये जापान पनि एउटा उत्कृष्ट राष्ट्रको रुपमा चिनिन्छ। जापानमा रहेका प्राकृतिक सम्पदाहरु सँगै यहाँको अतुलनीय विकाशको दृष्टिकोणबाट हेर्दा जापान साच्चिकैँ सुन्दर रहेको छ तर यहाँ वर्षेनी हज्जारौँ भुकम्प, सयौँ ताईफु (आँधीबेहरी),सुनामी तथा ज्वालामुखी विष्फोटन जस्ता समस्याहरुले निकै सताउने नै गर्दछ। जापान विश्वमै अत्याधिक प्राकृतिक विपत्तीहरु सामना गर्ने अग्रणी मुलुक हो ।

भुकम्पै भुकम्पः

जापान जति सु्न्दर छ त्यति नै धराप पनि मानिन्छ। यसको कारण हो दिनहुँ जस्तै आइरहने भुकम्पका झड्का। जापानमा प्रति वर्ष १५ सय भन्दा बढि भुकम्प जान्छन्।
स-सान देखी ठुलठूला भुकम्पले जापानलाई सधै हल्लाउने गरेको छ। जापान संसारभरिमै धेरै भुकम्पिय जोखिम भएको ठाउँमा पर्छ। जापान ठुला चार टेक्टोनिक प्लेटमा पर्छ। जब ती प्लेट सर्छन, जापानमा भुकम्प जान्छ।

सन २०११ मा तीनै टेक्टोनिक प्लेटहरुमा ठुलो हलचल पैदा भयो र जापानको इतिहासकै ठुलो भुकम्प गयो। रेक्टर स्केलमा ९ मापन गरिएको तोहुको भुकम्पमा २९ हजारले ज्यान गुमाए।
तर भुकम्पबाट भएको मानविय क्षतिका हिसावले भने यो सबै भन्दा ठुलो थिएन। सन १९२३ मा जापानमा गएको भुकम्पमा १ लाख ४२ हजार मानिस मारिएका थिए। त्यतिखेरको भुकम्प रेक्टर स्केलका हिसावले ७.९ मात्र थियो।

सुनामीः

जापानमा विभिन्न प्राकृतिक समस्याहरुमध्ये सुनामी पनि प्रमुख मानिन्छ। विशेषगरी समुन्द्री किनारा नजिक भएका वस्तिहरुको लागि यो एकदमै उच्च जोखिम रहेको हुन्छ। बेलाबेलामा सुनामीको कारण (सामुन्द्रीक छाल ) जापानमा कैयौँ मानिसहरुको ज्यान जाने पनि गर्द्छ।

ताईफु( आधीँबेहरी)

चारैतिर समुन्द्रको घेरेको देश जापानमा ताइफू आउने कुरा नौलो होइन, प्रत्येक वर्ष अनगिन्ती मात्रामा आउने ताइफुको असर हरेक क्षेत्रमा पर्ने गरेको पाइन्छ । विशेषगरी अत्याधिक वर्षा सङ्गै अनियन्त्रित रुपमा हावाको वेग सङ्गै ताइफु आउने गर्दछ। केहि दिन अघि मात्र आएको ताइफुको असरले गर्दा जापानका कैयौँ क्षेत्रमा विभिन्न सेवाहरु प्रभावित भएका थिए भने माननीय वस्तिहरु पनि जोखिममा देखिएको थियो।

यसरी प्रकृतिबाट बारम्बार ठगिएतापनि जापान आफैँमा एक सुन्दर , शान्त र सफा देशको रुपमा प्रसिद्द रहेको छ। जापानमा धेरै जसो संरचनाहरु निर्माण गर्दा प्रकृतिको विपत्ति सङ्ग सामना गर्न सक्ने खालका संरचना निर्माण गरिएका छन। जस्तै भुकम्प प्रतिरोधात्मक घरहरु । जापानमा आउन सक्ने प्राकृतिक विपत्ति जस्तै भुकम्प, सुनामी, ताइफु , भारी वर्षा सम्बन्धि मौसम विज्ञान विदहरुबाट पुर्व अनुमान गरि यहाँका नागरिकरुलाई सुरक्षित स्थान तर्फ स्थानान्तर गरि सतर्कता अपनाउन सरकार लागि परेको देखिन्छ।

जापान आफैँमा प्रविधि क्षेत्र लगाएत विधुतीय सामाग्रीहरुको उत्पादनमा पनि अब्बल मानिन्छ जसले गर्दा विश्वका विभिन्न देशहरुमा जापानबाट उत्पादन तथा निर्माण गरिएका सामानहरुको प्रयोग तथ बढ्दो लोकप्रियता भएको पाइन्छ। वातावरणीय पर्यावरणमा विश्वकै पहिलो राष्ट्रको रुपमा जापानलाई चिनिन्छ।यहाँको भौगोलिक विकाश सँगै वातावरण सन्तुलनमा पनि उत्तिकै चासो दिएको देखिन्छ। सडक विस्तार देखि विभिन्न संरचनाहरुको निर्माण गर्दा पनि दीर्घकालिन रुपमा असर नपर्ने गरी निर्माण भएको देख्न सकिन्छ।हरेक शहरको विभिन्न स्थानहरुमा पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण देखि मनोरञ्जनको लागि पार्क तथा रमणीय क्षेत्रहरुको विकाश पनि उस्तै भएको देख्न सकिन्छ। त्यसैले गर्दा पनि जापान भौगोलिक क्षेत्रको विकाश देखी यहाँको हरेक क्षेत्रको व्यवस्थित सिस्टम तथा नियम र नागरिकहरुको इमानदारीता र मिहिनेतले गर्दा साथै सरकारको जनताप्रतिको उत्तरदायित्वले गर्दा पनि जापान विकाशको हिसाबले विश्वमै उदारणीय देशको रुपमा चिनिन्छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार