जापान । देशमा आर्थिक तथा राजनीतिक अस्थिरताले गर्दा आम  युवाहरुको लागि वैदेशिक यात्रा परिवारको सपना साकार पार्ने प्रमुख गन्तव्य बनेको छ।केहि नेपाली दाजुभाई तथा दिदिबहिनीहरु फरक उद्देश्यका  साथ विदेशको यात्रा तय गरेपनि धेरै जसोको बाध्यता भने उहीँ नै रहेको देखिन्छ।

हाम्रा महानचाडपर्वहरु भित्रिदै गर्दा कैयौँ परिवारमा आर्थिक अभावकै कारण केहि ऋण खोजेर भएपनि गुजारा चलाउनु पर्ने  अधिकांशको बाध्यता रहेको हुन्छ। हाम्रो समाजमा हरेक परिवारमा हेर्ने हो भए वैदेशिक भुमिमा नगएको सदस्य परिवार  विरलै भेटिने गर्दछ। देशको उच्च शिक्षाको शैक्षिक प्रमाण पत्र प्राप्त गरेपनि विभिन खाडी मुलुकमा सस्तो मुल्यमा पसिना बगाउन बाध्य हुनुपर्ने आमयुवाहरुको बाध्यता रहेको छ।

भुकम्प को तहसनस अनि भारतले नेपाल प्रति गरेको नाकाबन्दीको कारण देशको कमजोर आर्थिक अवस्थाले मलाई पनि वैदेशिक भुमिको  यात्रा तय गर्ने मनस्थिति बनायो र आजभन्दा करिब ८ वर्ष अघि जापान प्रवेश गरियो । त्यतिबेला देखि नै दशैँ तिहारमा टिका लगाउन त टाढाको कुरा नै रह्यो बिदा सम्म पनि लिने मौका मिलेको छैन यो मेरो मात्र नभएर तमाम नेपालीहरुको यस्तै समस्या रहेको हुन सक्छ।

जब महान चाडवर्वहरु नजिक  आउछन सङ्गै   परिवार , आफन्त अनि बाल्यकालका साथिहरुको याद पनि निकै आउने गर्छ र  आफुलाई पनि  जाउँ जाउँ जस्तो भान हुन्छ तर परदेशीहरुको आफ्नै बाध्यता हुदोँ रहेछ।बिहान उठेर काम गयो साझ्ँ घर परिवार सँग भिडियो कलमा कुरा गर्नु बाहेक अरु केहि विकल्प नहुँदो रहेछ तर यसैमा नै आफुलाई खुशि बनाउनु पर्दो रहेछ।

परदेशीहरुलाई न  कहिल्यै पैसाले पुग्ने! न कहिल्यै चाड पर्व आउने न कहिल्यै आफ्नो सपना पुरा हुने परिवारको खुशिको लागि हिड्दा हिड्दै कति बेला जिवनको पाइलामा ठेस लाग्छ भन्ने कुरा नै पत्तो नहुदो रहेछ। केहि २/४ पैसा जम्मा गरेर स्वदेश फर्किने सपना बोकेर मुग्लान पसेका केहि नेपालीहरुको सपना सपनामै सिमित रहने गरेको पनि देखिन्छ।

वैदेशिक यात्रा हामीले सोचेजति सजिलो पनि छैन आफ्नो क्षमता अनुसार धेरै अवसरहरु हुदाँहुदैँ पनि केहि चुनौतीहरु पनि रहेका छन। धेरै जसो व्यक्तिहरु पैसाले सम्पन्न भएपनि सन्तुष्टि भएको पाइदैँन घरमा बुवाआमा बिरामी हुदाँ अस्पताल सम्म लिएर जान बाहिरी ब्यक्ति  खोज्नुपर्ने अवस्था हुन्छ।

लाखौं युवा घरमा बुढाबुढी भएका बुवाआमा श्रीमती र कलिला बालबच्चाहरूको लागि महल बनाउने आसमा सानो झुपडीमा छाडेर परदेशी भूमिमा पसिना बगाउन पुगिरहेका छन्। काठमाडौंको त्रिभुवन विमानस्थल र भारतीय सीमा क्षेत्रमा देश र परिवारसँगको विछोडमा आँसुको धारा बगाउँदै सुक्कसुक्क रुँदै परदेशी बनेका युवाहरूको पीडा देख्दा जो कोही देशभक्त नागरिकको हृदय धुजाधुजा बनेर चिरिन्छ।

आँखामा पीडा, वेदनाका आँसु छचल्किन्छन्। “ जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”   देश बनाउने जिम्मेवारी बोकेको काँधले परिवारको सपना पुरा गर्न आखाँ बाट गहभरी आशु बगाउँदै विदेशिभुमिमा  जान बाध्य हुनुपर्ने हामी नेपालीहरुको बाध्यता रहेको छ। हरेक नेपालीहरुमा राष्ट्रप्रति मातृत्व भाव हुँदाहुँदै पनि बेरोजगारीको समस्याले देश छोड्न बाध्य बनाईदिएको छ।

त्यसैले  प्राण भन्दा प्यारो मानिने जन्मभूमिको जति बयान गरे पनि आफैमा अपुरो हुन्छ।    वैदेशिक भुमिको एउटा कोठाको भित्तामा देशको झण्डा, नक्सा अनि ढाका टोपि सजाएर आफ्नो राष्ट्र प्रतिको भाव दर्साउनु परेको छ।बेला बेलामा अकस्मात घटेका मृत्युका समाचारहरु सुन्दा त मन पुरै भावविह्वल नै हुने गर्दछ। परिवारको सपना साकार सङ्गै खुशिको लागि हिड्दा हिड्दै अस्ताएका ति  आत्माहरु पक्कै पनि परिवारको जिम्मेवारबाट भाग्दैन होला जस्तो भान हुन्छ।

देशमा उच्च शिक्षाको अध्ययन सकेर सर्टीफिकेटलाई अर्थहिन कागजि पानाको रुपमा स्विकार गर्दै खाडी मुलुकमा जानुपर्ने युवाको बाध्यताले साच्चै देशको शिक्षा प्रणालीलाई नै खिल्लि उडाइरहेको छ। सरकारले विभिन्न देशहरुमा रहेका युवाहरुलाई स्वदेशमै लगानि गरेर आत्मनिर्भर हुने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेको छ।

विदेशि भुमिमा रहेका युवाहरुलाई आफ्नै देशमा आएर आफुले जुन क्षेत्रबाट शिक्षा तथा सीप हासिल गरेको छ सो लाई आफ्नै देशमा आएर कर्म थलो तथा लगानीको क्षेत्रमा काम गर्न पाउने वातावरण बनाइदिनु पर्ने सरकारको दायित्व पनि हो।

जसरी विदेश पलाएन हुने युवाहरुको लहर बढिरहेको छ जसले देशलाई आवश्यक पर्ने दक्ष जनशक्तिको मागलाई शुन्यतामा लिएर जाँदैछ। त्यसैले सरकार तथा विज्ञहरुले यस विषयमा छिटो भन्दा छिटो केहि नयाँ  नीतिहरु ल्याएर विदेशि भुमिमा जाने त्यो  जनशक्तिलाई आफ्नै देशमा रोक्नुपर्ने आवश्यक रहेको छ।

कहिलेकाहीँ सोच्न पनि मन लाग्छ यि चाडपर्वहरु आउनु भन्दा नआएकै राम्रो।नेपाल जान खोज्यो कहिले बिदा मिल्दैन, कहिले आर्थिक अवस्था मजबुत हुदैन खाली मनलाई फुरुङ्ग बनाउँछ नेपाल जाने सपना देखाईदिन्छ अनि यो मन झसङ्ग बनाईदिन्छ तर आफु काम गयो आयो चाडपर्व सङ्गै परिवार ,आफन्त साथिभाई सम्झिएर बस्यो यसैगरी मनाइन्छ बिदेशि भुमिमा चाडपर्व।

मोहन कुवर सत्यवती -२, गुल्मी (हाल जापान ओसाका)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार