काठमाडौं । मेचीनगर नगरपालिका–७ की सीता खड्काले सम्बन्धविच्छेद भइसकेका पतिको मृत्यु संस्कार (काजकिरिया) गरेर पतिपत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिएकी छिन् ।

सीताका पूर्वपति भानुभक्त बस्नेतको ४८ वर्षको उमेरमा वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृत्यु भएको थियो । असोज २९ गते बस्नेतको शव मेचीनगर–१४ दुहागढीस्थित साहिँला भाइको घरमा आइपुगेको थियो । सोही दिन कनकाई आर्यघाटमा उनको दाहसंस्कार भयो ।

पूर्वपतिलाई अन्तिम श्रद्धाञ्जली दिन सीता १६ वर्षीया छोरी जेनिशा र ७ वर्षीय छोरा प्रतिशलाई साथमा लिएर आर्यघाट गइन् । त्यसपछि उनी छोराछोरीसँगै मेचीनगर–७ इट्टाँभट्टास्थित आफ्नै निवासमा १३ दिने काजकिरिया बसिन् ।

दुई दिनअघि १३ दिने काजकिरिया पूरा गरेकी खड्काले कागजी सम्बन्धविच्छेदले पतिप्रतिको माया र श्रद्धा नघटेको बताइन् । उनले आफू छुट्टिने पक्षमा कहिल्यै नरहेको तर पतिकै बलमा सम्बन्धविच्छेदको कागजमा सहीछाप गरेको बताइन् ।

‘मेरो मनभित्र श्रीमानप्रति पहिले जत्तिकै आस्था, श्रद्धा र माया थियो,’ उनले भनिन् । एक वर्षअघि सम्बन्ध विच्छेद गरेपश्चात बस्नेतले दोस्रो विवाह गरेका थिए । तर दोस्री पत्नीले केही महिनामै उनलाई छाडेर हिँडेकी थिइन् ।

‘मदिराको कुलतमा लागेर उहाँले मलाई कुटपिट गर्नुहुन्थ्यो । तैपनि म कहिल्यै सम्बन्धविच्छेदको पक्षमा थिइन,’ खड्काले भनिन्, ‘कान्छीले पनि केही महिनामै छाडेर हिँडेपछि उहाँ मेरो माइती घरमा बारम्बार आइरहनुहुन्थ्यो । मैले उहाँलाई सुध्रिएर आउनुहोस्, सँगै बसौँला भनेको थिएँ ।’ यसैबीच वैदेशिक रोजगारीका लागि बस्नेत दुबई गएका थिए ।

असोज ८ गते उनले आत्महत्या गरेको खबर आएको थियो । पूर्वपति बस्नेतको मृत्यु भएपछि खड्काले आफूले पालनपोषण गर्दै आएका छोराछोरीसँगै पतिकै घरमा बसेर काजकिरिया बार्ने सोच बनाए पनि देवर, देउरानी र नन्दहरूले नदिएको बताइन् । ‘झगडा हुने भएपछि आफन्तको सल्लाहबमोजिम म, छोरा र छोरीले अलग्गै किरिया बार्यौँ, साइला देवरले अलग्गै बार्नुभयो,’ उनले भनिन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार