टोकियो/जापान।फेशन डिजाइनर रोजिना मल्लले यहि डिसेम्बर २३ तारिखका दिन टोकियोमा एकल ‘फेशन शो’ कार्यक्रम गर्ने भएकी छिन् । जापानमै रहेर फेशन डिजाइन पेशालाई आफ्नो करियरका रुपमा अगाडि बढाउदै आएकी मल्लले एकल प्रयासमा टोकियोमा ‘फेशन शो’ गर्न लागेकी हुन् ।

टोकियो आओयामा ओमोतेसान्दोस्थित एक होटलको प्रेक्ष्यालयमा हुन गईरहेको उक्त फेशन शो कार्यक्रमको लगभग तैयारी पूरा भएको उनले बताईन् । भाषा विद्यार्थीकारुपमा सन् २०१४ मा जापान आएकी मल्ल २ वर्षको भाषा कोर्स पश्चात फेशन डिजाइनमा ४ वर्षे कोर्स पूरा गरी विगत २ वर्षदेखि एउटा जापानी कम्पनीमा फेशन डिजाइनरकारुपमा कार्यरत छिन् ।

आफुभित्र अन्तर्निहित कला, सीप र मनोबललाई प्रतिस्पर्धात्मक फेशन बजारमा उजागर गर्न यसप्रकारका ‘फेशन शो’ कार्यक्रमहरु सहायकसिद्ध हुने भएकोले विश्वब्यापी प्रचलन अनुसार आफुले उक्त कार्यक्रमको आयोजना गरेको नेपालन्युजपोस्टसंग बताईन् । उनका अनुसार आर्थिकरुपमा यसप्रकारको कार्यक्रम निकै खर्चिलो मानिन्छ ।

नेपालीहरुद्वारा यसअघि जापानमा यसप्रकारको कार्यक्रम त्यति भएको पाईदैन । बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक र बहुधार्मिक जस्ता विविधतायुक्त विशेषताले भरिएको नेपालको मौलिक पोशाक एवं पहिरनलाई जापानको फेशन बजारमा प्रवर्धन गर्दै नेपाललाई चिनाउने र देशको पर्यटन तथा अर्थतन्त्रमा टेवा पुर्‍याउने उद्देश्यले उक्त ‘फेशन शो’ कार्यक्रमको आयोजना गरिएको मल्ल बताउँछिन् ।

भविष्यमा अन्य मुलुकहरुमा पनि यसप्रकारको ‘फेशन शो’ कार्यक्रम आयोजना गर्ने आफ्नो योजना रहेको उनले सुनाईन् । बिश्वको प्रतिस्पर्धात्मक फेशन बजारमा आफुलाई खरोरुपमा उतार्न र स्थापित हुनका लागि आफ्ना सीप, सिर्जना र प्रोफाइल सार्बजनिकरण समारोहकारुपमा ‘फेशन शो’ कार्यक्रमलाई लिने गरिन्छ ।

सोहीअनुरुप मल्लले बिश्वकै अति महंगो सहर मानिने टोकियोमा आफ्नो प्रोफेशनको ‘डेब्यु’ गर्दैछिन् । देशकै कला, सँस्कृति र पहिचानसंग जोडिएको उक्त कार्यक्रममा उपस्थित भई हौसला बढाईदिन उनले जापानबासी नेपालीहरुमा अनुरोध गरेकी छिन् । कार्यक्रम उक्त दिनको सांझ १७:३० बजेबाट २०:०० बजेसम्म हुने बताईएको छ ।

‘फेशन शो’ लगत्तै डिनर कार्यक्रम पनि रहेको मल्ल बताउंछिन्। थुप्रै चुनौतीहरुको सामना गर्दै ठूलो आँट र साहस बटुलेर यति खर्चिलो कार्यक्रम आयोजना गरिएको बताउँदै मल्लले उक्त कार्यक्रम सफल पार्न टोकियोस्थित नेपाली राजदूतावास, नेपाल वायु सेवा निगम लगायत जापानका अन्य संघसंस्थाहरुको साथ, सहयोग र सहकार्य रहेको उनले बताईन्।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार