काठमाडौँ । राजधानीको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा डेरा गरी बस्दै आएका रामेछापका ४२ वर्षीय किशोर भण्डारीले आफ्नो श्रीमतीलाई आफन्तकहाँ पठाएर आफ्नै ७ वर्षीया छोरीको हत्या र आँफैले आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार भण्डारीको श्रीमती र ६ महिने छोरा पनि रहेका छन् । उनीहरुलाई भण्डारीले शनिबार बिहानै आफन्तको घरमा पठाएका थिए । ‘उनले घटनाको उद्देश्यअनुसार साथ श्रीमतीलाई छोरासहित पेप्सिकोलास्थित आफन्तकहाँ पठाएको देखिन्छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । कोठाभित्रै उनले पहिला छोरीको हत्या गरेर पछि आफूले पासो लगाएर आत्महत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार श्रीमती बेलुका पेप्सिकोलाबाट फर्किँदा भित्रबाट कोठाको ढोका लगाइएको थियो । लामो समयसम्म ढोका ढकढक गर्दा पनि नखुलेपछि छिमेकीसहितको सहयोगमा खोलेर हेर्दा भित्र हृदयविदारक दृश्य फेला परेको थियो । लगत्तै प्रहरीकहाँ खबर पुगेपछि बृत्त बानेश्वरबाट टोली पुगेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानबाट भण्डारीले छोरीको हत्यापछि आत्महत्या गरेको देखिएको बताए । उनले गोंगबुमा फार्मेसी सञ्चालन गर्दै आएका थिए भने साथसाथै कस्मेटिकको व्यवसायमा पनि संलग्न थिए । घटनामा बाहिरी व्यक्तिको संलग्नता नदेखिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार घटनास्थलबाट भण्डारीको १ पन्ने सुसाइड नोट पनि फेला परेको छ । उक्त नोटमा छोरीको विषयमा चिन्ता प्रकट गर्नुका साथै उनलाई केही गर्न नसकेको, ऋणलगायतको घरासयी व्यवहार जस्ता विषय उल्लेख गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार