काठमाडौं । फरवार्ड सावित्रा भण्डारी ‘साम्वा’ ले खेलको अन्त्यतिर दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले घरेलु टोली भारतसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ ।

नेपालले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर भारतसँग २–२ गोलको बराबरी खेलेको हो । भारतकी सौम्य गुगुलोथ र इन्दुमाथी कथिरेसनले गोल गर्दा नेपालको लागि दुवै गोल सावित्राले गरिन् ।

भारतको चेन्नईस्थित जवहर नेहरू स्टेडियममा बुधबार राति भएको खेलको पहिलो हाफमा नेपालले बलियो पकड जमाएपनि गोल गर्न सकेको थिएन् । दोस्रो हाफको शुरुमा भारतले आफ्नो लय समाप्दै गोल गर्न सफल भयो । ५६औं मिनेटमा परिवर्तित खेलाडी सौम्यले गोल गर्दै भारतलाई १–० को अग्रता दिलाइन् । परिवर्तित खेलाडी मनिषाले अमिशा कार्कीलाई बिट गर्दै गरेको क्रसलाई सौम्यले जाली चुमाइन् ।

६८औं मिनेटमा कप्तान इन्दुमाथी कथिरेसनले गोल गर्दै भारतको अग्रता दोब्बर पारिन् । कार्थिका एंगामुथुको क्रसलाई नियन्त्रणमा लिदै इन्दुमाथीले अमृता जैशी र गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बालाई बिट गर्दै गोल गर्न सफल भइन् । ९०औं मिनेटमा सावित्रा भण्डारी ‘साम्वा’ ले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याउदै नेपाललाई खेलमा फर्कने संकेत दिए । विमला विकको क्रसलाई स्वीटि देवीले पेनाल्टी बक्समा ह्यान्ड गर्न पुगेपछि रेफ्रीले नेपाललाई पेनाल्टी प्रदान गर्दा सावित्रा चुकिनन् ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सावित्राले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै नेपाललाई हारबाट जोगाइन् । प्रिती राई हुँदै सरु लिम्बुले दिएको पासलाई नियन्त्रणमा लिदै दुई डिफेन्डरलाई बिट गर्दै गोल गर्न सफल भइन् । अब दोस्रो मैत्रीपूर्ण खेल सोही मैदानमा शनिबार हुनेछ । नेपाल र भारत दुवै टोली महिला ओलम्पिक क्वालिफायरको पहिलो राउन्ड खेल्ने तयारीमा छ ।

नेपाल महिला ओलम्पिक क्वालिफायरको पहिलो राउन्डमा समूह ‘सी’ मा रहेको छ । नेपाल रहेको समूहमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको छ ।
भारत तुर्केेमिनिस्तान र किर्गिस्तान रहेको समूह ‘जी’ मा रहेको छ । पहिलो राउन्डका खेलहरु अप्रिलमा हुँदैछ ।

नेपाल र भारत गत भदौंपछि एक आपसमा प्रतिस्पर्धामा उत्रिएको हो । नेपालमा भएको साफ च्याम्पियनसिपमा भारतलाई १–० ले पराजित गर्दै नेपाल फाइनलमा पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार