काठमाडौं । बंगलादेशको ढाकामा सोमबारदेखि शुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाली युवा टोली बलियो भारतसँग ४–१ ले पराजित भएको छ ।

बिएसएसएस मोस्ताफा कमल स्टेडियममा भारतको जितमा शिलजी शाहजीले ह्याट्रिक तथा पुजाले एक गोल गरिन् । नेपालकी वर्षा ओलीले एक गोल फर्काइन् । १०औं मिनेटमा शिलजी शाहजीले गोल गर्दै भारतलाई १–० को अग्रता दिलाइन् ।

४०औं मिनेटमा शिलजीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै भारतको अग्रता दोब्बर पारिन् । ४१औं मिनेटमा पुजाले गोल गर्दै भारतलाई पहिलो हाफमा ३–० को अग्रता दिलाइन् । ५४औं मिनेटमा वर्षा ओलीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याइन् ।

८१औं मिनेटमा शिलजीले ह्याट्रिक पूरा गर्दै भारतलाई सहज जित दिलाइन् । मैदानको मध्यभागबाट बल अघि बढाउँदै दुई डिफेन्डरलाई बिट गर्दै वान भर्सेस वानको अवस्थामा उनले सहजै गोल गर्न सफल भइन् ।

यस जितसँगै भारतले ३ अंक बटुलेको छ । नेपाल अंक विहीन बनेको छ । यू–१७ च्याम्पियनसिपमा नेपाल, बंगलादेश, भुटान, भारत र रुसको सहभागिता रहेको छ । नेपालले मार्च २२ मा भुटान, २६ मार्चमा रसिया र २८ मार्चमा आयोजक बंगलादेशसँग खेल्नेछ । सिंगल राउण्ड रोबिनपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार