काठमाडौं । कीर्तिमानै कीर्तिमान बनेको एसीसी प्रिमियर कपको खेलमा नेपालले ओमानमाथि ८४ रनको सानदार जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

शुक्रबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अहिलेसम्मकै उच्च ३ सय १० रनको योगफल खडा गर्यो । कुशल मल्लले सानदार शतक, अनि सोमपाल कामीले अर्धशतक बनाएपछि ओडीआई (एकदिवसीय अन्तर्राष्ट्रिय) मा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनायो । यसअघि मार्चमा भएको लिग टूमा पपुवा न्युगिनीविरुद्ध २ सय ९७ रन बनाएको थियो ।

५०औं ओडीआईमा नेपालको सुरुवात निकै खराब थियो । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल शून्यमा आउट हुँदा नेपालले खाता नै खोल्न सकेको थिएन । कुशल भुर्तेललाई तेस्रो ओभरमा बिलाल खानले एलबीडब्लु धरापमा पारे भने आसिफलाई कलिमुल्लाहले चौथो ओभरमा बोल्ड गरे ।

पहिलो चार ओभरमा कुनै रन जोड्न नसकेको नेपालले २८औं बलमा बल्ल रनको खाता खोलेको थियो । तर ०–२ को अवस्थाबाट ३ सय १०–८ मा इनिङ सकायो, जुन आफैंमा रेकर्ड हो । यसक्रममा कुशल मल्लले करियरको पहिलो शतक बनाए ।

त्यसअघि भीम सार्की र कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय (५४) रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। १८औं ओभरमा रोहित २३ रन बनाएर आउट भए ।

भीम पनि २०औं ओभरमा ३३ रनमा पेभेलियन फर्किए । ७२–४ को अवस्थामा क्रिजमा पुगेका कुशलले आरिफ शेखसँग मिलेर इनिङ्स सम्हाले । दुवैले पाँचौं विकेटका लागि ७५ रनको साझेदारी गरे । आरिफले २९ रन बनाएर आउट भए ।

१९ वर्षीय कुशलले ५९ बलमा ९ चौका र ९ छक्काको बलमा १ सय रन पूरा गरेका उनी नेपालका लागि सबभन्दा छिटो ओडीआई शतक प्रहार गर्ने क्रिकेटर बने । साथै ओडीआईमा नेपालका लागि शतक प्रहार गर्ने छैटौं खेलाडी बने । उनीभन्दा पहिले पूर्वकप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेखले शतक बनाएका थिए ।

२०२० मा लिग टु अन्तर्गत कीर्तिपुरमै अमेरिकाविरुद्ध डेब्यु गरेका कुशल मल्ल ओडीआईमा सर्वाधिक रन बनाउने सातौं नेपाली क्रिकेटर पनि हुन् । थप ८ रन जोडेर उनी आउट भए, जतिबेला नेपालको स्कोर २ सय २१ रन थियो ।

त्यसपछि सोमपालले आक्रामक पारी खेले । सोमपाल र करण केसीले नवौं विकेटका लागि अविजित ६१ रनको साझेदारी गरेपछि नेपालले कीर्तिमान स्कोर बनायो । सोमपालले ६३ र करण २९ रन अविजित रहे । ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए ।

३ सय ११ रनको विशाल लक्ष्य पछ्याएको ओमान ४६ ओभर ३ बलमा २ सय ६६ रनमा समेटियो । ओमानलाई सस्तैमा आउट गर्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले दुर्लभ कीर्तिमान बनाए १३औं ओभरको तेस्रो बलमा ओमानका आदिल शफिकलाई एलबीडब्लू धरापमा पार्दै उनले ४२ खेलमै १ सय विकेट लिने कीर्तिमान बनाएका हुन् ।

यसअघि अफगानिस्तानका रासिद खानले ४४ खेलमा १ सय विकेटको रेकर्ड बनाएका थिए । सन्दीपले ओमान विरुद्ध ३ विकेट लिए । ओमानका मोहम्मद नदिमले सर्वाधिक ६५ रन बनाए । ९९ रनमा ५ विकेट गुमाएको ओमानका लागि नदिमले सन्दिप गूडसँग ९६ रनको साझेदारी गरेका थिए । अर्धशतकबाट ४ रनले चुकेका गुडले ४६ रन बनाए । आयान खानले २९ र कश्यप प्रजापतिले २५ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ८ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । करण केसीले ८।३ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले ७ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीले ९ ओभरमा १ मेडन राख्दै २२ रन मात्र खर्चेर १ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार