केहिदिन अघि जापानमा क्रियाशिल नेपाली समुदायका संघ/संस्थाहरुको सुची हेर्दै जाँदा थाह भयो कि,औपचारिकरुपमा सम्बोधन गर्न सकिने(कार्यसमिती सहित गठन भएका)संस्थाहरुको संख्या ७६ वटा रहेछन् । अझ समूहका रुपमा मात्रै रहेका तथा कुनै समय खुलेर हाल निष्कृय अवस्थामा पुगेकाहरु समेतलाई जोडियो भने त,लगभग १ सय वटा जतिनै पुग्ने देखियो ।

ओहो ! हामी नेपालीहरु कति सक्रिय ! यी संस्थाहरुसंग आवद्ध, पदाधिकारीहरुको संख्या प्रति संघ/संस्थाहरु २० जनाको दरले मात्रै हिसाब गर्यौँ भने पनि १ हजार ५ सय २० (७६ वटा संस्थामा प्रत्येकमा २० जना पदाधिकारी रहेको मान्दा) जना हुनेरहेछन् । अहिले जापानमा रहेका नेपालीहरुको जनसंख्या १ लाख ३९ हजार ३ सय ९३ (सन २०२२ को तथ्यांक अनुसार,नयाँ तथ्यांक आईसकेको छैन)रहेका छन्।यसरी हेर्दा जापानमा कम्तिमा १५ सय जना भन्दा बढि त समाजसेवी/समुदाय सुधारकहरुको संख्या नै रहेछ।

तपाईलाई लाग्न सक्छ,कि यति धेरै संघ/संस्था अनि सुधारकहरु भएपछि जापानका नेपाली समुदाय निकै राम्रो गतिमा अगाडि बढेको होला । समस्याहरु त देखियो कि ठाउँको ठाउँ समाधान हुन्छन् होला। अप्ठ्यारो,गाह्रो ,साह्रो कसैलाई पटक्कै पर्दैन होला ! हो,जापान बसाईका केहि समय म पनि यस्तै सोच्थेँ । तर यहाँको अवस्था ठ्याक्कै विपरित छ।नेपालीमा एउटा उखान छ नि,-“घरमा धेरै बिरालाहरु भए भने मुसा मार्दैनन्” हो यो उखान यहाँ ठ्याक्कै चरितार्थ भइरहेको छ।

के जापानमा क्रियाशिल नेपाली संघसंस्थाहरुले केहि कामनै नगरेका हुन् त ?

संघ/संस्थाहरुको संख्या त माथि नै उल्लेख गरिसकेँ।अब चर्चा गरौँ कि नेपाली समुदायका हितका निम्ति भन्दै खुलेका यति धेरै संघ/संस्थाहरु हुँदा पनि परिणाम चाहीँ किन शुन्य बराबर छ त ?के जापानमा क्रियाशिल नेपाली संघसंस्थाहरुले केहि कामनै नगरेका हुन् त ? के जापानमा नेपाली समुदायका कुनै पनि संघ/संस्थाहरुको आवश्यकतानै छैन त ? त्यस्तो पनि होईन,जापानमा संगठित भएका सबै जसो संस्थाहरु सक्रिय छन्,कार्यसमिति छ,सदस्यहरु छन् ,हरेक २/२ वर्षमा अधिवेशनहरु गरिरहेका छन्।हरेक विदाका दिन कहीँ न केहि केहि न केहि कार्यक्रमहरु आयोजना गरिनै रहेका हुन्छन् । सबैलाई संधै कार्यक्रमहरुमा सहभागिता जनाउन हम्मे हम्मे परिरहेको हुन्छ।नेपालबाट ल्याएक चलचित्रहरु प्रदर्शन,चर्चित र लोकप्रिय कलाकारहरुसंगको कार्यक्रमहरु उत्तिकै भ्याई नभ्याई हुन्छ।त्यति मात्रै होईन बार्बेक्यु देखि सम्पूर्ण नेपाली चाडपर्वहरु कुनै छुट्दैनन् । कहाँ त्यतिमात्रै हो र ?नेपाल चिनाउने फेस्टिवलहरु नै २/३ वटा हुन थालिसकेका छन् । अब तपाई नै भन्नुस यि संघ/संस्थाहरु नभए यति धेरै विविधता सहितको कार्यक्रमहरु सम्भव हुन्थ्यो त ?अवश्य हुँदैन थिए। त्यसैले संघसंस्थाहरुको आवश्यकतालाई नकार्न सकिदैन।

जापानमा खुलेका यि संघ संस्थाहरुले हाल गरिरहेका कामहरुले साँच्चै नै प्रवासी नेपालीहरुको समस्याहरु सम्बोधन गर्न तथा उनिहरुको जापान बसाईलाई सहज बनाउन मद्दत गरेको छ त ? यो विगत केहि वर्षयता अत्यन्तै जोडतोडका साथै उठ्दै आएको सवाल हो । जापानमा संघसंस्थाहरु धेरै छन् तर ति संस्थाहरु के का लागि खुलेका हुन् भन्ने चाहीँ प्रस्ट देखिदैनन् ।यसो भन्दै गर्दा केहि केहि संस्थाहरुले देखिने गरि नेपाली समुदाय तथा ति संस्थाको दायरभित्र पर्ने क्षेत्रमा पुर्याएको योगदानलाई नदर अन्दाज भने गर्न मिल्दैन। केहि राम्रा छवी बनाएका संघसंस्थाहरुको चर्चा केहि क्षणमा गर्नेछु।

किन खुलिरहेका छन त जापानमा यतिधेरै संघसंस्थाहरु ?

यस प्रश्नको उत्तर,ति संस्थाका विधानमा लेखिएका उदेश्यहरुलाई आत्मसात गरेर भन्ने हो भने,सम्बद्ध समुदाय,जिल्ला,क्षेत्र या भेगबाट विभिन्न पेशा व्यवसाय तथा अध्ययनको शिलशिलामा जापान आईपुगेका नेपालीहरुको भैपरि आउने समस्याहरुलाई समूहिकरुपमा सम्बोधन गर्न,आफु जन्मे/हुर्केको जिल्ला,क्षेत्र,भेग या समुदायको हितका लागि काम गर्न र प्रवासमा घरदेशको जस्तै जिउँदाको जन्ति र मर्दाको मलामीको साथ निर्वाह गर्न खोलिएका हुन भन्न सकिन्छ। तर व्यवहारमा हेर्ने हो, भने, नेपालदेखि लागेको पद मोह र सामाजिक पहिचानको भोक मेटाउन खुलिरहेका हुन जस्तो देखिन्छ।

के गर्छन् त ति संघसंस्थाहरुले ?

हालसम्म केहि अपवादलाई छाडेर हेर्ने हो भने,सबै जसोले एकले अर्कोको नक्कल गरिरहेका छन् । प्रत्येक वर्ष एउटा साधरण सभा,२/३ वर्षमा अधिवेशन,वर्षमा ८/१० वटा बैठक(भेटघाट,किनकि धेरैलाई त बैठकको मर्म नै थाह हुँदैन),मेलो मेसो मिले र पुँजी र पावर भएका संस्थाहरु भए १/२ वटा नेपाली कलाकारहरु सहितको सांगितिक कार्यक्रम,नेपालबाट आएका २/४ जना नेताहरुको चाकडी,१/२ वटा बार्बेक्यु, कहिले कसो चन्दा उठाएर नेपालका बिरामीहरुलाई २/४ लाख येनको सहयोग अनि कोहि कसैको मृत्यु भएमा दाहसंस्कारका लागि १ मान येनको आर्थिक सहयोग ! यहि हो जापानका ९५ प्रतिशतभन्दा बढि संस्थाहरुले गर्ने साझा कार्यक्रमहरु ।

के गर्नुपर्थ्यो त त्यसो भए ?

मैले माथि उल्लेख गरेका सबै कार्यक्रमहरु गलत हुन भन्न खोजेको अवश्य होईन। तर जापानमा संगठित भएका संस्थाहरुले जापानकै जीवनयापनमा सहजिकरण गर्ने कार्यक्रमहरुलाई पहिलो प्राथमिकतामा राख्नुपर्यो भन्न खोजेको हो। संस्थालाई पदाधिकारीहरु जन्माउने र खादा/माला अनि झपक्क परेको रंगिचंगि व्याच लगाएर गमक्क परेर मञ्च बस्ने र माईकनै फुट्ला जस्तो गरेर बेतुकका भाषणबाजी गर्नुमा मात्रै सिमित नराखी सम्बन्धित क्षेत्रका, समुदायका मानिसहरुले प्रत्यक्ष महशुस गर्ने खालका कार्यक्रमहरु संचालन गर्नुपर्यो । जस्तै जापानमा ९५ प्रतिशत हाराहारीका नेपालीहरुमा जापानी भाषाको समस्या छ । त्यतिनै जसो मानिसहरुमा स्वास्थ्य सम्बन्धि पर्याप्त जानकारी छैन। किनकि,यहाँ सुविधा भएपनि उपयोग गर्न भाषा नभएपछि उपयोगबिहिन बन्दछ। रोजगारीको समस्या त झन विकराल छ। नेपालीले नेपालीलाई नै चर्को शुल्कमा दलाली गरेर मानव संसाधनको किनबेच गर्ने प्रवृत्तिको कहिलै नटुंगिने जालो छ । उच्च महत्वकांक्षा र कठिन वास्तविक भोगाईको चपेटामा कयौँ युवाहरु सुतेको सुत्तै कि त झुण्डिएर,हाम फालेर प्रदेशमै बिलिन हुने क्रम बढिरहेको छ। त्यसैले सकभर यति धेरै संस्थाहरु आवश्यक नै छैन । खुलिसकेका संस्थाहरुले कम्तिमा आफ्ना लक्षित समुदाय तथा सदस्यहरुलाई सशक्तिकरण गराउने कार्यक्रमहरु संचालन गर्नुपर्यो । जस्तै निःशुल्क जापानी भाषा कक्षाहरुको संचालन,जापानको राष्ट्रिय स्वास्थ्य बिमा,जिवन बिमा लगायतका थोरै रकम तिरेर धेरै लाभ लिन सकिने अत्यन्तै महत्वपूर्ण सेवाहरुको जानकारी दिने तथा सहजिकरण गर्ने कार्यक्रमहरुको संचालन,रोजगारीका अवसरहरु खोजी गर्न तथा उपयोग गर्न सहयोग गर्ने सेमिनारहरुको आयोजना गर्ने,जापानमा व्यवसायिक सम्भावनाहरुको बारेमा जानकारी दिने तथा त्यसका लागि सहजिकरण गरिदिने,जापानको ऐन/नियम तथा कानुन र त्यसको पालनाका लागि सचेतनात्मक कार्यक्रमहरुको आयोजना गरी सहभागी गराउने,व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण चलाउने जस्ता सामान्य कार्यक्रमहरुलाई नियमित गराउन सके,यहाँका नेपालीहरुको ८० प्रतिशतभन्दा बढि समस्याहरुको सम्बोधन हुनेछन् ।

केहि राम्रा छवि बनाएका संस्थाहरु

जापानमा पुराना र साँच्चै उदेश्य अनुरुपका काम भइरेहेका केहि संघसंस्थाहरु पनि छन् ।जसले ति संस्थामा आवद्ध भएका या उक्त संस्थाको दायरभित्र पर्ने समुदाय र क्षेत्रमा सकारात्मक परिवर्तन गराई रहेका छन् । त्यस्ता संस्थाहरुमा थकाली सेवा समिति जापान,तमु धीं जापान,नेपाली साझा समाज जापान,कानागावा नेपाली कम्युनिटी,अनेसास जापान,गलकोट समाज समाज,तामाङ् समाज जापान, नेपाली रक्तदाता संघ(Nepalese Blood Donors Association Japan ),नेपाली विद्यार्थी समाज जापान लगायतलाई लिन सकिन्छ। त्यसो त यसका अलवा पनि अन्य संघ/संस्थाहरुले बेला/बखत राम्रा कामको सुरुवात गर्दै आएका छन। तर निरन्तरता खासै छैन जस्तै,एक समय सानो र नयाँ संस्थाकोरुपमा रहेको बाँके बर्दिया मैत्री समाज जापानले निकै सकारात्मक र स्मरणीय कार्यहरु गरेको थियो । तर अहिले सेलाएको अवस्थामा छ।त्यस्तै आज राम्रो काम गरेको भनिएका संस्थाहरु फेरि कुन दिन निष्क्रिय हुनेहुन् त्यसको पनि टुंगो भने छैन ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार