काठमाडौ । अलराउन्डर करण केसीको उत्कृष्ट बलिङ र भीम सार्कीको अर्धशतकीय योगदानमा नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकामाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ ।

यस जितसँगै नेपालको शीर्ष तीनमा रहेर सुपर सिक्समा रहने सम्भावना बलियो बनेको छ । २ सय ८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो ।

नेपालको जितमा भीम सार्की १ सय १४ बलमा ७ चौका र १ छक्कासहित ७७ रनमा तथा दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे ।ब्यक्तिगत ९ रनमा जीवनदान पाएका भीमको यो ओडिआई करिअरको उच्च प्रदर्शन हो । यसअघि उनले लिग २ मा युएईविरुद्ध ७० रनको इनिङ खेलेका थिए ।

ओपनर कुशल भुर्तेल ३९ रनमा आउट भए । अर्का ओपनर आसिफ शेख १२ रनमा पेभेलियन फर्किए । कप्तान रोहित कुमार पौडेल १६ रनमा आउट भए । कुशल मल्लले १३ रन बटुले । अमेरिकाका सौरभ नेत्रवालकर, केन्जिगे, निसर्ग पटेल र स्टिभ टेलरले समान एक विकेट लिए ।

त्यसअघि जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबमा मंगलबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अल आउट भयो । शायन जाहांगिरले ७९ बलमा १० चौका र ३ छक्कासहित १ सय रनको सानदार शतकीय इनिङ खेले ।

उनी बाहेक अन्य कुनैपनि अमेरिकाका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । यो उनको अन्तर्राष्ट्रिय क्रिकेट करिअरको कुनैपनि खेलको पहिलो शतक थियो । सुशान्त मोदानी ४२ रनमा आउट भए । गजानन्द २६ रनमा आउट भए ।

एक समय १८–४ को दयनीय अवस्थामा पुगेको अमेरिकालाई पाँचौं विकेटका लागि सुशान्त मोदानी र गजानन्द सिंहले ७३ बलमा ४७ रनको साझेदारी गर्दै पूनरागमन गराएका थिए । पावर प्लेमा करण केसीले ओपनर स्टिभ टेलरलाई ४ रन, साइतेजा मुकामल्ला शून्यमा आउट गराए । आरोन जोन्स दुई रन र नोष्तुश केन्जिगेलाई एक रनमा आउट भए । निसर्ग पटेलले ८ र जेसी सिंहले १२ रनमा आउट भए ।

करण केसीले ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । गुलशन झाले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ५ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीले १० ओभरमा २० रन खर्चेर १ विकेट लिए ।

सन्दीप लामिछानेले १० ओभरमा ५८ रन खर्चिदा विकेट लिन सकेनन् । सन्दीप पहिलो पटक लगातार दोस्रो ओडिआई खेलमा विकेट विहीन बने । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । नेपालले आफ्नो तेस्रो खेल बिहीबार वेस्ट इन्डिज र अन्तिम खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार