टोकियो/जापान। जिम्मेवार र उत्तरदायी नेतृत्व, संस्थागत सुधारमा प्राथमिकता जापानवासी नेपालीको आवद्धता बृद्धि र सहभागीता भन्ने उद्घघोष सहित एनआरएनए जापानका वर्तमान प्रवक्ता सुवास लामिछानेले एनआरएनए जापानको आगामी कार्यकाल(सन २०२३-२०२५ )का लागि उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

लामिछानेले केहि दिन अघि आफ्नै सामाजिक संजाल मार्फत,आसन्न ११ औं अधिवेशन मार्फत उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । उनले आफ्ना योजना र प्रतिवद्धताहरु समेत सार्वजनिक गरेका छन् ।

१. संस्थालाई प्रविधिमैत्री, जापानभर छरिएर रहेका नेपालीहरुले चाहेको समयमा एनआरएनएमा सम्पर्क र आफ्ना कुरा राख्न सक्नेगरि वेवसाईट, कार्यालय र विभाग गठन गर्न काम गर्नेछु ।

२. जापानमा नेपालीहरुको संख्या झण्डै १ लाख ५० हजार पुगेको अवस्थामा, नेपालीको दैनिक जीवनमा आइपर्ने स्वास्थ्य, भाषागत, रोजगार, अध्ययन, पारिवारिक लगायत विषयलाई सम्वोधन गर्न एनआरएनए जापानले फोकल पर्सन सम्पर्क व्यक्ति तोकेर जतिसक्दो छिटो सम्वोधन गर्न नेतृत्वदायि भूमिका निभाउनेछु ।

३. जापानमा हाल कायम नेपाली मजदुर तथा व्यवसायीहरु बिचमा भएका काम, तलब तथा सेवा सुविधा लगायत समस्याहरु समाधानका लागि सकृयरुपमा पहल गर्नेछु ।

४. जापानमा अध्ययन, रोजगारी, व्यवसाय लगायतका क्षेत्रहरुमा आवद्ध व्यक्तिहरुलाई सेमिनार वा विशेष कार्यक्रम आयोजना गरि विद्यार्थी तथा पढाई सकेर रोजगारीको खोजीमा रहेका नेपाली विद्यार्थीहरुलाई उज्वल भविष्य निर्माणमा सहजीकरण संयोजनकारी भूमिका निभाउनेछु ।

५. संस्थालाई आर्थिक रुपमा सबल, पारदर्शि र सामाजिक क्षेत्रमा योगदान बढाउनको लागि आर्थिक विवरण जो कसैले चाहेको समयमा त्रैमासिक अवधिमा थाहा पाउन सक्नेगरि संस्थाको बेवसाईट, फेसबुक पेज लगायतमा उपलब्ध गराइनेछ ।

६. नेपाल र जापान दुई देश बीचको सु सम्बन्ध तथा सामाजिक भाईचाराको सम्बन्ध अभिवृद्धि गराउँदै समृद्ध नेपाल निर्माणमा संस्थागत भूमिकाको पहल गरिनेछ ।

७. जापान सरकारले जापानमा बसोबास गर्ने बिदेशी नागरिकहरुको लागि उपलब्ध गराएका सेवा, सुबिधा तथा नीतिका बारेमा जानकारी गराउँदै नेपालीहरुले पाउने सुविधाका बारेमा एनआरएन जापान मार्फत समन्वयात्मक भूमिका निर्वाह गर्नेछु ।

८. नेपाली राजदूतावास जापान सहित अन्य संघसंस्थाहरुसँगको सम्बन्धलाई थप सुमधुर बनाउन समन्वयात्मक पहल गरिनेछ ।

९. खेल तथा स्वास्थ्यलाई मध्यनजर गर्दै जापान तथा नेपालमा हुने बिभिन्न खेलकूदका कार्यक्रम तथा खेलाडीहरूलाई प्रोत्साहन र सहयोगलाई बढाइनेछ ।

१०. संस्थागत रुपमा उपाध्यक्षको रुपमा आउने हरेक जिम्मेवारीलाई सम्हाल्दै संस्था र जापानवासी नेपालीको हितका लागि दत्तचित्त भएर अग्रस्थानमा उभिएर काम गर्ने प्रतिबद्धता जनाउँदछु ।

लामिछाने हाल एनआरएनए जापानका प्रवक्ता संगै पर्वत समाज जापानको अध्यक्ष समेत रहेका छन ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार