काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमबार घरेलु टोली म्यानमारसँग १–० ले पराजित भएको छ । म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा नेपाल खेलको अन्त्यतिर गोल खाँदै पराजित हुन पुगेको हो ।

विन नाइन तुनले काउन्टर अट्याकमा निर्णायक गोल गरे । यसअघि पहिलो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । पहिलो हाफमा नेपालले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल गोलरहित रहेको थियो । अन्जन विष्ट र आवास लामिछानेले पाएको अवसर सदुपयोग गर्न सकेनन् । ६६औं मिनेटमा जिलेस्पि जंग कार्कीले डिफेन्स लाइनलाई बिट गरेपनि उनको प्रहार अघि बढेका गोलरक्षकले बचाए ।

७३औं मिनेटमा नेपालका गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट वान भर्सेस वान बचाउ गरे । त्यसको दुई मिनेट पछि दोस्रो हाफमा अन्जन विष्टको स्थानमा मैदान प्रवेश गरेका हिसुब थपलियाको प्रहार म्यानमार गोलरक्षकले बचाउ गरे ।

८६औं मिनेटमा म्यानमारले काउन्टर अट्याकमा गोल गर्दै खेलमा अग्रता लियो । नेपालका दिनेश हेन्जनले मनिष डाँगीको पासमा लिएको सट क्रसबारमा लागेको थियो । त्यही बल क्लियर गर्दै म्यानमारले नेपाली डिफेन्स एक्टिभ भएको अवस्थामा अग्रता लियो ।

विनले विंगबाट आएको बललाई सहजै फिनिस गर्दा म्यानमारले खेलमा अघि बढेको थियो । उक्त मुभका क्रममा असिस्टेन्ट रेफ्रीको झन्डा उठेको भन्दै नेपाली टोलीले गोल हुनुअघि नै खेल रोक्नुपर्ने माग समेत राखेका थिए ।

अब नेपालले अक्टोबरको अन्तराष्ट्रिय ब्रेकमा लाओससँग फिफा विश्वकप छनोटको पहिलो चरणको खेल खेल्नेछ । खेल दशरथ रंगशालामा अक्टोबर १२ र लाओसमा अक्टोबर १७ तारिखमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार