काठमाडौँ । इजरायलमा शनिबार भएको आतंककारी हमलामा १० जना नेपाली मारिएको तेल अवस्थित नेपाली दूतावासले औपचारिक रुपमा पुष्टि गरेको छ । राजदूत कान्ता रेग्मीले शनिबारको घटनामा गोली लागेका १० नेपालीको मृत्यु भएको पुष्टि गरिन् । उनले अझै १ जना नेपाली सम्पर्कमा नरहेको बताइन् ।

उनका अनुसार दुई जना खतरामुक्त रहेका छन् भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । अन्य दुई जना भने प्रहरीको सम्पर्कमा रहेका छन् । समयमा उपचार नपाएकै कारण गोली लागेका उनीहरुको मृत्यु हुन पुगेको आशंका गरिएको छ ।

इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा नेपाली हताहती भएका हुन् । मृत्यु भएका सबैलाई आतंककारी समूहको गोली लागेको थियो । कृषि फार्ममा कार्यरत नेपालीहरु बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको थियो । गोली लागेपनि उनीहरुले समयमा उपचार पाएका थिएनन् ।

नेपाली समय अनुसार शनिबार बिहान ६ः३० बजेदेखि इजरायलको दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको थियो । हालसम्म सो आक्रमणबाट नेपालीबाहेक सयौँको संख्यामा मृत्यु र घाइते भएका तथा केही मानिसहरुलाई हमास समूहले अपहरण तथा बन्धक बनाएको बताइएको छ ।

सो क्षेत्रमा हवाई, जल र स्थलमार्गबाट प्यालेस्टाइनमा अवस्थित हमास समुहका लडाकुहरु प्रवेश गरी आकस्मिक तवरले आक्रमण गर्ने एवं बन्धक बनाउने लगायतका गतिविधिहरु भएको जनाइएको छ ।

इजरायलमा हाल ४५०० नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेका छन् । इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको लर्न एण्ड अर्न’ कार्यक्रम अन्र्तगत गएका थिए । यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।

यी मध्ये सुदुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरु दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका र उनीहरु नै आक्रमणमा परेका हुन् । मृत्यु भएकाहरुको विवरण औपचारिक रुपमा परराष्ट्र मन्त्रालयमार्फत उलब्ध गराइने दूतावासले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार