काठमाडौं । इजरायलमा रहेका नेपालीको उद्दार सुरु भएको छ । नेपाल एयरलाइन्सको विमानबाट बुधबार राति २५३ जना नेपाली काठमाडौं आइपुगेका हुन् । आफ्ना नागरिकको उद्दारका लागि लागि परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो ।

युद्धग्रस्त बनेको इजरायलबाट २५३ जना नेपाली नेपाल वायु सेवा निगमको नाइनएन–एएलजेड एअरबस ३३० विमानबाट स्वदेश फर्किएका छन् । उनीहरू राति साढे १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् ।
द्वन्द्वग्रस्त गाजासँग सीमाना जोडिएको इजरायलको दक्षिणी क्षेत्रमा शनिबार बिहानदेखि हमास समूहको आक्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरू अलपत्र परेका थिए । हमास समूहको आक्रमणमा परेर दश जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक जना विद्यार्थी अझै सम्पर्कविहीन छन् ।

आक्रमण सुरु भएपछि उनीहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा स्थानान्तरण गर्नसमेत हम्मे परेको थियो । नेपाली विद्यार्थीले आफू असुरक्षित रहेको भन्दै सुरक्षित स्थानमा सार्न आग्रह गरेको करिब चार दिनपछि मात्रै उनीहरूलाई पूर्ण रूपमा उद्धार गरिएको थियो ।

इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो ।यस्तै इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीहरुलाई समेत सुरक्षित ठाउँमा सारिएको थियो ।

आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । हराइरहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी भइरहेको जनाएको छ । स्थानीय प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा खोजीकार्य अझ तीब्र पारिएको नेपाली दूतावासले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले इजरायलमा करिब ४ हजार ५०० नेपाली रहेको अनुमान गरेको छ । मृत्यु भएका १० जनाको शव ल्याउन भने समय लाग्ने देखिएको छ । इजरायलमा रहेको नेपाली राजदूतावासका अनुसार शवको पोस्टमार्टमलगायत कानुनी प्रक्रिया पूरा गर्न समय लाग्ने भएका कारण शव ल्याउन समय लाग्ने देखिएको हो ।

इजरायल सरकारले शव हस्तान्तरण नगरेसम्म ल्याउन नमिल्ने भएका कारण अझै समय लाग्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार