पछिल्लो समय विश्वका विभिन्न मुलुकहरुमध्ये अध्ययन तथा रोजगारीको लागि जापान पनि प्रमुख गन्तव्य भएको छ।अध्ययनको लागि युरोपियन देशको तुलनामा केहि सस्तो र अन्य कागजी प्रकृयागत कुराहरुमा पनि केहि सहज अवस्था भएको हुनाले यतिबेला धेरै नेपालीहरुको रोजाईमा जापान परेको छ।जापान एउटा यस्तो देश हो जहाँ अवसरका ढोकाहरु प्रसस्तै हुँदाहुँदै पनि भाषाकै कारणले मात्रै पनि विभिन्न समस्याहरु आउने गर्दछन ।विशेषगरी हाम्रो देशको राजनैतिक अस्थिरता,आर्थिक क्षेत्रमा देखिएको खस्कदो अर्थतन्त्रको अवस्था र बढ्दो बेरोजगारीको समस्याले गर्दा पनि आजभोलि १२ कक्षा पास गरेपछि उच्च शिक्षाको लागि त्रिभुवन विश्वविद्यालय प्रवेश गर्नेहरु भन्दा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुदैँ विभिन्न देशमा उच्च शिक्षाको लागि जानेहरुको भीड बढ्दो देखिन्छ र यो अवस्था अझ क्रमिक रुपमा बढ्ने सम्भावना पनि रहेको छ।जुनसुकै देश भएतापनि विदेशी भूमि हामीले सोचेको र कल्पना गरेको भन्दा नितान्त फरक हुन्छ त्यसैले हामीले ति देशहरुको बारेमा जानकारी लिएर अघि बढ्नुपर्छ।व्यक्ति र परिस्थिति अनुसार सबैको आ-आफ्नै सपना र चाहाना फरक फरक रहेका हुन्छन्।देश अनुसार जाने खर्च तथा लगानी पनि फरक फरक रहेको हुन्छ।
सामान्यतया नेपालबाट जापान आउदा विद्यार्थीहरुले १ वर्षको कलेज शुल्क,६ महिनाको आवास शुल्क र अन्य आवश्यक वस्तु सहितको खर्च गरि करिब १२/१३लाख तिरेर जापान आएका हुन्छन।जुन सोचका साथ विदेश आएका हुन्छौँ त्यो सोच भन्दा फरक पाएको हुन्छौँ विदेशी भूमिलाई।एक भाषाको राम्रो ज्ञान नहुनु अर्को सोचे अनुसार काम नपाइनु र यहाँको नियम पालनाको परिधि भित्र रहन नसक्नु जस्ता असहज परिस्थितिले गर्दा विभिन्न समस्याहरुको सामना गर्नुपर्ने हुन्छ।
साच्चिकै भन्नुपर्दा नेपालका शैक्षिक परामर्श संस्था कन्सल्टेन्सीहरुले परामर्श दिदा बताउने गर्छन कि महिनामा२/३ लाख सजिलै कमाउन सकिन्छ,स्नातक पास गरेकाहरूको लगि केहि समयमा नै विद्यार्थी भिसाबाट कामदार भिसामा परिवर्तन गर्न सकिन्छ, गएको केहि महिनामै लागेको खर्च तिर्न सकिन्छ , हातमा नगद भुक्तानी दिने काम सजिलै पाउन सकिन्छ,भाषाको लागि विद्यालय गएसी सजिलै सिकिन्छ भन्ने जस्ता विभिन्न किसिमका काल्पनिक व्याख्यात्मक कुराहरुलाई सजिलै विश्वास गरेर भ्रममा परि जापानको वास्तविकता बारे अपुर्ण ज्ञानको भरमा विद्यार्थी भिसामा आउनु पनि स्वयम व्यक्तिको पनि कमजोरी हो।आजभोलि केहि भाईबहिनीहरु धेरै कुरा नबुझि जापानमा अध्ययनको लागि आएको पनि देखिन्छ।आफ्नो उद्देश्यलाई वेवास्ता गरि साथीहरुको लहलहै लागेर आएको होकि भन्ने पनि लाग्दछ त्यसैले यस विषयमा आफ्ना छोराछोरीले लिएको निर्णयलाई अभिभावकले पनि एकपटक गम्भिर रुपमा सोच्न जरुरी रहेको छ। आफ्नो छोराछोरी पढ्न भन्दा पनि पैसा कमाउन गएको हो भन्ने कुरा तपाई हाम्रो परिवारको दयनीय आर्थिक अवस्थाले सोच्न बाध्य बनाएको हुन्छ त्यसैले पनि धेरैजसो अभिभावकहरुले साहुको ऋण तिर्ने पैसा कहिले पठाउँछ भनेर पर्खिएर बस्नुहुन्छ।महङ्गो शहरसँगै दैनिकी खर्चहरु लगाएत विभिन्न वस्तुहरुको मुल्य पनि आम्दानीको सोहि अनुपातमा हुनु एउटा सामान्य प्रकृया नै हो,त्यसैले जापानलाई खर्चिलो शहरको रुपमा पनि चिनिन्छ।एउटा सामान्य कोठाको भाडा,बिजुली,ग्यास र खानेपानी गरेर करिब ७/८ मान एन तिर्नुपर्ने हुन्छ जसमा २/३ जना साथिहरु पनि मिलेर बस्न सकिन्छ।यसैगरी सामान्यतया कलेज शुल्क एक महिनाको ७ देखि ८ मान एन तिर्नुपर्ने हुन्छ र अन्य खर्चहरूमा ब्यक्तिगत खर्च,खाना तथा खाजा,यातायात ,मोबाइल र सरकारलाई तिर्नुपर्ने कर तथा स्वास्थ्य बीमाको रकम गरेर करिब १५ देखि १७ मान सम्म पुग्ने सम्भावना रहेको हुन्छ। जापान सरकारको कानुनी प्रावधान अनुसार विद्यार्थीहरुको लागि प्रतिहप्ता २८ घण्टा काम गर्ने समय तोकिएको हुन्छ भने सामान्यतया प्रतिघण्टा दिउँसोको समयमा १ हजार एन बाट माथि र रात्रिकालीन काममा २५% थपिएको हुन्छ,जसबाट कानुनी नियमअनुसार काम गर्दा आम्दानी ११मान देखि बढीमा १३ मान सम्म हुन आउछ जुन आम्दानीले कलेज शुल्क तिरेर आफ्नो खर्च पुर्याउन निकै मुस्किल पर्दछ।प्रायजसो नेपाल, भियतनाम, श्रीलङ्का, बङ्गलादेश ,म्यानमार लगाएत अन्य देशहरुबाट आउने धेरैजसो विद्यार्थीहरुले पनि आफ्नो खर्चलाई सहज बनाउन २ वटा काम गरेको पाईन्छ।जसको कारणले काम धेरै गर्दा भिसाको समय थप्ने बेला चेकिङमा परियो भने जापानको अध्यागमन विभागले भिसा रद्ध गरिदिने सम्भावना उच्च रहेको हुन्छ।
पछिल्लो समय धेरैजसो विद्यार्थीहरुले एउटा काम बाहेक अर्को काम नगद हातमा लिने गरि पनि गरेको पाईन्छ जुन नियम विपरित हो तर पनि बाध्यताले गरिरहेका छन।जापानमा पहिलाको भन्दा अहिले विद्यार्थीहरुको लागि नियम अलिक कडा भएको छ त्यसैले जापानमा विद्यार्थी भिसामा आउनु भन्दा पहिले राम्रोसँग सोचविचार गर्न जरुरी रहेको छ।आफुले सोचेर जापान प्रवेश गरेको भन्दा भोगाई नितान्त फरक र भिन्न भएको कारणले गर्दा कतिपय विद्यार्थीहरु आत्महत्याको शिकार पनि हुने गर्दछन।
पछिल्लो समय जापानमा विदेशी विद्यार्थीहरुको बढ्दो संख्यासँगै सेनमोन तथा दाइगाकु प्रवेश पनि केहि रुपमा कठिन देखिएको छ।केहि कलेजहरुमा २ सय जना जति विद्यार्थी भर्नाको कोटा रहे पनि करिब १ हजार भन्दा बढीले आवाहन गरेका हुन्छन भने विद्यार्थी छनौट भाषाको आधारमा नै हुने गर्दछ।निहोङ्गो गाक्को अध्ययन गर्दागर्दै कम्तिमा पनि जापानीज भाषा प्रवीणता परीक्षा JLPT N3 तह सम्म पास गर्न सकियो भने केहि सहज हुने गर्दछ।विशेषगरी सेनमोन तथा दाइगाकु छनौट गर्दा आफुलाई मन पर्ने क्षेत्र तथा स्युउसोकु गर्दा सहज हुने अध्ययन क्षेत्र छनौट गरियो भने केहि सहज हुने गर्दछ।जापानमा सुचना प्रविधि IT क्षेत्र र होटल तथा रेष्टुरेण्ट तिर बढी कामको अवसर पनि मिल्ने गर्दछ त्यसैले यस क्षेत्रमा अध्ययन गरियो भने केहि सहज हुन पनि सक्दछ।जापानमा अध्ययन पुरा गरिसकेपछि धेरैजसो विद्यार्थीहरुको प्रमुख लक्ष्य भनेको एउटा राम्रो कम्पनी प्रवेश गर्नु रहेको हुन्छ।पछिल्लो समय सेनमोन तथा दाइगाकु सोचुग्योउ पश्चात पनि भाषाकै कारण कम्पनी प्रवेश केहि कठिन रहेको देखिन्छ।
जापानमा रहेका विद्यार्थीहरुले अल्पकालिन अवस्थालाई हेरेर भन्दा पनि दीर्घकालिन उपलब्धिलाई सोचेर आफ्नो अध्ययनसँगै अघि बढ्न सक्ने हो भने जापानमा आफ्नो भविष्य सुनिश्चित गर्न त्यति धेरै कठिन नहुन पनि सक्दछ।सुरुवाती अवस्थाबाट नै भाषालाई विशेष ध्यान दिई काम भन्दा पनि अध्ययन तिर लागि पर्न सकियो भने भाषाको स्तरसँगै आफुले पढ्ने कलेजहरुमा पनि छात्रवृत्तिको व्यवस्था रहेको हुनाले छनोट हुने सम्भवना पनि अत्याधिक रहेको हुन्छ।आजभोलि आएका धेरै जसो विद्यार्थीहरूमा उनिहरुको व्यवहार देखेर सामाजिक संस्कार, जिम्मेवारी, इमान्दारिता तथा अन्य व्यवहारिक ज्ञानहरूमा कमि भएको हो कि जस्तो पनि लाग्दछ।
अन्त्यमा, जापान आफैँमा विश्वसामु छुट्टै परिचय बनाउन सफल भएको देश हो जहाँ हामीले जापानिज नागरिकहरुको इमान्दारिता,नैतिकता,लगनशीलता र धैर्यताबाट पनि धेरै कुराहरु बुझ्न र सिक्न सकिन्छ त्यसैले जापानमा अध्ययनको क्रममा रहेका विद्यार्थीहरुले आफ्नो अध्ययन सङ्गसङ्गै यहाँको सामाजिक संस्कार तथा अन्य व्यवहारिक कुराहरूप्रति पनि आफुलाई समावेश गराउन सक्नुपर्दछ।जुन सपना आफु र आफ्नो परिवारको लागि बोकेर आएका हुन्छौँ उक्त सपना पुरा गर्ने अवसरको मैदान हो यो जापान त्यसैले समय, मिहेनत र लगनशीलतालाई आत्मसाथ गरेर अघि बढौँ बाकीँ हामीले देखेका,सोचेका र चाहेका हरेक सपनाहरू पुरा गरी सुन्दर भविष्य निर्माण यही वैदेशिक भूमि जापानलाई बनाउन सकिन्छ।
मोहन कुवर
सत्यवती-२, चेहेमी गुल्मी हाल जापान ओसाका
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




