टोकियो। जापान। जापानको स्वास्थ्य तथा श्रम मन्त्रालयले हालै “कस्टमर ह्यारास्मेन्ट” (カスタマーハラスメント) अर्थात् ग्राहकद्वारा गरिने अनावश्यक दवाव र दुर्व्यवहारको परिभाषा स्पष्ट गर्दै यसका विरुद्ध कम्पनीहरूले अनिवार्य सुरक्षा उपाय अपनाउनुपर्ने कानून बनाउन पहल सुरु गरेको छ। कस्टमर ह्यारास्मेन्टका कारण जापानमा हालसम्म हज्जारौँ कामदारहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारी नियमित काम गर्नै नसक्ने अवस्थामा पुगेका उदाहरणहरु छन् ।

श्रम मन्त्रालयद्वारा नयाँ प्रस्तावित नियमहरू अनुसार, कम्पनीहरूले ह्यारास्मेन्टविरुद्ध उपायहरूको म्यानुअल निर्माण गर्नु पर्ने, परामर्श सेवाहरू उपलब्ध गराउनुपर्ने, र कामदारहरूको सुरक्षा तथा उचित कार्य वातावरण सुनिश्चित गर्नुपर्ने छ बुँदाहरु समावेश छ। यो उपाय लागू भएपछि ग्राहक र व्यवसायबीचको सम्बन्ध सन्तुलित हुने अपेक्षा गरिएको छ, जसले ग्राहकको अधिकार र कामदारको सुरक्षा दुवैलाई ध्यानमा राख्नेछ।

जापानमा कस्टमर ह्यारास्मेन्टका केही सामान्य उदाहरणहरूमा निम्न प्रकारका व्यवहारहरू पर्छन्:

१.अस्वीकार्य र अशिष्ट भाषा: ग्राहकहरूले कर्मचारीहरूलाई गालीगलौज गर्ने, अशिष्ट शब्द प्रयोग गर्ने, र धम्की दिने घटनाहरू प्रायः हुन्छन्। यसमा उनीहरूको सेवा अनुभवलाई लिएर अनावश्यक आक्रोश देखाउने व्यवहार पर्छ ।

२.अनावश्यक दबाब र अनौठो मागहरू: कर्मचारीलाई उनिहरुसंग सम्बन्धित व्यवसायको नियम अनुसार सम्भवनै नभएका कामहरू गर्न बाध्य पार्न खोज्नु, उदाहरणका लागि, मूल्यमा अधिक छूटको माग गर्नु, समयसीमा बाहिर सेवा प्रदान गर्न दबाब दिनु आदि ।

३. एउटै गुनासो गर्न लामो समय खर्चिने र पुनरावृत्ति गर्ने: एकै प्रकारको गुनासो बारम्बार गर्ने र अनावश्यक रूपमा कर्मचारीको समय खर्च गराउने, जसले कार्यक्षमता र सेवा प्रभावित हुन सक्छ।

४. शारीरिक खतरा र धम्की: कहिलेकाहीँ आक्रामक ग्राहकहरूले कामदारमाथि शारीरिक खतरा उत्पन्न गर्ने वा उनीहरूलाई शारीरिक रूपमा असुरक्षित महसुस गराउने धम्की दिन सक्छन् ।

कस्टमर ह्यारास्मेन्टका यस्ता घटना खासगरी खुद्रा बजार र सेवा क्षेत्रमा बढी हुने गरेको छ, जसले गर्दा कामदारहरूको मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने खतरा रहन्छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार