टोकियो/जापान। टोकियोले सन २०२४ मा पनि लगातार तेस्रो वर्ष शुद्ध जनसंख्या आगमन (नेट इन्फ्लो) कायम राखेको छ। जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा शुक्रबार सार्वजनिक गरिएको रिपोर्टअनुसार, कोरोनाभाइरस महामारीको प्रभाव कम भएपछि राजधानीमा मानिसहरूको बसोबास झन् बढेको देखिएको छ।

“जापानमा आन्तरिक बसाइँसराइ सम्बन्धी आधारभूत आवासीय दर्ताबाट प्राप्त सन २०२४ को रिपोर्ट” अनुसार, ४,६१,४५४ जना मानिसहरु टोकियोमा आए भने ३,८२,१६९ जना बाहिरिए। यसरी हेर्दा, ७९,२८५ जनाको शुद्ध जनसंख्या आगमन भएको देखिन्छ। यो संख्या सन २०२१ मा देखिएको ५,४३३ को न्यूनतम शुद्ध आगमनभन्दा १४ गुणा बढी हो। साथै, यो कोरोना महामारीअघि सन २०१९ मा देखिएको ८२,९८२ को शुद्ध आगमन नजिक पुगेको छ।

विशेष गरी १० देखि ३० वर्ष उमेर समूहका मानिसहरू उच्च शिक्षा वा रोजगारीको खोजीमा टोकियो आउने प्रवृत्ति बढेकाले जनसंख्यामा वृद्धि भएको अनुमान गरिएको छ। टोकियो महानगर क्षेत्र, जसमा टोकियो, कानागावा, साइतामा र चिबा प्रिफेक्चर समावेश छन्, यस वर्ष १,३५,८४३ को शुद्ध जनसंख्या आगमन देखिएको छ, जसले लगातार तेस्रो वर्ष यो क्षेत्रभित्र बसाइँसराइ बढेको संकेत गर्छ।

यसैगरी, ओसाका, ह्योगो, क्योतो र नारा प्रिफेक्चर सहितका ओसाका क्षेत्रमा सन् २०१४ पछि पहिलो पटक शुद्ध जनसंख्या वृद्धि भएको छ। सन २०२४ मा यो क्षेत्रमा २,६७९ जनाको शुद्ध आगमन दर्ता गरिएको छ।

यस वर्ष टोकियो, कानागावा, साइतामा, ओसाका, चिबा, फुकुओका र यामानाशी प्रिफेक्चरहरूमा जनसंख्या आगमन वृद्धि भएको देखिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार