जापान/टोकियो। जापानी प्रधानमन्त्री शिगेरु इसिबाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो गृह प्रिफेक्चर पश्चिम जापानको एक कम्पनीद्वारा निर्मित सुनौलो सामुराइ हेल्मेट उपहारस्वरूप प्रदान गरेका छन्। वाशिङ्टन भ्रमणका क्रममा शुक्रबार पहिलो शिखर वार्ताको अवसरमा उक्त उपहार दिइएको जापानी सरकार स्रोतले जनाएको छ।

यो विचार अमेरिकी टेलिभिजन शृंखला शोगुनको लोकप्रियताबाट आएको हो, जुन जापानी ऐतिहासिक युद्धविद् (वारलर्ड) सम्बन्धी ड्रामा हो। ट्रम्पलाई सुनौलो रंग मनपर्ने भएकाले यो उपयुक्त उपहार ठानिएको स्रोतले जनाएको छ।

५७ सेन्टिमिटर चौंडाइ, ८१ सेन्टिमिटर उचाइ, र ४८ सेन्टिमिटर गहिराइ भएको उक्त सामुराइ हेल्मेटको मूल्य १ लाख ६८ हजार जापानी येन (१,१०० अमेरिकी डलर) रहेको छ। यो हेल्मेट तोत्तोरीस्थित निन्ग्योनो हानाफुसा नामक कम्पनीले उत्पादन गरेको हो।

कम्पनीका अध्यक्ष तोमोया हानाफुसाका अनुसार जापानी विदेश मन्त्रालयले गत वर्ष नोभेम्बर महिनामा सुनौलो सामुराइ हेल्मेटको अर्डर दिएको थियो, तर त्यस समय यसलाई विदेशी विशिष्ट व्यक्तिलाई उपहारस्वरूप प्रदान गरिने मात्र जानकारी दिइएको थियो।

केही दिनअघि मात्रै उक्त उपहार ट्रम्पलाई प्रदान गर्न लागेको थाहा पाएपछि हानाफुसाले भने, “हाम्रो कम्पनीका लागि यो गर्वको कुरा हो। प्रधानमन्त्रीको जन्मथलो तोत्तोरीबाट यस्तो विशेष उपहार जानु अत्यन्तै गर्विलो र खुसीको कुरा हो।”

यसअघि, जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेले सन् २०१६ मा ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएलगत्तै न्यूयोर्कमा भेट गर्दा उनलाई सुनौलो गल्फ क्लब उपहार दिएका थिए।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार