टोकियो/जापान। काम गर्ने महिलाका लागि विकसित राष्ट्रहरूमध्ये जापान तेस्रो खराब स्थानमा परेको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर शनिबार ब्रिटिश पत्रिका द इकनोमिस्ट द्वारा प्रकाशित सन २०२४ को सूचीअनुसार, जापान लगातार दोस्रो वर्ष पनि तेस्रो न्यून स्थानमै रहेको छ।

३८ सदस्यीय अर्गनाइजेसन फर इकोनोमिक को-अपरेसन एन्ड डेभलपमेन्ट (OECD) का २९ देशहरूमध्ये जापान २७औं स्थानमा रह्यो, जसको तल दक्षिण कोरिया र टर्की मात्र छन्।

स्वीडेन पहिलो स्थानमा रहँदा आइसल्यान्ड, फिनल्यान्ड र नर्वे क्रमशः पछिपछि रहेका छन्। यी नर्डिक देशहरू महिला र पुरुषबीच समानता कायम गर्न अपनाइएका नीति तथा कामकाजी अभिभावकहरूलाई दिइएको सहयोगका कारण उच्च स्थानमा परेका हुन्।

न्युजिल्यान्ड सबैभन्दा बढी सुधार देखाउने देश बन्न सफल भयो, जसले आठ स्थान उक्लँदै फ्रान्स र पोर्चुगलसँगै पाँचौं स्थान ओगट्यो। बेलायत १४औं, क्यानडा १४औं र इटाली १६औं स्थानमा रहँदा अमेरिका १९औं स्थानमा सीमित रह्यो।

सर्वेक्षणले कम्पनी बोर्डहरूमा महिलाको प्रतिनिधित्व सन २०१६ मा २१ प्रतिशतबाट बढेर ३३ प्रतिशत पुगेको देखाएको छ। बेलायत, फ्रान्स र न्युजिल्यान्डमा भने कम्पनी बोर्डहरूमा पुरुष र महिलाको प्रतिनिधित्व लगभग बराबर देखिएको छ।

महिलाको शिक्षा स्तर सुधार भए पनि श्रम सहभागिता दर कम रहँदा करियर विकास र तलब विभाजनमा समस्या देखिएको छ। सर्वेक्षणअनुसार, महिलाको औसत तलब पुरुषको तुलनामा ११.४ प्रतिशत कम रहेको छ, जसमा जापान र अष्ट्रेलिया जस्ता देशहरूमा यो अन्तर अझ व्यापक रहेको उल्लेख छ।

राजनीतिमा महिलाको समग्र प्रतिनिधित्व ३४ प्रतिशत पुगेको छ। बेलायतमा गत निर्वाचनपछि संसदमा महिलाको सहभागिता ३५ प्रतिशतबाट बढेर ४१ प्रतिशत पुगेको छ।

जापानको सन्दर्भमा भने, संसदमा महिलाको संख्या जम्मा १६ प्रतिशत भए पनि यो संख्या जापानकै लागि अहिलेसम्मकै उच्च भएको सर्वेक्षणले जनाएको छ।

अभिभावक बिदा (parental leave) को हकमा, जापान र दक्षिण कोरियामा ओइसिडी( OECD )सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा उदार पितृत्व बिदा नीति रहे पनि धेरैजसो नयाँ बाबुहरू घरमै बस्न नचाहने प्रवृत्ति देखिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार