हालै जापानको गुन्मा प्रिफेक्चरमा एक जना नेपाली युवा भरत धामीको कलिलै उमेरमा अकस्मात मृत्‍यु भएको घटनाले जापानबासी नेपालीहरुलाई दुखित बनाएको छ । पोस्टमर्टम रिपोर्टमा मृत्‍युको खासै स्पस्ट कारण देखिएको छैन । मृत्‍युको कारणमा Arrhythmia (मुटुको चाल वा गतिमा अनियमितता) भनेर भनिएको छ ।

जापानमा नेपाली प्रवासीहरूमा राति सुत्ने बेलामा अकस्मात मृत्यु हुने केही घटनाहरू अरिद्मिया (हृदयको अनियमित धड्कन) को कारणले हुने गरेको छ। अरिद्मियाले हृदयको विद्युतीय प्रणालीमा गडबडी हुँदा हृदय धड्कन एकाएक रोकिने वा अत्यधिक अनियमित हुने गर्छ, जसले ऑक्सिजनयुक्त रक्त प्रवाह बन्द गरी मृत्यु निम्त्याउँछ। यसलाई सडन कार्डियाक डेथ (SuddenCardiacDeath) पनि भनिन्छ।

अरिद्मिया गराउने थुप्रै कारणहरु हुन्छ । बिदेशमा अनियमित जीवनशैली एउटा मुख्य कारण हो । धेरै ओवरटाइम काम, निद्राको अभाव, र तनावले हृदयमा दबाब बढाउँछ। यसले हृदयको विद्युतीय सिग्नलमा असर गरी अरिद्मिया हुन सक्छ।

त्यस्तै ब्यस्त जीवन शैलीको कारण खानपानमा ध्यान नदिदा शरीरलाई चाहिने तत्वहरु इलेक्ट्रोलाइट असंतुलन हुने गर्छ । शरीरमा पोटासियम, म्याग्नेसियम जस्ता मिनरलको कमी (अनियमित खानपान वा डिहाइड्रेसनले) हृदयको धड्कन अनियमित बनाउँछ।

निद्राको समस्या (स्लिप एप्निया) पनि एउटा प्रमुख कारण हो । मोटोपना वा थकान भएकाहरूमा सुत्दा सास फेर्ने प्रक्रिया बन्द हुने अवस्थाले हृदयमा अक्सिजनको कमी गरी अरिद्मिया गराउछ ।

त्यस्तै सुसुप्त अवस्थाको नदेखिएका हृदय रोग जस्तै जन्मजात मुटुको समस्या, हृदयघातको इतिहास, वा अत्यधिक एल्कोहल सेवनले पनि अरिद्मिया बढाउँछ।आनुवंशिक करणले पनि यो देखिन्छ । केही मानिसहरूमा हृदयको इलेक्ट्रिकल सिस्टम कमजोर हुने आनुवंशिक कारणले यो जोखिम हुन्छ।

रोकथाम गर्न के गर्ने ?
नियमित मुटुको स्वास्थ्य जाँच गर्नु आवश्यक छ । बिशेष गरी खानपिन अनियमित र मोटापा भएको ब्याक्तिहरुले ECG, इकोकार्डियोग्राम, र होल्टर मोनिटर जस्ता टेस्ट गरी अरिद्मिया पत्ता लगाउन सकिन्छ।

राती सुत्दाखेरी श्वास फेर्न गर्हो हुने वा श्वास ब्लक भएर निद्रा बिग्रिने स्लिप एप्निया हुने ब्याक्तिहरुले बिभिन्न बिधी ( CPAP मेसिन) प्रयोग गरेर निद्राको समस्या समाधान गर्ने। स्लिप डिसअर्डर हुँदा खेरी दिनमा पनि थकान वा अल्छि लाग्ने, निद्रा लाग्ने हुन्छ ।

मुटु स्वास्थ रहन बिभिन्न तत्वहरु ( इलेक्ट्रोलाइट ) संतुलितमात्रामा हुनु पर्ने हुन्छ । यस्को लागि बिशेष गरी केरा, पालुङ्गा, नट्स जस्ता पोटासियम र म्याग्नेसियमयुक्त आहार नियमित लिराख्नु पर्छ ।

मुटु स्वस्थ राख्न नियमित व्यायाम आवश्यक हुन्छ । हल्का एरोबिक व्यायामले हृदयलाई स्वस्थ राख्छ, तर अधिक थकाइमूलक कामबाट टाढा रहने। त्यस्तै सुत्नु भन्दा अघी कफी, एनर्जी ड्रिंक, र धूम्रपान गर्नु हुँदैन ।

सावधानीहरू के अपनाउने ?
१. लक्षणलाई बेवास्ता नगर्ने: छाती दुख्ने, बेहोस हुने जस्ता लक्षण देखिएमा तुरुन्त डाक्टरसँग सम्पर्क गर्ने।
२. आपतकालीन उपकरण: ICD (इम्प्लांटेबल कार्डियोवर्टर डिफिब्रिलेटर) लगाउने (डाक्टरको सल्लाहमा)।
३. राति सुत्ने ठाउँ: शान्त वातावरणमा निद्रा लिने, सुत्ने बेलामा टाउको अलिकति उच्च राख्ने (स्लिप एप्निया कम गर्न)।

राति अकस्मात मृत्युको जोखिम अरिद्मियासँग जोडिएको छ। यसबाट बच्न स्वस्थ जीवनशैली, नियमित स्वास्थ्य जाँच, र तनाव व्यवस्थापन आवश्यक छ। जागरुक भएर स्वास्थ्यलाई प्राथमिकता दिने बानी विकास गर्नु आवश्यक छ् ।

(डा भरत सिंह नेगी जापानको कोबे विश्वविद्यालयको जनस्वास्थ्य विभागमा कार्यरत छन् ।)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार