टोकियो/जापान। जापान सरकारले राहदानी (पासपोर्ट) आवेदन प्रक्रियालाई अझ प्रभावकारी बनाउँदै नक्कली तथा जालसाजी रोक्ने उपायहरू मजबुत पारेको छ। विदेश मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (ICAO) को सिफारिसअनुसार सुरक्षा विशेषताहरू थप गरिएको छ।

यहि मार्च २४ तारिख सोमबारदेखि आवेदन दिएका व्यक्तिहरूलाई नयाँ डिजाइनको राहदानी प्रदान गरिनेछ। हाल प्रयोगमा रहेका राहदानी भने म्याद समाप्त नभएसम्म वैध रहनेछन्।

नयाँ राहदानीमा फोटो पृष्ठ र आईसी(IC)चिप पृष्ठलाई एउटै प्लास्टिक पृष्ठमा समावेश गरिएको छ। व्यक्तिगत जानकारी, जस्तै फोटो र नाम, बैंकनोट मुद्रण प्रविधिमा आधारित लेजर प्रविधिबाट छापिनेछ, जसले नक्कली राहदानी बनाउने सम्भावनालाई न्यून बनाउनेछ।

विदेश मन्त्रालयका अनुसार नयाँ राहदानीमा तीनवटा तस्वीर हुनेछन्, जसमा विशेष मुद्रण प्रविधि प्रयोग गरिएको छ। यी प्रविधिहरू मध्ये एउटा विशेष प्रविधिले जन्म मिति निश्चित कोणमा हेर्दा मात्र देखिने बनाएको छ।राहदानी उत्पादनको जिम्मा अब नेशनल प्रिन्टिङ ब्यूरोले लिनेछ। यसअघि, राहदानी निर्माण र वितरण कार्य प्रिफेक्चरल राहदानी कार्यालयहरूबाट गरिन्थ्यो।

अब नागरिकहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्, जसले गर्दा राहदानी कार्यालय जानुपर्ने झन्झट कम हुनेछ। अनलाइन आवेदन गर्दा राहदानी लिने बेलामात्र कार्यालयमा जानुपर्नेछ।

मन्त्रालयले विदेश यात्रा गर्न इच्छुक व्यक्तिहरूलाई यथाशीघ्र राहदानी आवेदन दिन सिफारिस गरेको छ, किनभने जापानभित्र आवेदन गर्दा करिब २ हप्ता लाग्नेछ भने विदेशबाट आवेदन गर्दा २ हप्ता देखि १ महिना लाग्न सक्छ।

अनलाइन आवेदन प्रक्रियालाई अझ सजिलो बनाउन पारिवारिक रजिष्ट्रेसन कागजात अब भौतिक रूपमा पेश गर्न नपर्ने व्यवस्था गरिएको छ। निवेदकले आफ्नो “माइ नम्बर कार्ड” प्रयोग गरी सरकारी माईना पोर्टल एप्लिकेसनमार्फत स्वचालित रूपमा डाटा लिङ्क गर्न सहमति जनाएपछि राहदानी प्रणालीले आवश्यक जानकारी डिजिटल रूपमा प्राप्त गर्नेछ।

यसले कागजी प्रक्रिया हटाउनुका साथै पारिवारिक रजिष्ट्रेसन प्रमाणपत्र प्राप्त गर्न लाग्ने शुल्क पनि बचत गर्नेछ।

अनलाइन आवेदन गर्दा शुल्क पनि सस्तो पर्नेछ। १० वर्षे राहदानी अनलाइन आवेदन गर्दा ¥१५,९०० (अन्दाजी १०६ डलर) लाग्नेछ भने प्रत्यक्ष रूपमा आवेदन गर्दा ¥१६,३०० लाग्नेछ। ५ वर्षे राहदानी अनलाइन आवेदन गर्दा ¥१०,९०० लाग्नेछ भने प्रत्यक्ष आवेदन गर्दा ¥११,३०० लाग्नेछ।

मन्त्रालयले नयाँ अनलाइन प्रणालीबाट राहदानी आवेदन गर्न प्रोत्साहन दिँदै खर्च बचत तथा सजिलो प्रक्रियाको फाइदा उठाउन आग्रह गरेको छ।विदेश मन्त्री ताकेसी इवाया ले गत वर्ष डिसेम्बरको पत्रकार सम्मेलनमा भनेका थिए, “नयाँ परिवर्तनले जापानी नागरिकहरूलाई राहदानी झन् सुरक्षित रूपमा प्रयोग गर्न मद्दत गर्नेछ।”

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार