टोकियो/जापान। बैंक अफ जापानका गभर्नर काजुओ उएदाले बुधबार अमेरिकाले प्रस्ताव गरेको नयाँ महसुलले (ट्यारिफ) विश्वव्यापी व्यापारमा ठूलो असर पार्न सक्ने चेतावनी दिएका छन्। उनले भने कि यी महसुलहरूले विश्व अर्थतन्त्रको वृद्धिमा नकारात्मक प्रभाव पार्ने सम्भावना छ।

उनको टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ प्रतिशोधात्मक महसुल सार्वजनिक गर्नुभन्दा केही घण्टा अघि आएको हो।

अमेरिकाले यसअघि नै इस्पात (स्टील) र एल्युमिनियम आयातमा महसुल लगाइसकेको छ, साथै चीनबाट आयात हुने सबै सामानहरूमा उच्च कर लगाउने निर्णय गरिसकेको छ। ट्रम्पले पटक-पटक अन्य अतिरिक्त महसुलहरू लगाउने धम्की दिँदै आएका छन्, यद्यपि केही अवस्थामा उनले ती निर्णयहरू रद्द वा स्थगित गरेका छन्।

हैंक अफ जापानका गभर्नर उएदाले भने, “यदि यी नयाँ महसुलहरू लागू भए, भने अन्तर्राष्ट्रिय व्यापारमा ठूलो अस्थिरता आउन सक्छ, जसले समग्र विश्व अर्थतन्त्रलाई प्रभावित पार्नेछ।”

विश्लेषकहरूका अनुसार, विश्वव्यापी आपूर्ति शृंखलामा गम्भीर असर पर्न सक्ने भएकाले जापानी अर्थतन्त्रसमेत जोखिममा पर्ने सम्भावना छ। विशेषगरी जापानका निर्यातमा निर्भर उद्योगहरू – जस्तै अटोमोबाइल र इलेक्ट्रोनिक्स क्षेत्रहरूमा प्रत्यक्ष प्रभाव पर्ने अनुमान गरिएको छ।

राष्ट्रपति ट्रम्पको घोषणापछि विश्व बजारमा कसरी प्रतिक्रिया देखिन्छ भन्ने विषयमा बैंक अफ जापान र अन्य वित्तीय संस्थाहरूले निकट निगरानी गर्ने बताइएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार