टोकियो/जापान। जापानमा आधाभन्दा बढी कलेज विद्यार्थीहरू जीवनयापन खर्चबारे चिन्तित छन् भन्ने तथ्य पछिल्लो एक सर्वेक्षणले देखाएको छ।

“महँगीले विद्यार्थी जीवनमा गहिरो असर पारिरहेको छ,” विश्वविद्यालय संघका एक अधिकारीले भने, “विद्यार्थी ऋण तिर्ने चिन्ताले पनि विद्यार्थीहरूलाई गम्भीर असर गरिरहेको छ। हामीलाई यो स्थिति अझै केही समयसम्म जारी रहने हो कि भनेर चिन्ता लागेको छ।”

यो सर्वेक्षण गत वर्ष अक्टोबरदेखि नोभेम्बरसम्म अनलाइनमार्फत देशभरका सार्वजनिक तथा निजी विश्वविद्यालयमा अध्ययनरत ४८ हजार २७५ जना स्नातक विद्यार्थीहरूमाझ गरिएको थियो। तीमध्ये ११ हजार ५९० जनाले मान्य उत्तर दिएका थिए।

४६.८ प्रतिशत विद्यार्थीहरूले “जिवनयापन खर्च र पैसाको” विषय उल्लेख गरेका थिए।त्यसपछि ४४.७ प्रतिशतले “पढाइ” भनेका थिए,३७.८ प्रतिशतले “रोजगारी पाउने” विषयमा चिन्ता व्यक्त गरेका थिए।
खुला उत्तरहरूमा कतिपयले “बढ्दो महँगीले आफ्नो आर्थिक अवस्था झनै दबाबमा पारेको” बताएका छन्। अरूले चाहिएको सामान किन्ने बानीमा कटौती गरेको जनाएका छन्।

एक विद्यार्थीले भनेका छन्, “विद्यार्थी ऋण तिर्नुपर्ने डर लागिरहेको छ।”अर्का एकजना विद्यार्थीले लेखेका छन्, “मेरो सबैभन्दा ठूलो चिन्ता आर्थिक अवस्था हो। म विज्ञान समूहमा भएकोले कक्षाको कारण पार्टटाइम काम गर्ने समय घटेको छ। प्रत्येक सेमेस्टरमा पढाइका सामग्रीको लागत र बढ्दो जीवनयापन खर्च निकै समस्या बनिरहेको छ।”

आफैं बसोबास गर्ने (अभिभावकको घर वा छात्रावासमा नबस्ने) विद्यार्थीहरूको औसत मासिक खर्च ¥१,३१,७१० पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ¥४,२१० ले बढी हो।खर्च तिरमा वृद्धि देखिए पनि बचत तथा मासिक बचेको पैसाको औसत भने ¥४९० घटेर ¥१४,२५० मात्र रह्यो।विद्यार्थीहरूको औसत मासिक आम्दानी भने ¥२,९०० ले बढेर ¥१,३२,१४० पुगेको छ। यो आम्दानीमा पार्टटाइम काम तथा अभिभावकबाट प्राप्त पैसा मुख्य स्रोत बनेका छन्।

पार्टटाइम काम गर्ने कलेज विद्यार्थीको अनुपात ७६.८ प्रतिशत पुगेको छ, जुन पछिल्लो १० वर्षमा सबैभन्दा उच्च हो।

संघका अधिकारी तदाशी ओचुकीले भनेका छन्, “महँगीका कारण अभिभावकहरूको आर्थिक अवस्था कमजोर भएपछि विद्यार्थीहरूमा कमाइको दबाब बढेको देखिन्छ। अत्यधिक पार्टटाइम कामले विद्यार्थीको स्वास्थ्य र पढाइमा असर गर्न सक्ने चिन्ता पनि रहेको छ।”

बढ्दो खाद्यान्न मूल्यका कारण आम जापानी परिवारहरू पनि गुजारा गर्न सक्ने अवस्था गुमाउँदै गएका छन्।

फेब्रुअरी महिनामा मुद्रास्फीति ३.७ प्रतिशत पुगेको थियो, जुन वर्षको तुलनामा ७.६ प्रतिशत खाद्यान्न मूल्यवृद्धि भएको देखिन्छ। चामलको मूल्य त ८० प्रतिशतभन्दा बढीले बढेको छ। जनवरी महिनामा मुद्रास्फीति ४ प्रतिशत पुगेको थियो।

अप्रिल महिनाबाट जापानका धेरै कम्पनीहरूको नयाँ आर्थिक वर्ष सुरु हुने भएकाले, यही महिनादेखि खाद्यान्न उत्पादक कम्पनीहरूले पुनः मूल्य वृद्धि गरेका छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार