टोकियो/जापान। यस वर्ष जापानले अहिलेसम्मकै तीव्र गतिमा १ करोड पर्यटकको सङ्ख्या पार गरेको छ। जापान राष्ट्रिय पर्यटन संगठन (JNTO) द्वारा बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार मार्चमै यो स्तर पुगेको हो। कमजोर येनका कारण हाल जापानमा अहिलेसम्मकै अभूतपूर्व पर्यटन आगमन देखिएको छ।

गत महिना मात्रै व्यवसाय र घुमफिरका लागि जापान आएका विदेशीहरूको सङ्ख्या ३५ लाख पुगेको छ। यससँगै पहिलो त्रैमासिकमा जापान भ्रमण गर्ने विदेशीहरूको कुल सङ्ख्या १ करोड ५ लाख ४० हजार पुगेको छ।

गत वर्ष भने यो सङ्ख्या अप्रिल महिनामा मात्रै पुगेको थियो।यो वर्षभरि पनि जापान आउने पर्यटकहरूको सङ्ख्या अघिल्लो वर्षको अहिलेसम्मकै उच्च ३ करोड ६८ लाख ७० हजारको स्तरलाई पार गर्ने गतिमा अगाडि बढिरहेको देखिन्छ।

विशेषगरी जापानको प्रसिद्ध चेरी फुल्ने मौसम (साकुरा सिजन) ले मार्च महिनामा पर्यटकहरूको मागमा उल्लेखनीय वृद्धि गराएको थियो।मार्च महिनामा अमेरिका र क्यानाडाबाट जापान आएका पर्यटकहरूको सङ्ख्यामा अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको छ।

राष्ट्रिय लेखा प्रणालीमा विदेशी पर्यटकहरूले गरेका खरिदहरूलाई निर्यातको रूपमा वर्गीकृत गरिन्छ। अहिले यस्तो खर्च जापानको दोस्रो ठूलो निर्यात क्षेत्र बनेको छ—पहिलोमा मोटर गाडी र तेस्रोमा इलेक्ट्रोनिक उपकरणहरू रहेका छन्।

भ्रमण प्रयोजनका लागि जनवरीदेखि मार्च त्रैमासिकसम्म विदेशी आगन्तुकहरूले २ खर्ब २७ अर्ब येन खर्च गरेका छन् भन्ने प्रारम्भिक तथ्याङ्क जापानको यातायात मन्त्रालयले देखाएको छ।यो अघिल्लो वर्षको तुलनामा २८.४% ले बढी हो। गत वर्ष पर्यटकहरूले कुल ८ खरिब १ अर्ब खर्च गरेका थिए, जुन अघिल्लो वर्षको तुलनामा ५३% ले बढी हो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार