टोकियो/जापान। जापानमा नर्सिङ केयर(介護)मा जनशक्ति अभाव प्रमुख समस्या बन्दै आएको  जापान केयर क्राफ्ट युनियनले जनाएको छ ।संघका अनुसार खासगरी होउमोनखाईगो(訪問介護 – होम भिसिट केयर) मा हेल्परको अभाव गम्भीर समस्या बन्दै गएको बताईएको छ। पछिल्लो सर्वेक्षणमा अधिकांश नर्सिङ केयर कम्पनीहरुमा जनशक्तिको कमीका कारण सेवाको अनुरोध अस्वीकार गर्नुपरेका देखिएको छ।

नर्सिङ केयर कर्मचारी लगायतका व्यक्तिहरू मिलेर बनाइएको श्रमिक संघ “जापान केयर क्राफ्ट युनियन” ले चालु वर्षको अप्रिल महिनामा होम केयर कार्यालयका व्यवस्थापकहरू तथा केयर म्यानेजरहरूलाई लक्षित गरी अनलाइनमार्फत सर्वेक्षण गरेको थियो। उक्त सर्वेक्षणमा १ हजार जना भन्दा बढी व्यक्तिहरूबाट उत्तर प्राप्त गरिएको थियो।

त्यस अनुसार, गत वर्षको अप्रिलपछि जनशक्ति अभावका कारण सेवा प्रदान गर्न नसकेको अनुभवबारे सोध्दा, ८९.४ प्रतिशत कार्यालय व्यवस्थापकहरूले “त्यस्तो भएको छ” भनेर उत्तर दिएका थिए।

त्यस्तै, गत वर्ष कार्यालयको आम्दानी घटेको भनी उत्तर दिने व्यवस्थापकहरूको संख्या ५५.२ प्रतिशत थियो। तीमध्ये ७३.३ प्रतिशत व्यवस्थापकहरूले सबैभन्दा ठूलो कारण “जनशक्ति अभावका कारण सेवा अनुरोध स्वीकार गर्न नसक्नु” रहेको बताएका छन्।

यता, केयर म्यानेजरहरूलाई गरिएको सर्वेक्षणमा पनि करिब ३ मध्ये २ जनाले (६८.३ प्रतिशत) हेल्परको अभावका कारण आवश्यक केयर योजना बनाउन नसकेको अनुभव रहेको बताएका छन्।

सर्वेक्षणकर्ता जापान केयर क्राफ्ट युनियनले भनेको छ, “नागरिकहरूले केयर इन्स्योरेन्स शुल्क तिरेको भए पनि आवश्यक सेवा प्राप्त गर्न नसक्ने अवस्था देखिएको छ। यो केयर इन्स्योरेन्स प्रणालीको आधारलाई नै हल्लाउने गम्भीर समस्या हो। सरकार स्वयंले गम्भीर रूपमा यो अवस्थालाई बुझ्दै आवश्यक जनशक्ति व्यवस्थापन लगायतका उपायहरूमा जुट्नुपर्ने बेला आएको छ।”

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार