टोकियो/जापान । मे ५ तारिख जापानमा आज बालदिवस “こどもの日” मनाइँदैछ। बालबालिकाको खुशी र भविष्यको कामना गर्दै मनाइने यो विशेष दिनमा, सरकारी तथ्यांकले भने चिन्ताजनक अवस्था देखाएको छ। देशभर १५ वर्षमुनिका बालबालिकाको संख्या १ करोड ३६ लाख ६० हजारमा झरेको छ, जुन गत वर्षको तुलनामा ३५ लाखले कम हो। यो गिरावट ४४ वर्षदेखि लगातार भइरहेको छ।

आन्तरिक मामिला मन्त्रालयका अनुसार, बालबालिकाको संख्या जापानको कुल जनसंख्याको मात्र ११.१ प्रतिशत रहेको छ, जुन अहिलेसम्मकै सबैभन्दा कम प्रतिशत हो। साथै, उमेर घट्दै जाँदा बच्चाको संख्या झनै कम देखिएको छ।

० देखि २ वर्ष उमेर समूहमा जम्मा २२ लाख २० हजार बच्चा मात्रै छन्, जुन भविष्यमा जन्मदर अझै घट्ने सङ्केतका रूपमा हेरिएको छ।

तथ्यांकअनुसार, ओकिनावा प्रिफेक्चरमा १५.८ प्रतिशत जनसंख्या बालबालिकाको रहेको छ, जुन सबैभन्दा धेरै हो। त्यस्तै शिगा र सागा प्रिफेक्चरमा पनि १२.७ प्रतिशत बाल जनसंख्या देखिएको छ।
तर, आकिता प्रिफेक्चरमा भने मात्र ८.८ प्रतिशत जनसंख्या बालबालिकाको छ, जुन जापानभरकै सबैभन्दा कम हो।

सस्तो घर दिएर बच्चा भएका परिवारलाई बोलाउने प्रयास

बालबालिकाको संख्या घटिरहँदा, केही नगरपालिकाहरूले बच्चा भएका परिवारलाई आफ्नो क्षेत्रमा बसोबास गर्न प्रेरित गर्न विशेष आवास कार्यक्रमहरू सुरू गरेका छन्।

इबाराकी प्रिफेक्चरको साकाइ सहर यस्को उदाहरण हो। त्यहाँको नगरपालिकाले २५ वर्षसम्म सस्तो भाडामा बस्न दिने र त्यसपछि जग्गासहितको घर नै दिने योजना सञ्चालनमा ल्याएको छ।

सस्तो ३ एलडिके घरको भाडा मासिक ५८ हजार येन मात्र छ। २५ वर्षसम्म बस्दा करिब १ करोड ८० लाख मै आफ्नै घर बन्नेछ। हाल यो योजनाअन्तर्गत बनाइएका ६५ घर सबै भरिएका छन् र हालै बनाइएका २१ घरका लागि २५६ आवेदन परेको जनाइएको छ।

जापान जस्तो विकसित देशमा बालबालिकाको संख्या लगातार घट्दै जानु दीर्घकालीन रूपमा श्रमशक्ति, कर प्रणाली र सामाजिक सेवामा गम्भीर असर पार्न सक्ने भन्दै विज्ञहरू चिन्तित छन्। त्यसैले, बच्चा हुर्काउने वातावरण सहज बनाउन स्थानीय स्तरमा भइरहेका प्रयासलाई राष्ट्रिय नीति र सहयोगसँग जोड्नु आवश्यक देखिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार