टोकियो/जापान । जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूलाई प्रदान गरिने जाईर्युकार्ड (बसोबास अनुमति पत्र) नक्कली बनाएको आरोपमा दुई जना चिनियाँ नागरिकहरूलाई टोकियो प्रहरीले पक्राउ गरेको छ। घटनासँग सम्बन्धित स्थानहरूबाट करिब १० हजारभन्दा बढी व्यक्तिगत डाटाहरू फेला परेका छन्, जसमा जापानी नागरिकको नाममा दर्ता भएका कागजातहरू समेत समावेश छन्।

पक्राउ पर्नेमा ३५ वर्षीय तु जिङ च्याङ र ३६ वर्षीया ली लोंग रहेका छन्, दुवै बेरोजगार रहेका र चिनियाँ नागरिक भएका बताइएको छ।

टोकियो महानगरीय प्रहरीका अनुसार, गत अप्रिल महिनामा टोक्योको ओता- वार्डस्थित उनीहरूको घरमा छापा मार्दा चीन, श्रीलंका, नेपाल लगायत ७ वटा देशका नागरिकहरूको नक्कली जाईर्युकार्ड ३० थान फेला परेका थिए। उनीहरूलाई आप्रवासन नियन्त्रण ऐन उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो।

अनुसन्धान अनुसार, उनीहरूले चीनमा रहेको निर्देशनदाताबाट प्राप्त व्यक्तिगत जानकारीका आधारमा कम्प्युटर र प्रिन्टरको प्रयोग गरी कार्डहरू नक्कली बनाउने गर्थे र त्यसलाई जापानमै रहेका विदेशी नागरिकहरूलाई हुलाकमार्फत पठाइन्थ्यो।

पक्राउ परेकाहरूको बासस्थान तथा सम्बन्धित स्थानहरूबाट नक्कली सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स), स्वास्थ्य बीमा कार्ड, विद्यार्थी परिचयपत्र, चिकित्सक प्रमाणपत्र लगायत विभिन्न खालका करिब १० हजारभन्दा बढी कागजात र डाटाहरू फेला परेका छन्। तीमध्ये केही जापानी नागरिकका नाममा समेत रहेको पुष्टि भएको छ।

प्रहरीले यो घटनालाई संगठित आपराधिक गिरोहको सम्भावित सञ्जालको रूपमा लिएको छ र विस्तृत अनुसन्धान जारी राखिएको जनाएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार