टोकियो/जापान। जापानमा उपभोक्ता मूल्यको सूचक (सीपीआई) अप्रिल महिनामा वार्षिक ३.५ प्रतिशतले वृद्धि भएको छ। सरकारद्वारा विद्युत तथा ग्यासमा दिइने अनुदान कटौती र चामलको मूल्य उच्च भएको कारण यो वृद्धिदर सन् २०२३ को जनवरी यता सबैभन्दा उच्च हो।

सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार, मुलुकभरको कोर उपभोक्ता मूल्य सूचकांक (CPI) मार्चमा ३.२ प्रतिशतले बढेको थियो भने अप्रिलमा सो दर ३.५ प्रतिशत पुगेको हो। यो दर सन् २०२२ को अप्रिलदेखि लगातार जापानको केन्द्रीय बैंक (बैंक अफ जापान – BOJ) को २ प्रतिशत लक्ष्यभन्दा माथि रहँदै आएको छ।

त्यसैगरी, ऊर्जा र ताजा खाद्य वस्तुहरू दुबैलाई हटाएर गणना गरिने ‘कोर सीपीआई’ अप्रिलमा ३.० प्रतिशतले वृद्धि भएको देखिएको छ, जुन मार्चमा २.९ प्रतिशतले वृद्धि भएको थियो। यो सूचक दीर्घकालीन मूल्य वृद्धिको प्रवृत्ति बुझ्न प्रयोग गरिन्छ।

ऊर्जाको मूल्य अप्रिलमा ९.३ प्रतिशतले बढेको छ, जुन मार्चमा ६.६ प्रतिशतको वृद्धि थियो। यसमा विद्युतको मूल्य १३.५ प्रतिशतले र ग्यासको मूल्य ४.७ प्रतिशतले वृद्धि भएको छ।

यसअघि सरकारले जीवनयापन खर्च घटाउन विद्युत तथा ग्यासको बिलमा अनुदान दिएको थियो। तर, अप्रिल महिनामा ती अनुदानहरू कटौती गरिएका कारण मूल्यमा तीव्रता आएको हो।

ताजा खाद्यवस्तु बाहेक अन्य खाद्यवस्तुको मूल्य पनि अप्रिलमा ७.० प्रतिशतले बढेको छ, जुन मार्चमा ६.२ प्रतिशतले बढेको थियो। चामलको मूल्य सातौं महिना लगातार नयाँ कीर्तिमान कायम गर्दै ९८.४ प्रतिशतले बढेको देखिएको छ, जसको मुख्य कारण आपूर्ति अभाव हो।

अन्य प्रमुख वस्तुहरूमा, घरेलु उपकरणहरूको मूल्य ६.४ प्रतिशतले बढेको छ। गर्मी यामको पूर्वानुमानपछि एयर कन्डिशनरको माग बढेकाले यसको मूल्य वृद्धिमा टेवा पुर्‍याएको हो।

सेवाको मूल्य अप्रिलमा १.३ प्रतिशतले बढेको छ, जुन मार्चमा १.४ प्रतिशत थियो। यो कमीको कारण उच्च विद्यालय शुल्कमा राज्य अनुदानको प्रभाव मानिएको छ। बैंक अफ जापान सेवामूल्यमा भएको वृद्धिलाई सूक्ष्म रूपमा अवलोकन गर्छ, किनकि यसले मजदुरको तलब वृद्धिसँग सम्बन्ध राख्छ।

अर्कातर्फ, अमेरिकाले अप्रिल महिनादेखि जापानी गाडी तथा अन्य सामानमा उच्च दरको आयात शुल्क लगाउन थाले पनि यसको जापानी अर्थतन्त्र तथा मूल्य वृद्धिमा तत्काल खासै प्रभाव नपरेको दाइ-इचि लाइफ रिसर्च इन्स्टिच्युटका अर्थशास्त्री कोइचि फुजिशिरोले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार