विदेशमा रहेर मातृभूमिको माया गर्ने, देशका नीतिगत कमजोरीमाथि प्रश्न उठाउने र सुधारको आवाज बुलन्द गर्ने आशा गरिएको नेपाली डायस्पोरा दोहोरो चरित्रमा अल्झि रहने स्वार्थलोलुपहरुको झुण्ड बन्न पुगेको छ।

सामाजिक सञ्जालमा नेताहरुको आलोचना, नेतामाथि चर्को टिप्पणी गर्नेहरू नै ती नेता विदेश भ्रमणमा आउँदा भने स्वागत गर्न फूलमाला बोकेर विमानस्थलमा लाईन लागिरहेका दृश्यहरू सामान्यजस्तै देखिन्छन् ।

सवाल उठ्छ – के डायस्पोराका नेपाली समुदायको सामाजिक चेतना केवल सामाजिक सञ्जालको स्टाटसमा मात्रै सीमित हो?

धेरै डायस्पोराका नेपालीहरू नेताहरूको भ्रष्टाचार, अक्षमता र गैरजिम्मेवारी व्यवहारको खुलेर विरोध गर्छन्। तर जब त्यही नेताबाट कुनै व्यक्तिगत फाइदा, पहुँच वा सम्मान प्राप्त गर्ने मौका आउँछ, आलोचना तुरुन्तै प्रशंसामा बदलिन्छ।अर्को कुनै फरक आस्था र विचार बोकेकाहरुलाई भित्तामा पुर्याउने सोच बोकेर विरोध गर्नेहरु आफु अनुकुल दल र व्यक्तिप्रति हदैसम्मको लम्पसारवादी व्यवहार देखाउँदछन् जसले उनिहरुको चेत माथी प्रश्न खडा गरिदिन्छ।

वास्तवमा, यस्तो प्रवृत्तिले विदेशमा बसेर पनि देशप्रति उत्तरदायी भूमिका खेल्न सक्ने सम्भावनालाई कमजोर बनाइरहेको छ। समाज परिवर्तनको नाममा आत्मप्रचार गर्ने, राजनीतिक चासो देखाउने, तर व्यवहारमा आफ्नै बोलीको खण्डन गर्ने व्यक्तिहरूका कारण सिंगो डायस्पोराको नेपाली समुदायप्रतिको विश्वसनीयतामा प्रश्न उठ्न थालेको छ।

विदेशमा बसेर मात्रै चेतनशील नागरिक बनिन्न। औपचारिक अध्ययनले मात्रै विद्वान बनिन्न । वास्तविक चेतना भनेको बोली र व्यवहारबीच मेल हुनुमा छ। तर डायस्पोराका नेपालीहरुमा त्यो बिरलै भेटिन्छ।

डायस्पोराको नेपाली समुदायभित्र यस्ता प्रवृत्तिहरूको समीक्षा आवश्यक छ । के हाम्रो विरोध निष्ठामा आधारित हो कि केवल देखावटी हो? के हाम्रो समर्थन विचारधारामा आधारित हो कि स्वार्थमा? यदि हामी साच्चिकै देशको भलो चाहन्छौं भने, बोलीमा भर राख्न र ईमानमा अडिन सिक्नुपर्छ। नत्र हाम्रो सामाजिक,आर्थिक तथा राजनीतिक चेतना हाम्रो सामाजिक सक्रियता सबै केवल नाटकमा सिमित हुनेछन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार