टोकियो/ जापान । टोकियोमा मे महिनामा आधारभूत उपभोक्ता मूल्य गत वर्षको सोही अवधिको तुलनामा ३.६ प्रतिशतले वृद्धि भएको छ। यो दर पछिल्ला २ वर्षयताकै उच्चतम हो भन्ने सरकारी तथ्यांकले देखाएको छ।

खासगरी चामलको मूल्यमा तीव्र वृद्धि हुँदा यो दर उच्च भएको हो। टोकियोको कोर उपभोक्ता मूल्य सूचकांकमा ताजा फलफूल तथा तरकारीजस्ता अस्थिर वस्तुहरू समेटिँदैन। जनवरी २०२३ मा यो सूचकाङ्क ४.३ प्रतिशतले वृद्धि भएको थियो, जुन झण्डै ४२ वर्षयताकै उच्चतम थियो। त्यसबेलाको वृद्धि रुस-युक्रेन युद्ध र जापानी येनको अवमूल्यनका कारण भएको थियो।

मे महिनामा चामलको मूल्य ९३.७ प्रतिशतले बढेको देखिएको छ, जुन अप्रिल महिनाको ९३.८ प्रतिशत वृद्धिसँग मिल्दोजुल्दो हो। सन् १९७१ देखि उपलव्ध तथ्यांकअनुसार यो चामलको मूल्य वृद्धिमा हालसम्मकै उच्च वार्षिक वृद्धिदर हो।

जापानको कृषि मन्त्रालयका अनुसार मे महिनाको सुरुवातमा सुपरमार्केटहरूमा ५ केजी चामलको औसत मूल्य ४,२६८ येन पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब दुई गुणा बढी हो। कमजोर बाली उत्पादनले चामलको आपूर्ति घटेपछि मूल्यमा यस्तो वृद्धि देखिएको हो।

टोकियोको मूल्यवृद्धि जापानभरको आर्थिक प्रवृत्तिको सूचक मानिने भएकाले यो दरले देशव्यापी महँगी बढ्न सक्ने सङ्केत गरेको अर्थशास्त्रीहरू बताउँछन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार