टोकियो, जापान – नेपालका प्रतिष्ठित आध्यात्मिक गुरु राष्ट्रसन्त ब्रह्मलिन स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजको सम्मानमा नेपाल सरकारले रु १० को टिकट सार्वजनिक गर्ने निर्णय गरेकोमा बिहुँकोट समाज जापानले हार्दिक कृतज्ञता प्रकट गरेको छ।

बागलुङ जिल्लाको बिहुँकोट–६, पौवाडाँडास्थित श्री परमेश्वर राम मन्दिर परिसरमा जन्मनु भएका स्वामीजी नेपाली योग, तान्त्रिक साधना र आध्यात्मिक जागरणको एक उज्यालो नाम हुनुहुन्थ्यो। २०५३ सालमा ब्रह्मलीन भएका स्वामीजीले जीवनभर आत्मज्ञान, संयम, र सत्यको मार्गमा मानिसहरूलाई डोर्याउँदै नेपालभर अनुयायीहरूको ठूलो सङ्ख्या निर्माण गर्नुभयो।

२०३१ सालमा स्थापना गरिएको रामकोटधाम गुरुकुल, जसले संस्कृत शिक्षाको माध्यमबाट वैदिक संस्कारको विस्तार गरेको थियो, २०५६ सालमा बन्द भएको थियो। तर हाल बिहुँकोट अन्तर्राष्ट्रिय समाजको पहलमा करिब १ करोड ५० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्दै गुरुकुल पुनः सञ्चालनको प्रयास भइरहेको छ।

रामकोटधाम, शिवधुरी गुफा, तिनचुलेको धुरी, र थामिको धुरी लगायतका स्थलहरू स्वामीजीको तपोभूमिका रूपमा विकास हुँदै गइरहेका छन्, जसले बागलुङ क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रमा परिणत गरिरहेको छ।

स्वामी परमानन्द सरस्वती महाराजको सादगीपूर्ण जीवनशैली, गहिरो साधना, र भक्तिभावले भरिएको शिक्षाले नेपाली समाजमा आध्यात्मिक चेतनाको पुनर्जागरण ल्याएको छ। उहाँका उपदेशहरूले आज पनि धेरै नेपालीलाई मार्गदर्शन गरिरहेको छ।

”नेपाल सरकारले इतिहास पल्टाउँदै गरेको यो सम्माननीय निर्णय  स्वामीको तस्बिर सहित रु १० को टिकट सार्वजनिक गर्ने घोषणा  स्वामीजीको योगदानप्रति राष्ट्रको गहिरो सम्मानको प्रतीक हो”- बिहुँ कोट समाज जापानका अध्यक्ष दीपक कँडेले भने । यस  अवसरमा बिहुँकोट समाज जापान परिवारले स्वामीको दिव्य स्मृतिमा श्रद्धा व्यक्त गर्दै नेपाल सरकारलाई हार्दिक कृतज्ञता ज्ञापन गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार