टोकियो/जापान। जापानको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालक नारिता कम्पनीले अघिल्लो आर्थिक वर्ष मा इतिहासकै सर्वाधिक आम्दानी गर्न सफल भएको छ। येन अवमूल्यनका कारण विदेशी पर्यटकहरूको संख्यामा उल्लेखनीय वृद्धि भएपछि कम्पनीको आम्दानी तथा यात्रु संख्यामा ठूलो मात्रामा वृद्धि आएको हो।

कम्पनीका अनुसार, अघिल्लो वर्षको समग्र बिक्री आम्दानी २ खर्ब ६३ अर्ब ७० करोड येन पुगेको छ, जुन त्यस अघिको वर्षको तुलनामा २१ प्रतिशतभन्दा बढी वृद्धि हो। यो कम्पनीको स्थापनादेखिकै सबैभन्दा ठूलो आम्दानी हो।

त्यस्तै, अन्तिम मुनाफा पनि ३५ अर्ब १० करोड येन पुगेको छ, जुन त्यस अघिको वर्षको तुलनामा करिब साढे तीन गुणा बढी हो। चार वर्षको घाटापछि अघिल्लो वर्ष कम्पनी नाफामा फर्किएको थियो।

यस आर्थिक वृद्धिको मुख्य कारणमध्ये अन्तर्राष्ट्रिय यात्रुहरूको संख्यामा उल्लेख्य वृद्धि हुनु हो। अघिल्लो वर्ष पहिलोपटक २ करोडभन्दा बढी विदेशी यात्रुहरू नारिता प्रयोग गरेर जापान आएका थिए भने, कुल यात्रु संख्या ४ करोड नाघेको कम्पनीले जनाएको छ। यो संख्या कोरोना महामारीपूर्वको अवस्थासम्म फर्किएको संकेत हो। साथै, आन्तरिक प्रशासनिक दक्षता तथा सेवा सुधारले पनि योगदान गरेको कम्पनीले उल्लेख गरेको छ।

यद्यपि, चालु आर्थिक वर्षमा यात्रु संख्यामा उच्च माग कायम रहने अपेक्षा गरिए पनि, पुराना पूर्वाधारहरूको मर्मत, संरक्षण तथा सुधार कार्यका लागि लाग्ने लागत बढ्ने भएकाले, कम्पनीले राजस्व वृद्धि भए पनि नाफा घट्ने अनुमान गरेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार