टोकियो/जापान। जापान सरकारले चामलको उच्च मूल्य नियन्त्रण गर्नका लागि आफ्ना सञ्चित भण्डारबाट थप २ लाख टन चामल प्रत्यक्ष रूपमा खुद्रा विक्रेताहरूसँग सम्झौता गरेर बजारमा ल्याउने योजना बनाएको छ। कृषि मन्त्री शिन्जिरो कोइजुमीले मङ्गलबार उक्त जानकारी दिएका हुन् ।

यो चामल सन् २०२० र २०२१ को बालीबाट सङ्कलन गरिएका गरी १-१ लाख टन हुनेछ। कोइजुमीका अनुसार २०२० को चामल खुद्रा पसलहरूमा ५ केजीको प्याकमा १७०० येन मूल्यमा बिक्री गरिनेछ भन्ने अपेक्षा गरिएको छ।यो निर्णयसँगै देशको चामल सञ्चित भण्डार लगभग १ लाख टनमा झर्नेछ, जुन अघिल्लो मार्च र अप्रिलमा लिलामीमार्फत चामल वितरण गर्नुअघि झन्डै ९.१ लाख टन रहेको थियो।

कोइजुमीले भनेअनुसार यो चामल साना सुपरमार्केट, विशेष पसलहरू तथा ठूला खुद्रा विक्रेताहरूलाई दिने व्यवस्था हुनेछ, र कृषि मन्त्रालयले बुधबारदेखि आवेदन लिनेछ।“हामी सञ्चित चामल उपभोक्तासम्म छिटो पुर्‍याउनेछौं ताकि उनिहरुले कम मूल्यमा चामल किन्न सकून्,” कोइजुमीले पत्रकार सम्मेलनमा भने ।

सरकारको आपतकालीन अवस्थामा – जस्तै प्राकृतिक विपत्ति वा बाली नोक्सानी- को लागि तयार राख्न हरेक वर्ष करिब २ लाख टन चामल किसानबाट किन्नेर ५ वर्षमा झन्डै १० लाख टनको सञ्चिति बनाउने गर्छ। जापानमा वार्षिक चामलको माग करिब ६७ लाख टन छ।

गत ग्रीष्मयामदेखि जापानका पसलहरूमा चामलको अभाव देखिएको छ, जसका कारण मूल्य चुलिएको छ। चालु वर्षको जुन १ सम्मको सातामा चामलको मूल्य ५ केजीको लागि औसत ४,२२३ येन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो।

मन्त्रालयले केही थोक व्यापारी र किसानहरू आगामी मूल्यवृद्धिको अपेक्षामा चामल जम्मा गरेर राखिरहेको हुनसक्ने आशङ्का गरेको छ।

यसै महिना प्रधानमन्त्री शिगेरु इसिबाको नेतृत्वमा पहिलो पटक चामल नीतिसम्बन्धी मन्त्रीहरूबीचको बैठक बसेको थियो, जसमा मूल्य वृद्धिको कारण के हो भन्नेबारे छलफल भएको थियो।जनताको असन्तोषको सामना गर्दै, सरकारले यस वर्षको सुरुवातदेखि नै चामल सञ्चिति बजारमा ल्याउन थालेको हो, जुन वितरण अभाव हटाउनका लागि सञ्चित चामल छुट्याउने पहिलो निर्णय थियो।

अघिल्लो कृषि मन्त्री ताकु एतोउले उपहारस्वरूप चामल पाएको विषयमा विवादित अभिव्यक्तिका कारण राजीनामा दिएपछि २१ मे मा कृषि मन्त्री बनेका कोइजुमीले ३ लाख टन चामल प्रत्यक्ष विक्रेतासँग सम्झौता गरेर बजारमा पठाउने दुर्लभ निर्णय गरेका थिए, जसले चामलको मूल्य घटाउने अपेक्षा गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार