टोकियो/जापान। जापान सरकार पर्यटन विभाग अनुसार, यस वर्षको मे महिनामा जापान भ्रमण गर्ने विदेशी पर्यटकको संख्या अनुमानित ३६ लाख ९३ हजार ३०० रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा २१.५ प्रतिशतले वृद्धि भएको हो। यो संख्या मे महिनाका लागि हालसम्मकै सबैभन्दा बढी हो।

यसमा चीनबाट आउने पर्यटकहरूको संख्या ४४.८ प्रतिशतले बढेको छ, जुन त्यहाँको लामो बिदाको कारण सहज यात्रा सम्भव भएकोले हो। अमेरिकाबाट पनि २६.३ प्रतिशतले वृद्धि भएको देखिएको छ। अधिकांश देश तथा क्षेत्रहरूबाट मे महिनामा जापान आउने पर्यटकहरूको संख्या अहिलेसम्मकै उच्च रहेको छ।

तर अर्कोतर्फ, जापानमा यो गर्मीमा ठूलो प्राकृतिक विपत्ति आउनसक्ने भन्ने अफवाह फैलिएपछि हङकङबाट आउने पर्यटकको संख्या ११.२ प्रतिशतले घटेको छ। यो गिरावटको अर्को कारण भनेको हङकङ र जापानबीचका हवाई उडानहरू कम हुनु पनि हो।

पर्यटन एजेन्सीका प्रमुख हाचुकावा नाओयाले पत्रकार सम्मेलनमा भने, “उक्त अफवाहको प्रभाव हालको अवस्थामा हङकङ बाहेक अन्य क्षेत्रहरूमा परेको देखिएको छैन। हामी इनबाउन्ड (देश बाहिरबाट आउने) प्रवृत्तिहरू र हवाई सेवाको अवस्थालाई ध्यानपूर्वक हेरिरहेका छौं र आवश्यक परेमा सूचना प्रवाह लगायतका उपायहरू अपनाउनेछौं।”


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार