टोकियो/जापान। टोकियो विश्वविद्यालयको स्नातकोत्तर मेडिकल स्कूल र टोकियो महानगर चिकित्सक परीक्षण कार्यालयको संयुक्त अध्ययनले टोकियोका २३ वटा वार्डमा एयर कन्डिसन (A/C) को गलत प्रयोगका कारण भएको अनुमान गरिएको २१३ वटा मृत्यु दर्ता भएको देखाएको छ।

यो अध्ययन सन् २०१३ देखि २०२३ को सेप्टेम्बर महिनासम्मको अवधिमा गर्मी वा गर्मीसँग सम्बन्धित कारणले ज्यान गुमाएका १,४४७ जनाको तथ्यांकमा आधारित छ।

विशेषगरी, एक्लै बस्ने वा वृद्ध परिवारका सदस्यहरू यस्ता जोखिममा बढी परेको देखिएको छ। केही घटनामा एयर कन्डिसन “कूल”को सट्टा “हिट”मा सेट गरिएको, अथवा रिमोट कन्ट्रोलको ब्याट्री सकिएको कारणले शरीरलाई आवश्यक ठण्डा वातावरण नपाउँदा ज्यान गएको देखिएको छ।

रिपोर्ट अनुसार, मृत्युका घटना प्रमुख रूपमा जूनदेखि अगस्ट महिनाबीच केन्द्रित छन्। सन् २०१६–२०१७ मा यस्ता घटना ३०–३५ को हाराहारीमा भए पनि, सन् २०२० मा २५० र सन् २०२२ मा २५८ पुगेका छन्।

अनुसन्धानकर्ताहरूका अनुसार, यो संख्या पछिल्ला वर्षहरूमा लगातार बढ्दै गएको तापक्रम र बदलिँदो जलवायु परिस्थितिको असर हो।

घटनाहरू मध्ये १,२९५ जना भित्रै बस्दा ज्यान गुमाएका थिए। तीमध्ये पनि ४० प्रतिशतभन्दा बढीले एयर कन्डिसन चलाएका थिएनन्। कतिपय अवस्थामा भने एयर कन्डिसन चलेको भए पनि सही तरिकाले प्रयोग नगरिएको, धुलोको कारण हावा अवरुद्ध भएको वा मेसिनमा खराबी आएको जस्ता समस्याहरू देखिएका छन्।

तपाईं वा तपाईंका परिवारको सुरक्षाका लागि केही सावधानी अपनाऔँ

रिपोर्टमा यस्ता दुःखद् घटनाबाट बच्नका लागि सावधानीका केही सरल तर प्रभावकारी उपायहरू सुझाइएको छ- एयर कन्डिसनको फिल्टर समय–समयमा सफा गर्ने। रिमोट कन्ट्रोलको ब्याट्री समयमै जाँच गरी आवश्यक परे फेर्ने।एयर कन्डिसन कूल मोडमा सेट गरिएको छ कि छैन भन्ने नियमित रूपमा हेर्ने।एक्लै बस्ने वृद्ध सदस्यहरूलाई नियमित रूपमा भेट्ने र उनीहरूको घरको उपकरण जाँच गर्ने।

‍सामाजिक जिम्मेवारी र सामूहिक चेतना
यो रिपोर्टले हामीलाई एउटा गम्भीर सन्देश दिन्छ कि, आधुनिक प्रविधि जति आवश्यक छ, त्यति नै सावधानीपूर्वक यसको सही प्रयोग पनि जरूरी छ। विशेषगरी, एक्लोपनमा बसिरहेका वृद्ध व्यक्तिहरूको जीवन जोखिममा पर्न नदिन हामी सबैले सामूहिक रूपमा जिम्मेवारी लिनु आवश्यक छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार