टोकियो/जापान। अन्तरिक्ष यात्राको ठूला सपना साकार पार्ने उद्देश्यसहित जापानले अन्तरिक्ष खानाबारे विशेषज्ञ तयार गर्ने नयाँ प्रमाणिकरण प्रणाली सुरु गरेको छ। दीर्घकालीन अन्तरिक्ष बसाइका लागि आवश्यक ‘हाई परफर्मेन्स स्पेस फुड’ विकास गर्न यो पहल गरिएको हो।

जापान सोसाइटी अफ न्यूट्रिशन एण्ड फुड साइन्स (JSNFS) का पोषणविद्हरूले “स्पेस फुड एण्ड हेल्थ एडभाइजर” नामक प्रमाणपत्र दिनेछन्। यसका लागि तयार गरिएको शैक्षिक कार्यक्रम हाल अनलाइनमार्फत आवेदन खुला गरिएको छ।

अन्तरिक्षमा गुरुत्वाकर्षणको कमीका कारण स्वाभाविक रूपमा मांसपेशीको मात्रा र हड्डीको घनत्व घट्ने समस्या हुन्छ। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) मा रहेका अन्तरिक्ष यात्रीहरूले दैनिक केही घण्टा व्यायाम गरेर यसलाई नियन्त्रण गर्छन्। तर भविष्यमा सर्वसाधारणका लागि अन्तरिक्ष बसाइ सम्भावित हुँदा, केवल खानामार्फत नै मांसपेशी क्षय र हड्डी कमजोर हुने समस्या रोक्ने ‘हाई परफर्मेन्स फुड’ विकास गर्ने अपेक्षा गरिएको छ।

तोकुशिमा विश्वविद्यालयको नेतृत्वमा बनेको एक अनुसन्धान समूहले सोयाबिन प्रोटिन प्रयोग गरेर मांसपेशी क्षय रोक्ने अन्तरिक्ष खाना तयार गरेको छ। तर यो क्षेत्रमा अनुसन्धानकर्ता कम भएकाले चुनौती बनेको छ।

यस कारण, जापान सोसाइटी अफ न्यूट्रिशन एण्ड फुड साइन्सले अन्तरिक्ष पोषणबारे विशेषज्ञ उत्पादन गर्नु आवश्यक ठानेको छ र तोकुशिमा विश्वविद्यालय तथा क्योतो प्रिफेक्चरल युनिभर्सिटी अफ मेडिसिनलगायतका अनुसन्धान संस्थानहरूले अनलाइन शैक्षिक कार्यक्रम सुरु गरेका छन्। यो कार्यक्रम विशेषगरी खाद्य उद्योगका अनुसन्धानकर्ता र स्नातकोत्तर विद्यार्थीलाई लक्षित गरिएको छ। उनीहरूको अध्ययन र प्रदर्शन मूल्याङ्कन गरेर प्रमाणपत्र प्रदान गरिनेछ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार