तस्वीरःएआई

हिरोशिमा/जापान। हिरोशिमा प्रिफेक्चर प्रहरी विभागले एक प्रहरी अधिकृतलाई महिलाको नगद १० हजार येन चोरेको आरोपमा पक्राउ गरेको छ। पक्राउ परेका ३१ वर्षका प्रहरी सर्जेन्ट शिन्या मासुमोतोलाई ७८ वर्षीया महिलाको पर्सबाट पैसा चोरी गरेको आरोप लागेको हो। ती महिला आफ्नो चालक अनुमति पत्र नवीकरण गर्नका लागि ताकेहारा सहरस्थित प्रहरी कार्यालय पुगेकी थिइन्।

प्रहरीका अनुसार घटना गत जुन २३ तारिख बिहान करिब ९:५५ बजे भएको हो। मासुमोतोले महिलाको आँखा(दृष्टि)परीक्षण गरिरहेको बेला उनको झोलाबाट नगद निकालेको आरोप छ।परीक्षण सकेपछि महिलाले शुल्क तिर्न जाँदा आफ्नो पैसा हराएको थाहा पाइन्। तत्कालै प्रहरीलाई सोबारे जानकारी दिइए पनि उनले आफूसँग नगद भएकोमा नै शंका गरेकी थिइन् र त्यहीबेला घर फर्किन्।

तर, अर्को दिन मासुमोतोका एक सहकर्मीले शंका गर्दै उच्च अधिकारीसंग छलफल गरेपछि विषय बाहिरिएको हो। सोधपुछका क्रममा मासुमोतोले नगद चोरी गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ।

हिरोशिमा प्रिफेक्चर प्रहरीका प्रमुख निरीक्षक केइजी नोरिमुनेले भने,“प्रहरी अधिकृतले गर्ने कार्यका लागि यो पूर्ण रूपमा अस्वीकार्य कृत्य हो। पीडित र सम्पूर्ण प्रिफेक्चरवासीहरूसमक्ष हामी गहिरो क्षमायाचना गर्दछौं। अनुसन्धानको नतिजा अनुसार सम्बन्धित अधिकृतलाई कडा कारबाही गरिनेछ।”

यस वर्ष मात्रै हिरोशिमा प्रिफेक्चर प्रहरीका अधिकारी वा कर्मचारी पक्राउ परेका घटनाहरू पाँचौं पटक हो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार