तस्वीरःएआई

टोकियो/जापान। सन २०२५ जनवरीदेखि जुलाईसम्म जापानमा विशेष ठगी प्रकरणमार्फत भएको आर्थिक क्षति कुल ७२ अर्ब २१ करोड येन पुगेको छ। यो रकम सन २०२४ को पूरै वर्षभरि भएको ७१ अर्ब ८८ करोड येनभन्दा बढी हो, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो वार्षिक क्षति थियो। यो तथ्यांक जापानको राष्ट्रिय प्रहरी एजेन्सीले सोमबार सार्वजनिक गरेको हो।

७ महिनामा भएको क्षतिमा दुई-तिहाइ भन्दा बढी हिस्सा ‘नक्कली प्रहरी’ प्रकरणहरूमार्फत भएको पाइएको छ। यस घटनामा ठगहरुले आफैँलाई प्रहरी अधिकारी भनेर चिनाउँदै पीडितलाई ठगी गरेका थिए। यस्तो ठगीबाट मात्र ४८ अर्ब १९ करोड येन बराबरको क्षति भएको प्रहरी तथ्यांकमा जनाइएको छ।

जनवरीदेखि जुलाईसम्म जापान प्रहरीले दर्ता गरेका विशेष ठगी प्रकरणहरूको संख्या १५ हजार ५८३ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ४४ दशमलब ९ प्रतिशतले वृद्धि हो। विशेषगरी युवा पुस्ता पीडित हुने घटना बढेको छ। बीस र तीस वर्ष उमेर समूहका पीडितले सात महिनामा दर्ता भएका नक्कली प्रहरी प्रकरणको करिब ४० प्रतिशत हिस्सा ओगटेका छन्।

यस्ता प्रकरणमा प्रायः अपराधीहरूले प्रहरी अधिकारी बनेर पीडितलाई सम्पूर्ण सम्पत्ति अनलाइनमार्फत ट्रान्सफर गर्न निर्देशन दिने गरेका छन्। उनीहरूले ‘पैसाको अनुसन्धान’ वा ‘मनी लन्डरिङ’ जस्ता मुद्दा देखाएर “नत्र तिमीलाई पक्राउ गरिन्छ” भनेर धम्की दिने भएकाले क्षतिको परिमाण ठूलो हुने गरेको छ।

धेरै ठगी समूहहरू विदेशमा रहेको पाइएको छ।
यस्ता घटनामा प्रायः पीडितलाई अन्तर्राष्ट्रिय फोनमार्फत सम्पर्क गरेर सामाजिक सञ्जालमार्फत अपराधीहरू जोडिने गरेका छन् । यस्ता ठगीबाट जोगिन सबैमा आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार