टोकियो/जापान। जापानमा बसोवास गर्ने नेपाली समुदायले विभिन्न समयमा ऐक्यवद्धता सभा, सांस्कृतिक कार्यक्रम वा विरोध प्रदर्शन आयोजना गर्ने गरेको पाइन्छ। तर, सार्वजनिक स्थलमा आयोजना हुने यस्ता गतिविधि बिना अनुमति गरिए कानुनी कारबाहीमा पर्नुपर्ने जोखिम हुन्छ। कानुन उल्लङ्घन भएमा जरिवाना वा कैद मात्र होइन, विदेशीको हकमा भिसा खारेज वा देश निकाला जस्ता गम्भीर परिणाम समेत आउन सक्छन्।

सार्वजनिक स्थलमा होहल्ला गर्दा लाग्ने कानुनः
जापानी फौजदारी कानून ( 刑法) अनुसार, सार्वजनिक स्थलमा अत्यधिक होहल्ला, नाराबाजी वा भीड नियन्त्रण बाहिर गएमा सार्वजनिक शान्ति भङ्ग अन्तर्गत कारबाही हुन्छ। यसले आर्थिक जरिवाना मात्र नभई कैद सजाय पनि हुन सक्छ।

त्यसैगरी, सडक वा क्रसिङमा डेमो वा जुलुस गर्दा रोड ट्राफिक एक्ट (道路交通法) लागू हुन्छ। यस अन्तर्गत यातायात अवरुद्ध हुने खालका गतिविधिमा प्रहरीले तुरुन्त हस्तक्षेप गर्ने अधिकार राख्छ।

विदेशीका लागि यस्ता जोखिमहरु  पनि छन्
जापानमा विदेशीलाई पनि जापानी नागरिकलाई जस्तै कानुनी कारबाही लाग्छ। तर थप संवेदनशीलता के भने, अध्यागमन नियनत्रण ऐन अन्तर्गत बारम्बार वा गम्भीर उल्लङ्घन भएमा भिसा रद्द वा देश निकाला हुनसक्छ। यस कारण विदेशी समुदायलाई अझ सचेत रहनुपर्ने देखिन्छ।

सभा वा र्याली गर्दा लिनुपर्ने अनुमति
प्रहरी अनुमति: सडक वा पार्क प्रयोग गर्न (道路使用許可)सडक प्रयोग अनुमति लिनुपर्छ।

स्थानीय प्रशासन (वार्ड कार्यलय / सिटी अफिस): सार्वजनिक भवन वा सरकारी स्वामित्वको क्षेत्र प्रयोग गर्न छुट्टै अनुमति आवश्यक हुन्छ।

पार्क वा सार्वजनिक स्थल: पार्क प्रयोग गर्न Tokyo Metropolitan Park Association वा स्थानीय पार्क व्यवस्थापन कार्यालयमार्फत अनुमति लिनुपर्छ । आवेदन गर्दा कार्यक्रमको उद्देश्य, मिति, समय, सहभागी संख्या र मार्गको विवरण दिनुपर्छ।

पालना गर्नुपर्ने प्रमुख सर्तहरू
तोकिएको समयमै कार्यक्रम सुरु र समाप्त गर्नुपर्ने
ध्वनि प्रणालीको आवाज सीमित राख्नुपर्ने
निर्धारित मार्ग वा स्थान बाहिर जान नपाइने
भीड नियन्त्रण, सुरक्षाको समन्वय र सरसफाइको जिम्मेवारी आयोजककै हुने

जापानमा सभा वा र्याली गर्ने अधिकार भए पनि त्यसलाई कानुनी दायराभित्र राखेर मात्र प्रयोग गर्न सकिन्छ। अनुमति विना सार्वजनिक स्थलमा भीड जम्मा गर्नु गैरकानुनी हुने भएकाले नेपाली समुदायले सचेत रहन जरुरी छ।

अनुमति लिएर, कानुन पालना गर्दै, शान्तिपूर्ण तरिकामा आफ्नो आवाज प्रस्तुत गर्दा मात्र नेपाली समुदाय सुरक्षित रहँदै प्रभावकारी ढंगले आफ्नो विचार प्रकट गर्न सक्छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार