टोकियो/जापान। सुपर ताइफून ‘रागासा’ ले फिलिपिन्स र ताइवानमा ठूलो जनधनको क्षति पुर्‍याएपछि हङकङ र दक्षिण चीनमा समेत भीषण असर पारेको छ। यसलाई यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमध्ये एक मानिएको छ।

ताइवानमा कम्तीमा १७ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। आँधीसँगै आएको मुसलधारे वर्षा र पहिरोका कारण संरचनागत क्षति भएको छ। एक ताल फुटेर आएको बाढीले सडक, पुल र घरहरू बगाएको छ। धेरै मानिसहरू आफ्नो घरमै फसेका छन् भने उद्धारकार्य तीव्र रूपमा चलिरहेको छ।

फिलिपिन्समा १० जनाको मृत्यु भएको छ। तीमध्ये केही माछा मार्नेहरू समुद्रमा रहेका बेला डुंगा पल्टिँदा मृत्यु भएको बताइन्छ। यस आँधीले करिब ७ लाख मानिसलाई प्रभावित बनाएको छ।

हङकङमा रागासाको असरले भवनहरू क्षतिग्रस्त, रूखहरू ढलेका छन् र तटीय क्षेत्रमा बाढी आएको छ। करिब ९० जना घाइते भएका छन्।दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तमा मात्रै करिब १९ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। विद्यालय, उद्योग र यातायात सेवाहरू स्थगित गरिएका छन्। रागासा ले हौइलिङ टापु हुँदै तटीय क्षेत्रमा प्रवेश गरेको थियो।

चीन र हङकङका अधिकारीहरूले आपतकालीन सतर्कता जारी गर्दै नागरिकलाई अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेका छन्। प्रकोपबाट भएको क्षतिको विस्तृत विवरण अझै आउन बाँकी छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार