प्रतीकात्मक तस्वीरःएआई

टोकियो। जापानमा सन् २०२४ मा रिपोर्ट भएका अपराधहरूको संख्या लगातार तेस्रो वर्ष पनि बढेको सरकारी तथ्यांकले देखाएको छ। अधिकांश घटना चोरी र ठगीसँग सम्बन्धित रहेका छन्।

सरकारले हालै सार्वजनिक गरेको श्वेतपत्र अनुसार, गत वर्ष अन्तर्गत ७ लाख ३७ हजार ६ सय ७९ वटा अपराध दर्ता भएका छन्। यो सन् २०२३ को तुलनामा ३४ हजार ३ सय २८ घटना अर्थात् ४.९ प्रतिशत ले बढी हो। यो संख्या कोभिड–१९ अघिको सन् २०१९ को स्तरको झण्डै ९८.५ प्रतिशत पुगेको छ। कोभिडका बेला सामाजिक गतिविधि घटेकाले अपराध दर अस्थायी रूपमा कम भएको थियो।

गत वर्ष पनि चोरी सबैभन्दा धेरै हुने अपराधको रूपमा देखिएको छ। चोरीका घटना ५ लाख १ हजार ५ सय ७ पुगेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३.७
प्रतिशत ले बढी हो।

त्यस्तै, ठगीका घटना भने उल्लेख्य रूपमा बढ्दै ५७ हजार ३ सय २४ पुगेका छन्, जुन २४.६ प्रतिशत वृद्धि हो। विशेषगरी फोन वा इन्टरनेट प्रयोग गरी आफन्त, चिनजान वा सरकारी अधिकारीको नक्कल गरेर पैसा ठग्ने ‘विशेष ठगी’ का घटना १०.५ प्रतिशत ले बढेर २१ हजार ४३ पुगेका छन्।

यौन अपराध पनि तीव्र रूपमा बढेका छन्। सहमति बिना यौनसम्बन्ध तथा यस्तै प्रकृतिका अपराध ४५.२ प्रतिशत ले बढेर ३ हजार ९ सय ३६ पुगेका छन्। यस्तै, अश्लील व्यवहारसम्बन्धी अपराध १४.७ प्रतिशतले बढेर ६ हजार ९ सय ९२ पुगेका छन्।

बाल दुर्व्यवहार, घरेलु हिंसा, स्टकिङ तथा गाँजासम्बन्धी कानुन उल्लंघनका घटनामा पक्राउ संख्या उच्च नै रहेको छ। साथै, किशोर–किशोरीसम्बन्धी अपराधमा पक्राउ परेकाको संख्या १३.२ प्रतिशतले बढेर २९ हजार ६ सय ७५ पुगेको छ, जुन लगातार तेस्रो वर्षको वृद्धि हो।

सरकारी रिपोर्टमा विदेशी नागरिकसम्बन्धी विवरण पनि समेटिएको छ। सन् २०२४ मा विदेशी नागरिक संलग्न दण्ड संहिता उल्लंघनका १८ हजार ८ सय ६१ घटना दर्ता भएका छन्, जसमा १० हजार ४ सय ६४ जना व्यक्तिमाथि कारबाही गरिएको छ। घटनाको संख्या अघिल्लो वर्षको तुलनामा २१.४ प्रतिशतले बढेको छ भने व्यक्तिको संख्या ७.६ प्रतिशतले बढेको छ। विदेशी नागरिकमाथि गरिएको कारबाही कुल कारबाहीको ५.५ प्रतिशत भएको बताईएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार